-नारायण गाउँले ।
‘रास्वपा भनेकै अन्त अवसर नपाएकाहरूको भीड़ हो !’ भन्ने आरोप रहेछ । आजसम्म अन्यत्र कस्ताले अवसर पाएका छन् भन्ने स्पष्ट नै छ । सकेसम्म जागीर नपाएकालाई जागीर र अवसर नपाएकालाई अवसर दिने त हो । अवसर पाएकालाई नै फेरि अवसर दिनै त नयाँ पार्टी किन चाहियो र ? राम्रा जतिले अवसर पाइसकेको र नराम्रा मात्रै बाँकी रहेको भन्ने लाग्छ भने त्यसलाई मजस्ता मूर्खले पत्याउने सम्भावना कम छ ।
‘उम्मेदवार छनौट’ मा नौटङ्की भयो भन्ने आरोप पनि रहेछ । होला । तर कम्तिमा यत्तिको नौटङ्की सबै दलले गरेको भए र त्यहाँ उम्मेदवार बन्न खुला आवेदन, बहस, छलफल, स्पर्धा र भोटिङ भएको भए आजभन्दा अलि योग्य र दक्ष मान्छे उहिल्यै आउने थिए कि ? चिन्ता गर्नुपर्ने नौटङ्कीमा होइन, बरु यो नौटङ्की नयाँ दलभित्रै भोलि कतिसम्म टिक्छ र लागू हुन्छ भन्नेमा हो । तर नजीर बस्ने हो भने भोलि प्रक्रिया र पद्धतिमा त सुधार हुँदै जान सक्छ ।
छानिएका मान्छे पनि त अब्बल भएनन् भन्ने पनि होला । कहिलेकाहीँ हुन पनि सक्छ । तर यसरी एउटा प्रक्रियाबाट जान सक्ने हो भने सर्ट लिस्ट भएका, आम भोटरले देखेसुनेका र आफ्नो क्षमता र कार्ययोजना प्रस्तुत गरेका वैकल्पिक उम्मेदवारको खुला सूची त रहन्छ नि ! समाज र मिडियाको भट्टीमा खारिँदै गर्दा लेख थापा अनुत्तीर्ण देखिए भने चुनावसम्म जाँदै गर्दा सुलभ खरेलहरू पनि त विकल्प बन्न सक्ने हुन्छ नि । एलियनलाई भोट हाल्न पर्ने अवस्था त हुँदैन ।
साबिक विजेता राप्रपाले पनि दीपक बोहोराकै परिवारबाट कसैलाई टिकट दान देला कि यस्तै गरी इच्छुकहरूबाट सर्ट लिस्ट गर्ला ? कांग्रेसले बालकृष्ण खाँणको गोजीबाट आउने नाम सदर गर्ला कि योग्यतमहरूबाट छनोट गर्ने कुनै विधि अपनाउला ? एमालेले विष्णु पौडेल गुट या शङ्कर पोखरेल गुटबाट विश्वासिलो गुटियार छान्ला कि यस्तै पारदर्शी रूपले उम्मेदवार छनोट गर्ला ?
रूपन्देहीको एउटा चुनाव या सांसदले गर्नसक्ने धेरै त के होला र । जसले जित्छ, एउटा नम्बर थपिन्छ । तर एउटा ट्रेन्ड र सन्देश त यसले पक्कै दिनेछ । अरू पार्टीभित्रै पनि यसरी अवसर नपाएकाहरूले अवसर पाउने, नचिनिएकाहरूले चिनिने स्थिति भयो भने त्यो त राम्रो हो नि । राम्रो कुरो त जसले जहाँबाट गरे पनि राम्रो हो ।

प्रतिक्रिया