यसो गरेको भए बा’लाई हामीले पनि ‘आइलभ यू’ भन्न हुन्थ्यो



नारायण गाउँले ।
–बा’ले बालुवाटारकाण्डमा भूमाफियासँग सोझो सम्बन्ध र लाभ लिएका नक्कली सुकुम्बासी विष्णु पौडेललाई मुद्दा नै नचलाए पनि पार्टी र सरकारको जिम्मेबारीबाट हटाएको भए,

–क्षुद्र र भ्रष्ट गोकुल बाँस्कोटालाई छानबिनसम्म हुन नदिई उल्टो पुरस्कृत गर्ने गतिछाड़ा काम नगरेको भए,
–वाइडबड़ीदेखि ओम्नी काण्डसम्म निष्पक्ष छानबिन गराई केही विपक्षी र केही नजिककै नेता भए पनि कारबाही गरेको भए,
–सधैँ झूट, दम्भ र आत्मप्रसंशाको साटो विनम्रता र भद्रतापूर्वक सीमित साधनस्रोतले गर्दा देशका असीमित आवश्यकता पूरा गर्न नसकिएको स्वीकार गरेको भए,

–राष्ट्रपतिदेखि अख्तियार र संसदसम्मका संस्थालाई गोटीजस्तो बनाउने काम नगरेको भए,
–ऐतिहासिक भनिएको बाम एकतालाई बचाउन अलिकति लचिलो भएर सबैलाई समेट्ने र आवश्यक परे त्याग समेत गर्न सकेको भए,
–सुकुम्बासीको ठाउँमा सुरेन्द्र पाण्डे या कुनै विज्ञलाई अर्थमन्त्रालय दिएको भए,

–देउबा र महन्त ठाकुरहरूलाई दिएको भाउ र भाग आफ्नै दलका नेताहरूलाई दिएको भए,
–महामारी नियन्त्रणदेखि खोपसम्म कमिशनको लोभ नगरी आफ्ना भित्रिया मन्त्रीहरूको साटो विज्ञहरू राखेर टास्क फोर्स निर्माण गरी अघि बढेको भए,

–र, संसदलाई बाँदरको पुच्छर जस्तो नबनाई सबैलाई समेटेर अघि बढ्ने चरित्र देखाएको भए,
बा’लाई हामीले पनि आइलभ यू भन्न हुन्थ्यो,

–शारीरिक स्वास्थ्य कमजोर हुँदा पनि निरन्तरको खटाइका लागि,
–विखण्डनकारी सीके रावतदेखि विद्रोही विप्लवसम्मलाई डिफ्यूज गर्ने कार्यका लागि,

–नक्सा छाप्ने कामदेखि पछिल्लो समय उद्घाटनमोहकै लागि भए पनि राष्ट्रिय आयोजनालाई अद्भुत गति दिने कामका लागि,
–र, होलीवाइन काण्डजस्ता गल्ती भए पनि पछिल्लोपटक राष्ट्रिय स्वाभिमान र संस्कृतिको उत्थानमा देखाएको अभिरुचिका लागि !

ओलीका सबै गल्ती क्षम्य होलान् तर भ्रष्टाचारलाई संस्थागत गर्ने र भ्रष्टलाई कारबाहीको साटो उल्टो पुरस्कृत गर्ने प्रवृत्ति भविष्यमा पनि घातक सिद्ध हुनेछ । ओलीले गर्न हुने, हामीले किन नहुने भन्नेहरूको कमी हुने छैन । आफैले गरेका त्यत्रा आमसभा, बनिनसक्दैका उद्घाटन र बालुवाटारका दिनहुँजसो सयौं कार्यकर्ताको भीड़लाई एक वचन आत्मालोचनासम्म नगरी जनताकै लापरबाहीले गर्दा कोरोना फैलिएको भन्न सक्ने हदको दम्भ र घमण्ड पनि अक्षम्य नै हो ।

बाँकी त, पार्टी तिनै हुन्, नेता तिनै हुन्, जनताको खोलमा कार्यकर्ता तिनै हुन् र देश त्यही हो । ओलीले सधैँका लागि रात पारेको र अब घामैं घाम हुने पनि होइन, यतिन्जेल ओलीले काँध थापेकाले देश धानिएको र अब भुइँमैं थेचारिने पनि होइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा

झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा