नारायण गाउँले ।
जम्मा ३३ वर्षका यी युवा न्युयोर्कजस्तो विश्वकै शक्तिशाली शहरको मेयर बन्ने संभावना बलियो भएको छ । भारतीय मूलका जोहरान ममदानीको जन्म अमेरिकाबाहिर युगान्डान नागरिकको रूपमा भएको हो । उनी मेयरमा निर्वाचित भए भने उक्त शहरको पहिलो मुश्लिम मेयर बन्नेछन् । विश्वकै अर्को शक्तिशाली शहर लण्डनमा पाकिस्तानी मूलका मुश्लिम मेयर छन् ।
जोहरानले डेमोक्रेटिक पार्टीभित्र उम्मेदवारीको आन्तरिक प्रतिष्पर्धामा बाजी मारेका हुन् । न्युयोर्क शहर डेमोक्रेटिक दलको पकड़ क्षेत्र मानिने हुनाले उनको मेयरल यात्रा पक्काजस्तै देखिएको हो ।
हिपहप म्युजिकमा रुचि रहेका र केही र्याप गीत समेत रेकर्ड गरेका जोहरानले चार वर्षअघि राजनीतिमा पाइला राखेका थिए । प्रोफेसर महमूद ममदानी एवं प्रसिद्ध भारतीय–अमेरिकी फिल्म निर्माता र निर्देशक मीरा नायरका छोरा जोहरानले न्युयोर्कका पूर्व गभर्नर एवं प्रवल दाबेदार मानिएका एन्ड्रयू कुओमोलाई पछि पार्न सफल भए ।
अमेरिकामा बाहिर जन्मेको व्यक्ति राष्ट्रपति बन्न नपाउने भएपनि अन्य राजनैतिक पद या नियुक्तिमा भने कुनै भेदभाव छैन । भारतीय मूलको, अफ्रिकामा जन्मेको र अल्पसङ्ख्यक मुश्लिम धर्मसँग जोडिएको व्यक्ति भए पनि मेयर लड्न र जित्न सक्ने सम्भावना भएकाले नै न्युयोर्कजस्ता शहरलाई ‘ग्लोबल सिटी’ भनिएको होला । धन्नै कमला ह्यारिस अमेरिकी राष्ट्रपति नै बनेकी थिइन् । बेलायत जस्तो क्रिश्चियन देशमा हिन्दु धर्मका ऋषि शुनक प्रधानमन्त्री बनेका थिए । इराकबाट शरणार्थी बनेर आएका नदीम जहावी बेलायतको अर्थमन्त्री बनेका थिए । अझ रोचक त दुबै अलि अनुदार मानिने कन्जरभेटिभ दलका नेता थिए ।
विश्वभर धार्मिक कट्टरवाद र उग्रदक्षिणपन्थ बढ्दो क्रममा छ । एउटै धर्मभित्र पनि साम्प्रदायिक विद्वेष र शत्रुता छ । यस्तो बेला आएको यो खबर पक्कै महत्त्वपूर्ण छ ।
विपक्षीले यिनलाई अनुभवहीन, अपरिपक्व र हावादारी भन्ने आरोप लगाए पनि जोहरानलाई अधिकांश पार्टी कार्यकर्ताले रुचाएको देखियो । झट्ट यिनको कथा सुन्दा हाम्रा मेयर बालेनको झल्को आउँछ । कालो चश्मा लगाउने सल्लाह कसैले देला कि ।
उसो त न्युयोर्क शहर अमेरिकाको सबैभन्दा ठूलो मेगासिटी मात्र होइन, सबैभन्दा समावेशी शहर पनि हो । यहाँ चिनियाँदेखि रसियन, इरानीदेखि अफगानी, नेपालीदेखि लीबियनसम्म विश्वभरका मान्छे छन् । विश्वभरका वैज्ञानिक, डाक्टर, इन्जिनियर, विचारक, व्यापारी र कलाकार थुप्रिएको ठाउँ कति सुन्दर र समावेशी होला । झन्डै ८०० त भाषा नै बोलिने रहेछ । धर्म, जात, राष्ट्रियता र रङ्गको आधारमा भेदभाव नगरिने भन्ने कानुन बनाएको यो शहरमा झन्डै एक तिहाई जनसङ्ख्या अमेरिका बाहिर जन्मेकाहरूको छ । यो विशाल शहरको वरिपरि दुई करोड़ बढ़ी मान्छे बसोबास गर्छन् । झन्डै ३०% श्वेत जनसङ्ख्या छ भने १५% जति एशियन मूलका छन् । संसारभर बाट वैधानिक तरिकाले अमेरिका पस्ने सबैभन्दा ठूलो ढोका न्युयोर्क नै भएकाले यो वास्तवमैं वैश्विक शहर बन्न पुगेको हो । तपाईं पनि पुग्नुभएको छ कि ?

प्रतिक्रिया