संस्कारको लागिः संस्कृत शिक्षा
-डा. गोविन्द एस. उपाध्याय
(१) संस्कार र संस्कृत यी दूवै शब्दको अर्थ झन्डैझन्डै उस्तै हुन्छ । संस्कार क्रिया हो भने संस्कृत विशेषता । संस्कृत एउटा भाषा हो । संस्कारको कुनै भाषा हुँदैन । संस्कारका लागि संस्कृत भाषा नै हुनुपर्छ भन्ने छैन । साथै, संस्कृत (refined) का लागि कुनै धर्म, जात, संस्कृति बन्देज छैन । यसरी संस्कार र संस्कृति मानवमात्रको लागि चासोका विषय हुन् । आ–आफ्नो आवश्यकता, मान्यता तथा परिवेशअनुसार हरेकले संस्कार र संस्कृतिको चाहना गर्छन्, प्रवर्धन गर्छन् र त्यसको लागि प्रयास गर्छन् ।
(२) विश्वका सबै मान्छे धार्मिक छैनन् । धर्ममा (रिलिजन) विश्वास गर्ने धेरै छन् । कुनै पनि धर्म नमान्ने थोरै छन् । धर्म र धार्मिकताका विषयमा कुनै जानकारी नराख्ने पनि छन् । तर यी सबैका संस्कार र संस्कृत छन् । संस्कार र संस्कृतरहित कुनै पनि समुदाय छैन । हामीले (मैले) मान्ने र विश्वास गर्ने संस्कार नमान्दैमा वा नजान्दैमा कुनै पनि व्यक्ति वा समुदाय संस्कारहीन र असंस्कृत हुँदैन । उनीहरूका संस्कार र संस्कृतको मानदण्ड हाम्रो जस्तो हुँदैन ।
(३) वैदिक, जैन र बौद्धहरूका लागि संस्कृत एउटा पवित्र भाषा हुनुका साथै संस्कारको माध्यम पनि हो । वैदिक, जैन र बौद्धहरू धार्मिक रूपमा फरक समुदाय हुन् तर संस्कृतचाहिं यी तिनै समुदायको संस्कार तथा संस्कृतिको निर्विकल्प माध्यम हो । बौद्ध धर्म मान्ने धेरै समुदायहरूले संस्कृत भाषा जानेका हुँदैनन् तर संस्कृत भाषाले नियमन गरेको संस्कारलाई संस्कारको मानदंडका रूपमा ग्रहण गर्छन् ।
(४) आजको मितिमा भाषाका रूपमा प्राचीन भाषाहरू मध्ये संस्कृत सबैभन्दा बढी जीवन्त भाषा हो । मातृभाषाका रूपमा संस्कृत बोल्नेहरू के कति छन् ? भन्न सकिन्न तर दिनहुँ १२७ बटा कितावहरू लोकार्पित हुन्छन् । नेपाल र भारतका विश्वविद्यालयहरूमा संस्कृतको पठनपाठन हुन्छ । अचम्मको कुरा त के भने नेपाल र भारतमा कुनै समय “मृतभाषा“ भन्दै निरादर गरिएको संस्कृत भाषाको सशक्त पुनर्जागरण हुँदैछ । गत दशकयता भारतमा ७ वटा संस्कृत विश्वविद्यालयहरू स्थापित भएका छन् । इन्टरनेट प्रविधिलाई प्रयोग गरेर धेरै मान्छेहरूले संस्कृत सिकिरहेका छन् । संस्कृत भाषाको जतिधेरै आलोचना हुँदैछ, त्यतिनै यस प्रति मान्छेहरूमा जिज्ञासा र अभिरुचि बढ्दो छ ।
