-नारायण गाउँले ।
जे हुन्छ, झापामै हुन्छ ! जमिनमुनि ५८ मीटर खनेर ’भिलेज’ बनाउने खतरा योजना सुनियो । किन त भन्दा समुद्री सतहमा बनेको जिरो भिलेज भनेर ठूलो रेकर्ड हुन्छ । प्रसङ्गवश, विश्वमा जीरोमात्रै होइन, माइनस भिलेज कति छन् कति । अजरबैजानको राजधानी बाकु त जिरोमात्रै होइन, समुद्री सतहभन्दा झन्डै २८ मिटर मुनि छ ।
आम्स्टर्डम सहित नेदरल्याण्डका धेरै शहर या त माइनस या जिरो लेबलमा छन् । अमेरिकाकै क्यालिफोर्नियामा जिरो या त्यसभन्दा मुनि दर्जनौं शहर छन् । मृत सागर नजिकै इजरायलको एउटा शहर त ३४५ मिटरमुनि छ । मालद्वीप भन्ने जिरो देश नै छ, जसको औसत उचाइ जम्मा डेढ़ मिटरको छ । भारतकै केरलामा नेचुरल्ली नै जिरो भिलेज कति छन् कति । अझ समुद्री सतहभन्दा मुनि धानखेती हुन्छ त्यहाँ ।
अनि पहिले त केचना कबल नै सबैभन्दा तल्लो पोइन्ट हो भन्ने सूचनालाई पनि सच्याउन पर्ने हुनसक्छ । खाल्टो खनेर जिरो बनाउने अनि सगरमाथामा टावर हालेर ९ हजार मिटर बनाउने जस्ता आइडिया हाम्रो ओरिजिनल नै होला । प्राकृतिक रूपले नै विश्वकै अग्लो गाउँ बनाउन सकिने देशमा खाल्टो खनेर जिरो भिलेज बनाउने सोच पनि गलत होइन । फेरि ठूलो देशबाट फर्केपछि योजना पनि ठूलै चाहियो । एउटा इनार खन्नै पनि ५८ मिटर भनेको कम होइन, तर भिलेज नै बनाउँदा त यो मेगाप्रोजेक्ट नै हुने भयो । कोदालो र एक दुई डोजरले मात्रै खन्ने कुरो भएन, विशालकाय टनेल मेसिन ल्याउनै पनि हाम्रो बाटो र ढुवानीलाई अर्को उचाइमा लैजान पर्छ । सयौं ट्रकको लाइन लाग्ने होला । हजारौं रोजगारी सिर्जना हुन्छ । जमिनमुनिको त्यत्रो संरचना र बाढी, पहिरो, ढललगायत अन्य भौगर्भिक चुनौतीले गर्दा इन्जिनियरिङका दृष्टिले पनि यो अहिलेसम्म भएका कुनै पनि आयोजनाभन्दा विशाल हुनेछ । आर्थिक क्रान्ति नै हुने भयो ।
पक्कै केही आधार, अध्ययन र पूर्वतयारी पनि होला । तर यो सबै केका लागि त भन्ने प्रश्नको उत्तर पनि होला । खन्न सुरु गरि हालौं ! भिलेज भएन भने कम्तिमा पोखरी त हुन्छ ! अनि के, सय मिटर अग्लो भ्यू टावर पनि झापामैं छ । चट्ट उक्लिने र १५८ मिटर तल हेर्ने । गज्जप नै हुने भयो । टावरबाट हेर्नचाहिँ के हेर्ने भन्ने समस्या थियो, त्यसको पनि समाधान हुने देखियो ।

प्रतिक्रिया