इतिहासको पुनर्लेखन !



डा. गोविन्दशरण उपाध्याय ।
इतिहासका पुस्तकहरू खोलेर पढ्दा दिक्क लागेर आउँछ, मन, बुद्धि विचलित हुन्छ । मनले प्रेम, सहयोग, सहकार्य, सन्तोष, सुख र आनन्द चाहन्छ भने बुद्धिले सधैं विवेकशील र न्यायपूर्ण सहअस्तित्व चाहन्छ । मान्छेले लेखेका इतिहासमा सङ्घर्ष, विद्रोह, घृणा, लूटपाट, हिंसा, विध्वंश तथा हत्याका प्रसंगहरूलाई समेटेर इतिहास भनिएको छ ।

मलाई लाग्छ, आधुनिक इतिहासकारहरूको बाल्यकाल सधैं हेपाई, घृणा र सङ्घर्षमा वितेको हुनुपर्छ । नत्र मस्तिष्कले सधैं आक्रमण, विद्रोह, दमन, विध्वंश र विनाशका तत्थ्यहरूमात्रै खोज्ने र तिनैलाई मात्र “इतिहास“ भनेर पस्कने किन गर्थ्यो ? मेरो सरल मस्तिष्कमा किन आफ्ना पूर्वजहरू “केवल सङ्घर्ष“ गर्थे, सधैं जित्नका लागि मात्र लालायित रहन्थे भन्ने पूर्वाग्रहपूर्ण छाप किन पर्थ्यो ?

इतिहासकारले मानव विश्वलाई “सङ्घर्ष र विद्रोह“को इतिहास हो भन्नुको सट्टा सहकार्य र सहयोगको भनेको भए विश्व फरक हुन्थ्यो । अहिलेको मानवीय संस्कृति, सभ्यता तथा तथा विकासको निर्धारणमा विद्रोह, सङ्घर्ष र घृणाभन्दा सहकार्य, सहयोग. मित्रता. मिलन तथा विचार साटासाटको परिणाम हो । सङ्घर्ष र घृणाले विनाश निम्त्याउँछ । सहकार्य र मित्रताले निर्माण र प्रगतिको जग बसाल्छ । इतिहासले मान्छेको कोमल भावना नकारात्मक चेतना भर्ने जघन्य अपराध गरेको छ ।

ऋग्वेदमा सङ्घर्ष, घृणा, विद्रोहका प्रसंगहरूका तुलनामा परस्पर मित्रता, अनुराग, खोज, निर्माण र जिज्ञासाका प्रसंगहरू छन् । यज्ञको एउटा अर्थ निर्माण हो, जिज्ञासा हो, कर्म हो । वेद ज्ञानको इतिहास हो, हिंसा तथा सङ्घर्षको होइन । चारैवेदका प्रारम्भिक र अन्त्यका ऋचाहरूले प्रेम, सहकार्य र सहयोगको संदेश दिन्छन् । यदि सभ्यताको विकास हिंसा, सङ्घर्ष र घृणाबाट हुँदो हो त घृणाको, अशान्तिको, बिद्रोहको प्रशंसा हुन्थ्यो । उपनिषद र पुराणहरूको विशाल रचना नै शान्ति, सहकार्य र मित्रतापूर्ण सामाजिक संरचनाको परिणाम होइन र ?

हाम्रो मष्तिस्कमा महाभारत भन्दा साथ “कुरूक्षेत्र“मा भएको रक्तपात पूर्ण युद्धको सम्झना आउँछ । मैले दूई पटकसम्म महाभारत पढें । महाभारतको चारवटा पर्वहरूमा मात्र “कुरुक्षेत्र“लडाई वारे बखान आउँछ । बाँकी १४ वटा पर्वहरू साहित्य, कला, इतिहास, ज्ञान–विज्ञान, ज्योतिष, दर्शन, तन्त्रमन्त्रआदि विषयहरूको परिचर्चामा समर्पित छ । महाभारत नामक पुस्तक भित्र “युद्ध“ एउटा इतिहासको बखान हो । महाभारतको पुस्तकले हिंसाको इतिहासलाई न प्रोत्साहित गर्छ, न युद्धलाई महिमाकृत गर्छ ।

