कठै मेरो भाग्य !
डा. गोविन्दशरण उपाध्याय ।
गाउँतिर जाउँ भने सरकारी ठेकेदारका डोजरले भत्काएर पहिरो गएका डाँडाकाँडा देखेर दिक्क लाग्छ, शहरमा बसौं भने फोहोरका डङ्गुरले मन पोल्छ । घरभित्र पस्यो भने टेलिभिजनबाट ‘बेथितिबेथिति’का समाचारले डर लाग्छ । अन्तिममा जोगिएको विस्तारामा निदाउँदा भष्टचारी नेता/कर्मचारीहरूको भूत आएर तर्साउँछ ।
गणतन्त्रका ठेकेदारले गाउँ पहाड खनेर पहिरो छिराएका छन् । जातजातिको नाममा छिमेकीप्रति छिमेकीको मनमा घृणाका बीऊ रोपिदिएका छन् । वर्गका लड्ने कार्लमार्क्स जातीय द्वन्द्वका विधाता बनेका छन् । मैले भोगिरहेको छु, गणतन्त्र नेतालाई स्वर्ग र गरीवलाई नर्कमा रुपान्तरित हुँदैन । तैपनि कठै ! हामी नेपालीको पुन्पुरो ! अर्को पटक पनि यिनैलाई भोट दिएर “रैती“ बन्ने तयारी गरिरहेका छौँ ।
कहिले प्रजातन्त्रका नाममा, कहिले समाजवादका नाममा कहिले गणतन्त्रका नाममा हामीलाई रैती बनाउने आए, हाम्रो आत्मविश्वास र भावनाहरूसंग खेलाँची गर्नेहरूमात्र आए । जतिपनि आए हामीसंग खेलाँची गरिरहेका छन् । तैपनि हामी विश्वास गर्छौं किनकि हामी विश्वासघातमा अभ्यस्त भैसकेका छौँ । हामी प्रगतिको सपनामा विश्वास गर्छौं, प्रगतिमा हाम्रो विश्वास छैन । फेरि पनि भोट यिनैलाई दिने छौँ ।
हामी भनिरहेका छौँ “सत्य देख्दैनौं, सत्य सुन्दैनौ र सत्य बोल्दैनौ । सत्यसँग घृणा गर्छौं र प्रगति होइन प्रगतिको सपना बाड्नेहरूसँग “सति“ जान्छौं । सत्य बोल्ने, सत्य देखाउने र सत्य बुझ्नेहरूसंग सधैं टाडा रहन्छौं ।