(५) मनुस्मृतिले प्रष्ट रूपमा ‘सबैले आ–आ–आफ्ना संस्कृतिहरू सिकुन् र संस्कारित बनुन्’ भन्ने आशय व्यक्त गरेको छ भने गीताकार श्रीकृष्णले पनि ‘परधर्मो भयावहः’ भन्दै हरेक मान्छेलाई आफ्नो मौलिक संस्कृति र संस्कार मै सहज हुने सल्लाह दिएका छन् । विश्वको मानव इतिहासमा एतिविध्न उदार र समतामूलक संदेश अन्य संस्कृतिमा पढ्न र व्यबहारमा प्रयोग भएको देख्न र भोग्न सकिन्न । तेसैले अनुदार संस्कृति भएका पन्थ, समुदाय र व्यक्तिहरूका लागि वैदिक संस्कृति अपाच्य हुन्छ । यदि अनुदारवादी संस्कृतिको मान्छे कुनै कारणवस वैदिक उदारवादको सम्पर्कमा आउँछ भने पुनः फर्केर आफ्नो अनुदारवादी गृहस्थीमा प्रवेश गर्न इच्छुक हुँदैन । यो धर्म परिवर्तन नभएर हृदय परिवर्तनको बलियो उदारहण हो ।
(६) मेरो हुर्काइ वैदिक संस्कृतिमा भएको नाताले मेरो माइन्ड–सेटले वैदिक संस्कृति र संस्कारलाई महत्वपूर्ण ठान्छ । यही तत्थ्य मुस्लिम, इसाई, यहुदी, जैन, बौद्ध र विश्वका अन्य समुदायका सवालमा पनि बुझ्नुपर्छ । तर इन्टरनेटको युगमा कुन धार्मिक समुदाय उदारवादी छ र कुन जडसूत्रवादी छ भन्ने कुरा लुकाउन सकिन्न । उदाहरणका लागि मुस्लिम बहुल साउदी अरवमा हिन्दु, जैन, बौद्ध, शिखआदिका धार्मिक आस्थाहरू अटाउन सकेका छैनन् तर हिन्दु बहुल भएका देशहरूमा जैन, बौद्ध, इसाई, मुस्लिम तथा पारसीहरूले स्वतन्त्रता आफ्नो धार्मिक आस्था व्यक्त गर्न सक्छन् । हिन्दू परिवारमा जन्मेको व्यक्तिले हिन्दू धर्म, संस्कृतिको कठोर आलोचना गर्दा पनि सहजतापूर्वक वेवास्ता गरिन्छ ।
(७) संस्कृत भाषामात्र होइन यो संस्कृतिको सम्बाहक माध्यम हो भन्ने कुरा मैले निवेदन गरिसकेको छु । केवल भाषाका रूपमा संस्कृतलाई बुझ्दा एउटा इसाई, मुस्लिम, पारसी, नास्तिक सबैले लेख्न, पढ्न र बोल्न सक्छन् । साहित्य सृजना गर्न सक्छन् तर यदि संस्कृतलाई संस्कृतिको सम्बाहकका रूपमा समेत बुझ्ने हो भने यो वैदिकहरूका लागि जन्मदेखि मृत्यु तथा वर्णाश्रम धर्म तथा चारैबटा पुरुषार्थको विनम्र अभ्यास गर्ने जीवन पद्धति हो । आजभोलीका गुरूकुलहरूले संस्कृतका माध्यमबाट संस्कारका रुपमा संस्कृतिको पुस्तान्तरण गर्ने अभ्यास गरिरहेका छन् । भाषाका रूपमा संस्कृतले कुनै प्रकारको संस्कार वा संस्कृति डिमाण्ड गर्दैन तर संस्कृतिका रूपमा संस्कृतले वर्णाश्रम धर्मयुक्त संस्कारको डिमाण्ड गर्छ । जुन नेपाली तथा भारतीयहरूको मौलिक जीवन दर्शन, पद्धति, संस्कार, आचरण र संस्कृति हो ।
(८) संस्कृत भाषाको नाम आउँदा साथ टुप्पी पाल्ने, निधारमा तिलक लगाउने, वेद, उपनिषद, पुराणका मन्त्र तथा श्लोकहरू पाठ गर्ने, यज्ञ गर्ने/गराउने, विशिष्टप्रकारका नित्य तथा नैमित्तिक पूजापाठ गर्ने, मौलिक धर्म, संस्कार तथा परम्पराप्रति दृष्टआस्था राख्ने, सबै देवीदेवता र आस्थामा विश्वास गर्ने, मुर्तिपूजकको चित्र देखापर्छ । सबैजसो