-केशवप्रसाद भट्टराई ।
राष्ट्र कुनै ठूलो सङ्कटमा छैन, सङ्कट आए व्यवस्थापन गर्ने आन्तरिक उर्जा मुलुकसँग छ । सामान्य किसिमले आफ्ना नियमित कार्य गर्दागर्दै पनि हामी मुलुकको परिवर्तनको संवाहक हुन सक्छौँ कि ?
१. टाढा टाढाका गाउँ बस्तीदेखि नयाँ सडक र दरवार मार्ग तिर बस्ने –काम गर्नेले उभिएर आफ्नै वरिपरी हेरे हुन्छ १०–२०–३० वर्ष अघिको नेपाल र अहिलेको नेपाल । आज गाउँ गाउँमा भव्य विद्यालय भवन बनेका छन् , यातायात, विद्युत र सञ्चारको सञ्जालले देश सर्लक्क जोडिएको छ । आममानिसको जीवन स्तरमा सुधार नआएको पनि होइन । मूल समस्या एउटै रह्योः हामीलाई शासक र सत्ताधारी समूहको इमान र निष्ठामा विश्वास रहेन, जनतालाई हेपेर जनतामाझ विश्वास बढाउने काम उनीहरूले गरेनन् ।
२. एकातिर इमान र निष्ठा हरायो,
अर्कोतिर राजनीतिमा विचार र सिद्धान्तको ठाउँमा चरम अवशरवादिता र राज्य अवशरहरूमा योग्यता र क्षमताको ठाउँमा जात, वर्ण, लिङ्ग, सम्प्रदाय, नाता र अन्य स्वार्थले निर्णायक भूमिका देखेर आम मानिसमा चरम निराशा र कुण्ठा बढेको÷ बढाइएको हो जस्तो लाग्दछ । जनताले सक्षम र इमान्दार मानिसबाट सेवा पाएनन् र असन्तोष बढ्यो ।
अनि स्वयम् सबै ठूला साना राजनीतिक दलहरूले जनता माझ आफूलाई पुर्याउन र स्थापना गर्न अर्को दल र सरकार विरूद्ध निर्माण गरेको झूठ, भ्रम, घृणा र निन्दाको खेतीले पनि सामाजिक सञ्जाल र मिडिया ढाकिएको, सत्य के र असत्य के भनेर छुट्याउने वातावरण पनि नभएको हुँदा वर्तमान स्थिति निर्माण भएको हो भन्ने लाग्दछ । विचार र मूल्यहीन राजनीतिक दलहरू र मिडियाले फैलाएको भ्रम, झूठ र नकारात्मकताले समाजलाई अति नकारात्मक बनाएको मात्रै हो ।
बर्खाको च्याउ उम्रिए झैँ उम्रिएका रेडियो, टेलिभिजन, अनलाइन पत्रिका, युट्युबरलाई पाठक, दर्शक स्रोता चाहियो झूठ, निन्दा र अति नकारात्मकता, गाली–गलौजको बजार ठूलो बनाएर झूठको व्यापार चलाए । निन्दा, झूठ र घृणाको बजारमा मिडियाहरू बिक्री भए । परिणाम आजको समाज ! आजको राष्ट्र र आजको राजनीति !
