-डा. रामकृष्ण तिमल्सेना
सच्चा नेतृत्व त्यो हो, जसले शक्ति होइन, सेवामा गरिमा खोज्छ, लाभ होइन, त्यागमा सम्मान खोज्छ । त्ये नै नेतृत्वको नयाँ प्रतिबिम्ब बन्छ। जब त्याग पदभन्दा ठूलो हुन्छ देवत्वले वास गर्दछ । नेपालमा राजनीतिले कहिल्यै जनताको मन र भावना जितेन ।सुविधा र पदको लोलुपतालाई नै प्रदर्शन गर्यो ।तर विश्वका केही महान् चरित्रहरूले देखाउँछन् कि नेतृत्व अस्थायी सत्ता हो तर यो अमर प्रेरणा हो।दक्षिण अफ्रिकाका नेल्सन मण्डेलाले आफ्ना २७ वर्ष जेल जीवनलाई बदला होइन, राष्ट्रिय मेलमिलापको शिक्षा बनाए । जेलबाट मुक्त भएपछि पाँच वर्षमै पद छोडेर उनले प्रमाणित गरिदिए — सेवा शाश्वत हुन्छ, सत्ता अस्थायी । उरुग्वेका जोसे मुजिकाले आवश्यक भन्दा पनि बढी सादगी देखाउन सफल भए । पुरानो बीटल कार चढ्दै, आफ्नो तलबको ९०% दान गर्दै, उनले नेतृत्वमा विलासिता होइन,जनताको भरणपोषणको प्रतिबद्धता देखाए ।
जर्मनीकी एङ्गेला मर्केलले १६ वर्षसम्म अकन्टक र विवादरहित शासन गरिन् । पद त्याग्दा पनि कहिल्यै व्यक्तिगत प्रतिष्ठाको विषय बनाइनन्, उनले सिकाइन्—सत्ता विनम्र हुन सक्छ । न्युजिल्याण्डकी जासिन्डा अर्डर्नले जब महसुस गरिन् कि देशका हितमा उनी पर्याप्त उर्जा दिन सक्दिनन्, तुरुन्तै राजीनामा दिइन्—अवसरगत शासन होइन, जिम्मेवार बहिर्गमन पनि नेतृत्व हो भन्ने पाठ पढाउँदै।
भारतका मनमोहन सिंह, दुई कार्यकालसम्म भ्रष्टाचाररहित प्रधानमन्त्री भए, साधारण जीवनशैली अपनाए । उनको मौनता र मर्यादाले देखायो, प्रचार होइन, परिणाममुखी नीति बनाउने हो ठूलो राष्ट्रले । फिनल्यान्डकी सान्ना म्यारीनले चुनाव हार्दा ‘जनताको निर्णय सर्वोपरि’ भन्दै गरिमापूर्वक राजीनामा गरिन्— हारलाई पनि गरिमापूर्ण रूपमा स्वीकार्नु नौलो नेतृत्व कला हो भन्ने उदाहरण प्रस्तुत भयो ।
आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले पदमा रस देखेनन्, जनतासँगको संवेदना र सांस्कृतिक प्रेरकत्वमा विस्वास राखे। उनले राष्ट्रपतिको पदलाइ कलात्मक मञ्च बनाए र देखाए कि नेतृत्व केवल प्रशासन होइन, मानवतामूलक दृष्टिकोण पनि हुनुपर्छ ।
यसबाहेक, बेलायती प्रधानमन्त्री डेविड क्यामेरोनले ब्रेक्जिट–जनमतले हार खेप्दा स्वेच्छाले राजीनामा दिए । त्यो केवल राजनीतिक असफलता होइन, उत्तरदायित्व स्वीकार गर्ने साहस हो—जुन नेपाली राजनीति लागि पनि निर्णायक पाठ हो। अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सन, वाटरगेट केसमा अनिवार्य रूपमा पद छोडे— पहिलो र एकमात्र अमेरिकी राष्ट्रपति जसले व्यक्तिगत बचावभन्दा लोकतन्त्रको रक्षा रोजे । र एशियाकै सान्दर्भिक उदाहरण, भुटानका राजा जिग्मी सिङ्गये वाङचुकले आफूलाई भएको सम्प्रभु शक्ति छोडेर देशलाई संविधानमूलक राजतन्त्रतर्फ लागे । लोकतन्त्र र जनशक्तिमा विश्वास राख्नु नै सच्चा त्याग हो । यी सबै चरित्रहरूले प्रमाणित गरे कि नेतृत्व पद र सुविधाको सूची होइन, त्याग र उत्तरदायित्वको कथासंग्रह हो। पद अल्पकालीन हो, तर त्यागको प्रभाव अनन्त कालसम्म गुन्जिरहनेछ ।
नेपालमा पनि नेतृत्वले अब प्रश्न गर्नुपर्छ ‘मैले के पाएँ?’ होइन, ‘मैले के दिएँ?’ भन्ने हिसाब राख्नु पर्छ। जतिखेर नेता ‘के पाएँ’ भन्दा ‘के दिएँ’ भन्ने प्रश्नमा गर्व गर्न थाल्छन्, त्यस दिन हाम्रो राजनीति भ्रष्टाचारबाट मुक्ति, जनविश्वासको पुनर्जागरण र नयाँ नेतृत्व युग प्रवेश गर्नेछ।

प्रतिक्रिया