गुरुकुलहरूले विहानै उठेर मातापितालाई ढोग गर्ने, आचार्यहरूको सम्मान गर्ने, आफुभन्दा ठूलासानालाई परम्पराअनुसारको सम्मान दिने र सम्मान स्वीकार गर्ने, अथितिहरूको सम्मान गर्ने, ईश्वर, गाई, पुनर्जन्म, कर्मवादमा विश्वास गर्ने र तीर्थयात्राआदिका प्रतिमानहरूप्रति सम्मान गर्ने र संस्कृत भाषाको ज्ञान तथा नित्य एवं नैमित्तिक कर्ममा आस्था राख्ने कुरालाई ‘संस्कार’का रूपमा सिकाउने र पुस्तान्तरणका लागि बलियो जग बसाल्ने प्रयत्न गर्छन् ।
(९) उपर्युक्त संस्कारको मानदंड वैदिक सनातनीहरूका लागि निकै भावुक र जीवनशैलीसंग जोडिएको हुँदा बान्छनीय हुन्छ । वैदिक चिन्तन, जीवन पद्धति तथा संस्कारहरूसंग शत्रुता राख्ने व्यक्ति वा समुदायका लागि संस्कृत र संस्कृतसंग जोडिएका संस्कारहरूले ठूलो मानसिक कष्ट उपन्न गर्छन् । धेरैजस्तो यस्ता ‘लिबरल’हरू हिन्दु परिवारका हुन्छन् र संस्कारका रूपमा घरमा हिन्दू–संस्कृतिकै अभ्यास गरिरहेका हुन्छन् । यस्ता ‘लिबरल’हरूले ‘विकृतिहरू हटाउने’ नाममा वैदिक संस्कृतिका धेरैजसो चालचलन, रितिरिवाज र मान्यताहरूको कठोर आलोचना गरिरहेका हुन्छन् । तर आफ्नै आँखाको अगाडी हिन्दू बाहेकका अन्य धार्मिक वा राजनैतिक समुदायले अन्धविश्वासको अभ्यास गरिरहेका छन् भने त्यसप्रति चूप रहन्छन् वा कट्टरपन्थीताका लागि हिन्दूहरूलाई नै दोष दिन्छन् ।
(१०) मनुले धर्मका १० वटा लक्षण बताएका छन् । गीतामा २८ वटा सद्गुणहरूको चर्चा गरिएको छ । भागवतमा २९ बटा सद्गुणहरूलाई धर्म मानिएको छ । यदि नेपाल र भारतका संस्कृतज्ञहरूले संचालन गरेका ‘संस्कार’वर्गहरूको प्रवृत्तिको प्रकृति नियाल्ने हो भने उपर्युक्त गुणहरूको विकास गर्नु र तेसका आधारमा जीवनशैली निर्माण गर्नुनै संस्कारको मुख्य कार्य हुन्छ । यसैसंग वर्णाश्रम धर्म, जाति धर्म, राजधर्मआदि पनि समेटिन्छन् । संस्कृत भाषाका माध्यमबाट सिकिने संस्कारहरूको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सद्गुणहरूको विकास गर्ने, संसारसंग अतिरति (Attachment) नगरेर समभावको अभ्यास गर्ने र बहुलतावादी माइन्ड–सेटका आधारमा अन्य समुदायलाई सम्मान गर्ने बुझिन्छ । करियर डेभेलोपमेन्टका नाममा एकलवादी स्वभाव, अतिसुखवादी चिन्तन र व्यबहार, व्यक्तिमुखी सुखको अवधारणालाई महत्व दिने वर्तमान शिक्षाप्रणालीलाई गुरुकुल शिक्षाले चुनौति दिन्छ ।
