-सुवोधराज प्याकुरेल
(१) हाम्रो उपलब्धी संविधानमा उल्लिखित छ । मौलिक अधिकारमात्र होइन निर्देशक सिद्धान्तमा पनि लिपिवद्ध छ। देशभित्र र बाहीरका अनेक तत्वले संविधान जारी गर्न नदिन कस्तो कस्तो षडयन्त्र गरेका र दवाब दिएका थिए भन्नेकुरा नबिर्सौँ।
(२) संविधान अक्षरमात्र होइन भावना पनि हो । राज्य सञ्चालकहरुमा व्याप्त अहंकार र निजी सत्ता लिप्साले गर्दा सरकारी प्रशासन क्लिष्ट अकर्मण्य र घिनलाग्दो भयो । दलहरुबाट आन्तरिक लोकतन्त्रको अपहरण गरिनाले चाटुकार बिचौलिया र भ्रष्टहरु दलहरु उपर हावी बने । यो दोष अहंकारी नेतृत्व वर्गको हो।दलका बैचारिक निष्ठावान कार्यकर्ता वा नेताको होइन ।
(३) ०८२ भदौ २३ को जेनजी को आन्दोलनलाई प्रदूषित बनाउने दुष्प्रयास विरुद्ध त्यही दिन आन्दोलनका आयोजकले १२ः३० मै घर फर्किन आव्हान गरेका थिए। तर पनि वाचा गरिएको क्षेत्रभन्दा पर संसद भवन तिर भीडलाई लैजान के कस्ता ढाँचा तरिका अपनाइयो भन्नेकुरा जग जाहेर छ।
जेनजीको सूचना पश्चात उक्त सूचनाको व्यापक प्रचार नगर्नु र भीडको आक्रोश अनुरुपको सुरक्षा तयारी नगरी उत्पातसँग दमनात्मक कार्य गर्नुका कारण यथोचित छानबिनले प्रष्ट पार्नेछ।
(४) अब पुराना नेताका दिन गए । के गरिस् मङ्गले– आफ्नै ढङ्गले, जस्तो भइसक्यो। सबै दलले अप्रासंगिक र प्रत्युत्पादक सावित भइसकेका नेताहरुलाई बिदा नगरी धरै छैन । र यो जेनजी को आन्दोलनले नेपाली राजनीतिमा दिएको अनुपम योगदान हो ।
(५) संविधान फेर्नु भनेको फेरि अनन्त वहस विवाद निम्त्याउनु हो। भएको संविधानको परिमार्जनको उपाय संविधानमै छ ।
अहिले संवैधानिक प्रवन्ध अनुरुप दुई पदाधिकारीले अग्रसरता लिएर राजनीतिक संकटको समाधान गर्नुपर्छ । एक, राष्ट्रपति जसलाई राष्ट्रको संरक्षक भनिएको छ । र अर्का, सभामुख जसलाई संविधानले सार्वभौम नागरिकको प्रतिनिधि संसदको आधिकारिक प्रतिनिधि तोकेको छ । सभामुखको पद संसद विघटन हुँदा पनि कायम रहने प्रवन्ध त्यसैले गरिएको हो।
(६) विधिसम्मत बाहेक आवेसमा आएर अथवा रोमाञ्चकतामा आधारित भएर हतारको निर्णय गर्नु हुन्न । संविधान जिवित छ । प्रकृया जीवन्त छ । र आकस्मिक पर्दा आवश्यकताको सिद्धान्तको प्रयोगकर्ताको रुपमा राष्ट्रप्रमुख पनि छन् ।
(७) तसर्थ,सम्पूर्ण समाधानको लागि उपलब्ध सांसद लगायत आन्दोलनकारी,सरोकारवाला र अन्य नागरिक समाजसँग परामर्श गरेर सभामुखले एउटा मार्गचित्र तयार गरी राष्ट्रपतिद्वारा जारी गर्ने प्रयास तत्कालै थाल्नुहुन म दुवै महानुभावहरु समक्ष अनुरोध गर्दछु ।

प्रतिक्रिया