राजाहरू एकआपसमा युद्ध गर्थे । वीर, महावीरको उपाधि ग्रहण गर्थे तर प्रमाणिक ऐतिहासिक गन्थ “राज तरंगीणी“मा समेत युद्धको निन्दा गरिएको छ किनभने युद्धले पीडा, विनाश, घृणा, क्रोध, गरिवी तथा अव्यवस्था वाहेक केही दिंदैन । युद्धको फल विनाश हो विकास कत्ति पनि होइन । यदि कसैले “युद्ध“नै पुनर्निर्माणको आरम्भ हो“ भन्ने ठान्छ भने त्यो व्यक्ति वा विचार “घृणा, हिंसा, उन्माद, मानसिक असन्तुलन“को सन्तान हो ।

विश्वको इतिहास युद्ध, विद्रोह, घृणा र अशान्तिको ऐनाले बुद्ध सकिन्न । हो, विश्वमा युद्धहरू, विद्रोहहरू घटित भएका तर आजको विकसित, उन्नत तथा प्रबुद्ध विश्वको निर्माणमा उपरोक्त घटनाहरुको कुनै योगदान छैन । आजको समाजले जे–जति प्रगति, उन्नति तथा दक्षता प्राप्त गरेको छ, यो सबै शान्ति, सहकार्य, प्रेम, धैर्य, जिज्ञासा तथा सद्भावनाका परिणाम हुन् । युद्ध र घृणाको महिमा गाएर लेखिएका इतिहासका धेरै पाना सधैंका लागि आगोमा फाल्नु जरूरी छ ।

सन् १८४८ मा कम्युनिष्ट मेनिफेस्टो प्रकाशित भयो र मान्छेले “पूँजी“ पढ्न थाले । “पूँजीले“ सङ्घर्ष र प्रतिसङ्घर्षलाई नै प्रगति र विकासको आधारको रूपमा प्रस्तुत गर्यो । बर्ग र बर्गसङ्घर्षलाई “इतिहास“का रूपमा अगाडी सारेर सङ्घर्ष,विद्रोह, अधिकारनै इतिहास हो भन्ने परम्परा कायम गरियो । प्राचीनकालदेखि नै पश्चिमा जगतमा भएका हिंसा, सङ्घर्ष विश्वासघातहरूको निरन्तरता थियो । त्यसपछि इतिहासमा हिंसाले आश्रय र ख्यातिप्राप्त गर्यो ।

साम्यवाद र पूँजीवादको “रक्तरञ्जित“ इतिहासको लेखन र सङ्घर्षलाई स्तुति गर्ने चलन “पूंजीवाद र साम्यवाद“ शब्द र व्यबहारहरू स्थापित भएपछि आरम्भ भएका हुन् । साम्यवाद र पूँजीवादको घृणा र हिंसक सङ्घर्षका रक्तिम छिटाहरूले आगामी मानिसको ज्ञान नै दुषित भयो । इतिहास लेख्दा शान्तिलाई होइन “युद्ध र हिंसा“ इतिहास भन्ने परिपाटी बसालियो । मान्छेलाई एकआपसमा लड्न प्रोत्साहित गरियो ।

आजको समाजले अलिअलि उपरोक्त जालझेल बुझ्न थालेको छ । युद्धहरूको इतिहास भन्दा शान्तिहरूको इतिहास महत्वपूर्ण हुन्छ भन्ने तत्थ्य आत्मसात गर्न थालेको छ । समाजहरू वर्गसङ्घर्षले होइन वर्गमित्रता, सहकार्य र सहयोगले निर्मित भएकोले मानव–सामाज आजको मितिमा प्रगतिशील छ भन्ने तत्थ्य प्रमाणित हुँदैछ । अबका इतिहासका विद्यार्थीहरूले इतिहासमा बर्गसङ्घर्षको थोरै वर्गमित्रताको धेरै इतिहास लेख्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