टर्कीमा केही दिन बस्दा …



डा. प्रदीप ढकाल ।

टर्कीले केही बर्षयता भौतिकरुपमा निकै प्रगति गरेको छ । विश्वसभ्यताको निर्माणमा ऐतिहासिक कालदेखि नै टर्कीको बिशेष भूमिका रहँदै आएको त छ नै । अहिले पनि एशिया र युरोपलाई जोड्ने यो मुलुक विश्व मानचित्रमा अलग र प्रभावकारी भूमिकामा रहेको छ ।
भौतिक बिकासका लागि परिवहन प्रमुख कुरा हो र यसका लागि सडक, रेल, हवाई र समुद्र मार्गलाई व्यवस्थित गरेको छ टर्कीले । सडक सञ्जाल र यातायात प्रणालीमा दस बर्षको अन्तरालमा धेरै नै प्रगति गरेको छ । जहाँ जे उत्पादन हुन्छ त्यहाँ त्यही खेती गर्नका लागि कृषिका क्षेत्रहरु छुट्याइएको छ । एशिया र युरोपको संगमस्थल भएपनि टर्कीले कसैको नसुनिकन आफ्नै ढंगले संस्कृतिको बिकास गरेको छ ।
कालो सागरबाट रसिया, युक्रेन र उत्तरी युरोपतर्फको सामुद्रिक जहाजमार्फत् व्यापार गर्दछ भने भूमध्य सागरबाट अफ्रिका, ग्रिस र बाँकी विश्वसँग समुद्रमार्फत् जोडिएको छ ।

सकार्या विश्वविद्यालयकी मेरी मित्र डा. नेसरिन केनर र उनको टोलीसँग बिगत दस बर्षदेखि अनुसन्धानका क्षेत्रमा सहकार्य गर्दै अगाडि बढिरहँदा विश्व सभ्यताको आँगनमा मेरो देश नेपालमा रहेको आध्यात्मिक शक्तिको गुनगान गाउन मैले छाडिन । मेरी मित्रका अनुसार टर्कीमा नेपालीहरु मिजासिला र मेहनतीका रुपमा परिचित रहेछन् । आजकल कृषिका क्षेत्रमा काम गर्न नेपालीहरु जानेक्रम बढेको रहेछ । विश्वमञ्चमा राज्यको उपस्थिति र पहुँच छ भन्ने अनुभव नै गर्न नसकिने अवस्थामा पनि व्यक्तिगत प्रयासमा विश्वका बिभिन्न मुलुकमा पुगेर नेपालको छवि उच्च राख्ने सम्पूर्ण नेपालीमा नमन गर्न मन लाग्यो ।

कालो सागरको बालुवामा लडिबुडी खेल्दा मैले मेरै नदी किनारका सुनौला बालुवा देखेँ, चेरीको बगैँचामा मेरै गाउँपाखाका आरु र पैयुँ देखेँ, सुफीका हरफमा मैले हाम्रै संगीतका आवाज सुनेँ । मेरा साथीहरु बिकास पढाइरहँदा मैले सृष्टिका हरेक तत्वमा जीवन देख्ने हाम्रो आध्यात्मिक पुँजी बारे बताएँ । मेरो शिरको टोपी मेरो भूगोलका उच्च पहाडहरुको परिचय हो भनेर इतिहासमा कहिल्यै नझुकेको स्वाभिमानी देशको कथा बताएँ । अनि यो बताइरहँदा मलाई मेरै देशको व्यथा बदल्ने अठोट दृढ बन्दै गयो ।

अब हामीले पनि हाम्रो देशलाई बिकासका मार्गमा लानुपर्नेछ । हाम्रो यति राम्रो देश, यति सहनशील र कर्मशील नेपालीहरुका हातले १० बर्षमात्रै मेहनत गर्दा पनि हामीले हाम्रो देशलाई सम्पन्न र बिकसित देशको रुपमा उभ्याउन सकिहाल्छौँ । आध्यात्मिकताको बलियो जग भएकोले हामीकहाँको बिकास दिगो पनि हुन्छ ।

विश्वका सभ्यताहरु चहारीरहँदा कताकता हाम्रो देशलाई किन सम्पन्नतामा लान सकिएन भनेर चुकचुक लागिरहने । दिन, महिना र बर्ष गर्दै समय बितिरहेको छ । तर हाम्रो देश कसरी बनाउने भन्ने सोच नै नभएकाहरुको चंगुलमा परिरहेको र त्यसलाई चिर्न कठिन भइरहेको महसुस भइरह्यो । एकपटक अहिलेको चक्रलाई चिरेर नेपाली सोच र विश्व सभ्यताबीच समन्वय गर्न सक्ने नेतृत्व हुनासाथ सबै कुरा सही मार्गमा आइहाल्ने थियो । विश्वसभ्यतासँग अन्तरक्रिया गर्दै नेपाललाई नयाँ मार्गमा डोर्याउनका लागि अबिचल नेतृत्वको अपेक्षा देशले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्छः गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग

सरकारप्रति विश्वास र भरोसा नरहेकाले प्रधानमन्त्रीलाई राजीनामा दिन सांसद सापकोटाको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने

पूर्वराजालाई कांग्रेस सांसदको चुनौतीः यदि सत्तामा फर्किने हो भने ८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचनमा भाग लिएर