(११) संस्कारहरूको निर्धारणमा मूलतः ईश्वरीय (आध्यात्मिक), सामाजिक वा सांस्कृतिक, राजनैतिक (न्यायिक) र कर्तव्यबोध मूलक व्यक्तिगत मान्यताहरूले मुख्य भूमिका निर्वहन गर्छन् । धार्मिकहरूले धार्मिक क्रियाकलापमा प्रतिबन्ध जीवन पद्धतिलाई ‘संस्कार र संस्कृत’ मान्छन् । समुदायमा प्रचलित सांस्कृतिक मान्यताहरूको बिन्रम्र अभ्यास गर्ने जीवनशैलीलाई पनि संस्कार मानिन्छ । यसैगरी, राज्यले निर्माण गर्ने कानुनहरूले पनि संस्कारको सृजना गर्छन् भने उपर्युक्त तीनैवटा मान्यता सहित वा रहित स्वविविवेकले आत्मकल्याणकारी र उपकारी कर्म गर्न उत्प्रेरित गर्ने अभ्यासलाई पनि ‘संस्कार’ भन्न सकिन्छ । सत्य बोल्नु, सहयोगी हुनु, क्षमाशील हुनुजस्ता गुणहरू पनि संस्कारले विकसित हुन्छन् । यसरी संस्कार एउटा सकारात्मक मानो–सामाजिक प्रकृति हो ।
(१२) हरेक परिवारका मान्छे चाहन्छन् : उसका परिवारको हरेक सदस्य सदाचारी र संस्कारी बनोस् तर संस्कारी किन बन्नुपर्छ, किन असल बन्नुपर्छ ? जस्ता प्रश्नहरूको उत्तर कसैसंग हुँदैन तर संस्कृतले उत्तर दिन्छ । संस्कार नै संस्कृत भएपछि मान्छे स्वयंले चाहेर पनि असंस्कृत वा दुराचारी बन्न सक्दैन । आजको विश्वलव संस्कृत–संस्कारको नाम नलिए पनि संस्कृत–संस्कारकै अपेक्षा गर्छ । अंग्रेजीमा निकै प्रयोग हुने ‘Spirituality‘ वैदिक संस्कृतिबाट उधारो लिएको शब्द हो । विश्वका सबै धर्म, संस्कृति, परम्परा वा परिवारका मान्छेले आफ्नो सन्तान सदाचारी र सुसंस्कृत होउन् भन्ने चाहन्छन् तर यो चाहनाको व्यवस्थित मार्गचित्र भने संस्कृतले कोरेको छ । कराग्रे बसते लक्ष्मीबाट आरम्भ भएको दैनिकी जलेरक्षतु–मा सम्पन्न हुन्छ । धर्मका दश लक्षणहरूले प्रष्ट रूपमा संस्कारको मार्गचित्र स्थापित गरेर संस्कृत बन्ने बनाउने व्यबहारगात प्रशिक्षण दिन्छ ।
(१३) विश्वले संस्कृतको महत्व बुझ्दैछ । विश्वले संस्कृतको संस्कृति प्राप्त गर्छ चाहन्छ । भारतमा मोदी सरकारको उदयपछि संस्कृतका ६ बटा विश्वविद्यालयहरू खोलिएका छन् भने भारत सरकारकै लगानीमा २ वटा केन्द्रीय संस्कृत विवि खोलिएका छन् । भारतको उत्तराखंड र हिमाचल प्रदेशले संस्कृतलाई जनजिब्रोको भाषा बनाउने अभियान अन्तर्गत संस्कृतलाई दोस्रो राजकीय भाषाका रूपमा समावेश गरेको छ । नेपालले पनि संस्कृत भाषामा फड्को मारिरहेको छ । संस्कृत भाषा र संस्कृत–संस्कृतिलाई माया गर्नेहरूले निर्दोष भावले अनेकौं गुरुकुल संचालन गरिरहेका छन् । राष्ट्रले ठूलो लगानीमा संचालन गरेका विद्यालय, महाविद्यालय र विश्वविद्यालयका तुलनामा निजीतौरमा र मूठीदानबाट संचालनमा रहेका गुरुकुलहरू संस्कारयुक्त नागरिकहरू निर्माण गरिरहेका छन् । केही स्थानीय सरकारहरूले संस्कृत भाषाको स्वामित्व लिएर आफ्नो कार्यक्षेत्रमा नेपाल सरकारले नै निर्माण गरेको संस्कृत–सिलेबस संचालन गरेको छ ।