३. अनि नेता, शासक समुदायका कर्ता–धर्ताहरू सबैजना देश सङ्कटमा छ संकटमा छ भनेर चिच्याइरहेका छन् । तर सङ्कटको चरित्र कोही बताइरहेका छैनन् । र वस्तुतः देश सङ्कटमा छ भन्ने लाग्दैन । नेपालले विश्वको सर्वशक्तिमान देशसँग पनि लडेरै आफ्नो स्वतन्त्रताको रक्षा गरेको हो । महाचीनसँग पनि लडेकै हो । पृथ्वीनारायण शाह र बहादुर शाहको निधन पछिको चरम अस्थिरता , लामो र त्राषद दरवारी षड्यन्त्र र शासकीय अराजकताको स्थितिलाई सामन गरेरै राष्ट्र अखण्ड रहिआएकै हो । त्यो समयमा राज्यको स्वतन्त्रता र प्रभुसत्ताको रक्षा गर्न सक्ने यो मुलुकको आन्तरिक उर्जा र क्षमता मर्यो त ? छैन, त्यो मर्दै मर्दैन, ओइलाएको हुन सक्छ । मुलुकको त्यो आन्तरिक उर्जा र क्षमता उर्जाले नेतृत्व नपाएको मात्रै हो ।
१० वर्षसम्मको माओवादी हिंसा र विद्रोहमा मुलुक एककिसिमले सरकार विहीनताको स्थितिमा हुँदा पनि देश बाँचेकै त हो नि । देश सरकारविहीनताको स्थितिमा थियो । राज्य सानो घेरामा खुम्चिएर बसेको थियो तर पनि स्कूल–कलेज हरूमा पठन–पाठन चलिरह्यो, अस्पतालहरूमा बिरामीले उपचार पाइरहे, उद्योग र व्यापार पनि यथावत चले , सरकार थिएन तर जनताले सरकारलाई कर तिरिरहे । यस्तो अवस्थामा संसारको कुनै मुलुक बाँच्न सम्भव थिएन, तर नेपाल बाँच्यो । त्यो भन्दा ठूलो सङ्कट के हुन्छ ? के आउँछ । राष्ट्र कुनै ठूलो सङ्कटमा छैन, सङ्कट आए व्यवस्थापन गर्ने आन्तरिक उर्जा मुलुकसँग छ । हिजो पनि थियो र आज पनि छ ।
४. सरकारहरू जनभावनाप्रति अलि सजग र सचेत भए, जिम्मेवार देखिए, देशले कूटनीतिक धैर्य, संयम र समझदारी प्रदर्शन गरे, दलीय राजनीतिक उद्देश्यले परराष्ट्र सम्बन्धलाई सङ्कुचित नगरे र, विदेशमा रहेका नेपालीलाई नेपालमा आएर बस्न, उद्योग व्यापार, व्यवसाय गर्न निर्वाध अवसर प्रदान गर्ने हो भने उनीहरू र उनीहरूमार्फत उनीहरूका सम्पर्कका विदेशीहरूले नेपालमा व्यापक लगानी गर्ने र केही वर्ष भित्रै देश समृद्धिको नयाँ युगमा प्रवेश गर्ने कुरामा शङ्का गरिरहनु पर्ला र ?
५. हो ! यो वा त्यो दल होइन, सत्ता र शक्तिमा प्राप्त हैसियत अनुसार सवै दलले एकातिर मानिसको मनमा शङ्का र भ्रममात्रै भरिदिने गरेका छन् अर्कोतिर तलदेखि माथिसम्म भ्रष्टाचार र अपराधलाई सँस्थागत गरिदिएका छन् । वौद्धिक समुदाय लाचारीका साथ सत्ता र शक्तिमा आफ्नो हिस्साको लागि र्याल चुहाएर,मौनता साधेर बसेका छन् ।
६. संसारका सवै राष्ट्रको जीवनमा सङ्कट आउँछन् –जान्छन् । कतै केही सङ्कट र समस्या नआए–राज्य र सरकार पो किन चाहियो ? अर्थात् राष्ट्रको जीवनमा सङ्कट, समस्या र चुनौती आएका छन् –गएका छन् । सङ्कटको व्यवस्थापन पनि भएको छ, गरेका छन् । हामी पनि गर्छौँ , विगतमा गरेकै हौँ !
देश भनेको ओली, देउवा , प्रचण्ड, लिङ्गदेन वा रवि लामिछाने मात्रै होइनन् काङ्ग्रेस, एमाले, माओवादी वा राजा मात्रै पनि देश होइन । गणतन्त्र, सङ्घीयता वा धर्म निरपेक्षता पनि देश होइन । पार्टीका कार्यकर्ता, कुण्ठा, घृणा र नकारात्मकताका मिडिया व्यापारी र सामाजिक सञ्जालका अभियन्ता मात्रै पनि देश होइन । जो देश छोडेर गए तिनले देश लिएर गएका होइनन् । तर ती पनि देश हुन् । माथिका सवै देश हुन् र ती मात्रै देश होइनन् , ती बाहेक का पनि देश हुन् र अझ बढी हुन् । अवसर, सुविधा र सम्भावनाको खोजीमा प्राचीन कालदेखि मानिस एक स्थानबाट अर्को स्थानमा गैरहेकै छन् । त्यो भैरहन्छ । विदेश गएका नेपालीहरू, अन्य मुलुकको नागरिकता लिएर त्यहाँ शक्ति र सम्पन्नता आर्जन गरेर बसेकालाई नेपालका राजनीतिक दलहरूसँग त हामीले जोड्यौं–तर नेपालसँग जोडेनौ । तिनलाई नेपालसँग जोड्न सक्ने बित्तिकै उनीहरूको ज्ञान , सीप, अनुभव र धन नेपालको विकास र समृद्धिको साधक हुन सक्ला नि !
