उपरखुट्टी कूटनीति !


-सुरेश आचार्य ।

भारतीय विदेश मन्त्री वा सचिवले मात्र होइन, सहसचिवले पनि हाम्रा प्रधानमन्त्रीसँग भेटघाट गर्दा ‘उपरखुट्टी हान्ने’ भारतीय कूटनीतिक प्रचलन ( diplomatic norms) नेपालमा गणतन्त्र आए देखिकै हो । नेताहरूले देश नै राजनीतिक, आर्थिक, व्यापारिक र सांस्कृतिक रूपमासमेत भारत निर्भर बनाइदिएपछि अब हामी जनताले मात्रै चिन्ता देखाएर के गर्ने ? त्यो अवस्थामा नेपाललाई भारतीयले पुर्याएको होइन, हामी नेपालीले नै त्यहाँ पुर्याएका हौं । धन्न, ट्रम्प र भान्सले जेलेन्स्कीलाई जसरी मिश्री बाबुले ओली बाको सात्तोपुत्लो लिएनछन् ।

यी ‘सिंहमय जयते’ वाला प्रधानमन्त्री मुखको मात्रै बादशाह हुन् । महिनौको प्रयास बाबजुद पनि भारत भ्रमणमा जान नपाउँदा यीनको प्राण नै धन्नै गएको थियो ! विचरी डा. आरजुले हस्याङफस्याङ गरी आधा दर्जन पटक दिल्लीका मोहल्लाहरू चहारेर भएपनि प्रधानमन्त्री ओलीको इज्जत जोगाइदिइछन् । अनि, यो नेपालको परराष्ट्र सचिवको पनि ‘बोस’ भारतीय मिश्री नेपाल आए त ।

मूलकुरा, भारतका विदेशमन्त्री, सचिव र सहसचिवले त्यसरी उपरखुट्टी लगाएर नेपाली प्रधानमन्त्रीलाई भेटेको इतिहास थाहा पाएपछि हाम्रा प्रधानमन्त्रीलाई पहिले नै उपरखुट्टी लगाएर तम्तयार पारेर राख्नु पर्दैन थियो ? लिवियाका पूर्वराष्ट्रपति कद्दाफीले पश्चिमी मुलुकका नेताहरूले हेप्छन् भन्ने थाहा पाएपछि आफू होचो ढोका भएको टेन्टभित्र बसेर मात्रै ६ फिट अग्ला खैरेहरूलाई भेट्थे । खैरेहरू, कद्दाफीलाई भेटघाटका लागि आउँदा होचो ढोकाबाट कुप्रिएर पस्नु पथ्र्यो । यो हो नि, बुद्धिमानको काइदा !

जे भयो फोटोमा– आफ्नो थैली कस्नु छैन, अनि अरूलाई चोर दोष लगाउनुको आत्मरति गर्नु बाहेक कुनै अर्थ छैन । स्मरणीय छ, भारतका विदेश सचिव मिश्रीले कूटनीतिक मर्यादा उल्लंघन गरेको होइन, भारतको कूटनीति नै त्यही हो । भारतले नेपालप्रति उपरखुट्टीको सफ्ट पावर (crossed leg soft power) को प्रयोग गरेको मात्रै हो । आखिर, हाम्रा प्रधानमन्त्री ओलीले भारत भ्रमण नगरी ‘स्वर्ग देख्न पाइन्न’ भन्ने बुझेकै छन्, नि ! सुनिदैछ, चुच्चे नक्सालाई राजनीतिक नक्सा (political map) को सट्टा अबदेखि नेपालले ऐतिहासिक नक्सा (historic map) भन्छु भनी भारतसमक्ष कसम खाइसक्यो रे !

ऐतिहासिक नक्सा भन्नुपर्ने भएपछि पूरै उतराखण्ड, हिमान्चल, उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल र सिक्किम मात्र किन पूरै हिमवत्त खण्ड पनि नेपाल सरहद भित्रै गाभेर ओलीको फोटोसहितको करेन्सी नोट चीनमा लगेर छापेको भए पनि भइहाल्थ्यो नि ! नपाउनेले के पायो बोक्रै सित खायो ! नमच्चिने पिङका सय झट्का, चोरका लामा फट्का ! हेर्दै गर्नु, चुच्चे नक्सा राजनीतिक नक्सा हो कि ऐतिहासिक नक्सा हो, संसदले प्रधानमन्त्रीलाई प्रश्नोत्तर गर्न पनि गैंडा आची गर्न पछाडि हटेजस्तै गरी सांसदहरू खाडलतिर पछाडि हट्दै जानेछन् !