(१४) नेपालमा गणतन्त्रको उदयले संस्कृत भाषा र वैदिक संस्कृतिप्रति जनसाधारणको चासो बढेको छ । यसै चासोको वरिपरी अनेकौं गुरुकुलहरू खुलेका छन् । अनेकौं अनौपचारिक संस्कृत–शिक्षा दिने कार्यक्रम संचालनमा छन् । स्थानीय सरकारहरूले पनि संस्कृत शिक्षालाई मान्यता प्रदान गरिरहेका छन् । विद्यालयस्तरको संस्कृत शिक्षामा विविधीकरण गरिएको छ । प्राचीन संस्कृत शिक्षालाई आधुनिक विज्ञान–शिक्षासंग जोडिएको छ । यी सबैले संस्कृतका उत्कृष्ट छात्रछात्रा उत्पादन भएका छन् । सबैभन्दा महत्वपूर्ण तत्थ्य त के भने विगतमा नेपालीहरू संस्कृत शिक्षाका लागि भारत जान्थे भने आजको मितिमा भरतीय धर्मगुरूका सन्तानहरू सनातन धर्मको शिक्षा र संस्कृत सिक्न नेपाली गुरुकुलहरू रोज्न थालेका छन् । यसै बीच जनगणनाले संस्कृत भाषालाई इज्जतिलो स्थान दिएको छ । नेपाली संस्कृतज्ञहरूको अन्तराष्ट्रिय जगतमा ठूलो माँग रहेको छ भने स्थानीयतहमा पनि सांस्कृतिक निरन्तरताका लागि संस्कृत भाषा र ज्ञान निकै महत्वपूर्ण भएको छ । सन्तोष मान्नुपर्छ कि संस्कृतको चरम विरोध गर्नेहरू संस्कृतसंग जोडिएको नैतिकताको विकासका सवालमा संस्कृत शिक्षातिर झुकाव राख्न थालेका छन् ।
(१५) सामान्यतया भाषा–संस्कृतिका सवालमा राजनैतिक दलहरूले हस्तक्षेप गर्दैनन् तर नेपालमा भने संस्कृतप्रति निकै दुराग्रहपूर्ण व्यबहार गरिएको इतिहास छ र त्यस्तो गर्ने पात्रहरू पनि जीवन्त छन् । जातीय नाममा, शोषणका नाममा, बुर्जुवाका नाममा, सामन्तवादका नाममा विगत ४० वर्षदेखि सरकारीस्तरबाट नै संस्कृत र संस्कृत–संस्कार विरुद्ध निकै कू–प्रचार गरियो । तर समयले संस्कृतको महत्वलाई पुनः स्थापित गर्ने प्रयत्न भैरहेको छ । संस्कृतभाषाका चरम विरोधीहरू पनि ‘बुद्ध पढ्न संस्कृत नै चाहिने रहेछ’ भन्ने तत्थ्य बुझ्दैछन् । विश्वभरी संस्कृतको महत्व बढ्दै जाँदा नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालको जग्गा कब्जा गर्नेहरू विरुद्ध कार्बाही गर्नुपर्छ ।
(१६) संस्कार एउटा प्रकृया हो भने संस्कृत त्यसको परिणाम । तेसैले संस्कृतलाई केवल भाषामात्र ठान्नु र संस्कारलाई केवल एकपक्षीय, एकजातीय, एकधार्मिक अभ्यास ठान्नु उचित हुँदैन । संस्कार सबैको आवश्यकता हो भने संस्कृत सबैको लक्ष । सबैले संस्कृत भाषा नजानेका हुन सक्छन्, संस्कृत सिक्ने आवश्यकता अनुभव नगर्लान् तर संस्कार सबैका लागि बान्छनीय हुन्छ । वैदिक, जैन, बौद्ध, शिखसमुदायहरूको संस्कृति र संस्कार दुवै संस्कृतमा आधारित भएको हुँदा संस्कृत नै असल संस्कारको मान्दंड हो भन्ने तत्थ्य सिद्ध हुन्छ ।
स्वस्त्यस्तु


            
  
  
  
  