७. विकास र समृद्धि आर्जन गर्ने मुलुकहरूका अनुभवलाई हाम्रो परिवेशमा जोड्न हामीले केही गरिरहेका छैनौ । हाम्रो विकासको दर्शन नै हामीसँग भएन । विकासका नाउमा विकास भत्काउने हचुवा र दृष्टि र दर्शन विहीन कार्यले वास्तविक विकासलाई घँचेटेको नियतिमा हामी पनि घँचेडिएका हौँ । खोक्रो र अर्थहीन समाजवादको झूठ र भ्रममा हामी अझै अल्मलिएका छौँ । त्यो अलमल हट्ने वित्तिकै देशले फड्को मार्छ । तर त्यसको नेतृत्व भइरहेको छैन ।
८ . त्यो नेतृत्व चुनावबाट खोज्ने हो, आउने स्थानीय र राष्ट्रिय चुनावमा हरेक दल भित्र इमान र निष्ठा बोकेका, विकास र समृद्धिका सारथीहरु खोज्ने र त्यो खोजीको क्रममा दलहरूको सीमा र बन्धनबाट मुक्त हुने बित्तिकै योग्य, इमान्दार र उत्तरदायी नेतृत्व निर्माणको क्रम शुरू भैहाल्छ । पार्टीले उर्दी दिँदा एमाले र काङ्ग्रेसले माओवादीलाई र माओवादीले काङ्ग्रेस र एमालेलाई भोट हालेकै छन् त !
राजा र हिन्दू राष्ट्रको पक्षमा उभिएको दलले एमालेलाई भोट हाल्यो र एमालेले त्यो दललाई । प्रचण्ड नेतृत्वको सरकारमा राजा र हिन्दू राष्ट्रको पक्षमा उभिएको दलको नेता सरकारमा गए त । राजावादी र हिन्दू राष्ट्रवादीहरू गणतन्त्रबादी र धर्म निरपेक्षतावादीको मत र समर्थनमा प्रदेश तिर सभामुखको सेवा–सुविधामा रमाइरहेकै छन् त । पार्टीलेको नाउमा आदेश जारी हुँदा अर्को दललाई भोट हाल्न हुन्छ भने योग्य र इमान्दार व्यक्तिको हकमा त्यो काम आम मतदाता नागरिकले आफ्नै स्वविवेकले गर्न नहुने हो र ? अनि अर्को दलका विरूद्ध झूठ, निन्दा र भ्रमको खेती गर्ने त्यस्ता फटाहाहरूको , दलका नेता–कार्यकर्ताको कुरा नसुने के हुन्छ ?
९. आफ्नो भ्युअर बढाउन भए नभएका अनर्गल प्रचार गर्ने र झूठ र भ्रमको व्यापार गर्ने मिडियकर्मीको कार्यक्रम नहेर्ने, नसुन्ने, नपढ्ने गरे र सामाजिक सञ्जालमा त्यस्तै समाचार विचार प्रवाह गर्नेलाई तत्काल ब्लक गर्ने गरे देश, समाज र राजनीतिनै ध्वस्त पारिरहेको निन्दा, घृणा र दुष्प्रचार भष्मासुर र रक्तवीज प्रवृत्ति आफैँ क्रमशःअन्त्य हुँदैन र ?
त्यसो गरेर सडकमा नउत्रिकन, जुलुस, नारा र गाली गलौजबाट पृथक रहेर शान्तरूपमा सामान्य किसिमले आफ्ना नियमित कार्य गर्दागर्दै पनि हामी मुलुकको परिवर्तनको संवाहक हुन सक्छौँ कि ? गलतविरूद्ध मौन विरोध र मौन विद्रोह समेत गर्न नसक्ने हो भने देश बनेन भनेर रोइलो गरिरहने नैतिक र नागरिक अधिकार हामीसँग हुन्छ होला ? देश र भावी सन्ततिको लागि हामी यत्ति पनि गर्न सक्दैनौ त ?

प्रतिक्रिया