एकीकरण जरूरी थियो भने एकीकरणको पहिलो इँट्टा राख्नेलाई सम्मान गरौँ
नारायण गाउँले ।
आफ्नो जन्म ‘योजनाबद्ध प्रयास’ थियो या थिएन भनेर हामी आमाबुबालाई सोध्दैनौँ ! कति जन्म बिना-योजना नै हुन्छन् तर योजनाबद्ध नभएकाले आदर गर्दिन भनेर सन्तानले भन्दैन !
हो, पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गर्दै गर्दा सिङ्गो नेपालको चित्र उनको मनमा थिएन होला, टुक्रा-टुक्रा हुँदा भोलि अंग्रेजजस्तै अर्को बाह्य शक्तिले सजिलै निल्न सक्छ भन्ने दूरदृष्टि थिएन होला ।
तर कार्लमार्क्सलाई पनि त उनकै नाम बेचेर नेपालमा कम्युनिस्ट नामको सत्ता आउँछ भन्ने सोच शायदै हुँदो हो । मार्क जुकरबर्गले फेसबुक नामको एउटा वेवसाइट बनाउँदा होस् या इलोन मस्कले विद्युतीय गाड़ी टेस्लाको घोषणा गर्दा होस्, यसरी विश्व नै निलेर सबैभन्दा धनी बन्ने सपना बोकेका थिएनन् । तर, के तिनलाई क्रेडिट नदिने ? अलेक्जेन्डर फ्लेमिंगले योजनाबिनै आविष्कार गरेको पेनिसिलिन विश्वमा सबैभन्दा महत्त्वपूर्ण औषधि आविष्कार मानिन्छ । शायद हामीमध्ये धेरै यो औषधि ढिलो आविष्कार भएको भए यहाँ हुने थिएनौं । के उनलाई यस्को श्रेय नदिने ? आज दशौं तलामा बस्छु भनेर भुइँ तल्ला बनाउनेलाई जस नदिने ?
आजको नेपालको सीमारेखामाथि श्रद्धा र गौरव छैन या विश्व नागरिकका रूपमा स्वतन्त्र बाँच्न चाहन्छु भन्नेलाई मेरो टिप्पणी छैन तर जसलाई नेपाल र नेपाली भएकोमा गर्व छ, उसलाई यसको जग बसाल्नेप्रति सम्मान नहुनु दुर्भाग्यपूर्ण छ ।
स्वतन्त्रताको नाममा घरको भित्तो नै फोड्ने बाटोमा नहिँडौं ! कि बाइसे-चौबीसे राज्य नै ठीक थियो र अहिले पनि त्यसको सम्भाव्यता छ भनेर वकालत गरौँ, होइन, एकीकरण जरूरी थियो भने एकीकरणको पहिलो ईंटा राख्नेलाई सम्मान गरौँ ।
पृथ्वीजयन्तीको शुभकामना !