नेपाल यसरी बन्न सक्छ “प्रथम”



डा.गोविन्दशरण उपाध्याय

एकजना प्रसिद्ध लेखक तथा नेपाली राजनीतिज्ञलाई मैले र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक निर्मलमणि अधिकारीले लेखेको “राज्यराष्ट्र : अवधारणा र सिद्धान्त” नामक पुस्तक भेट गरें | उनले सरसरी हेरे र प्रतिक्रिया दिए “नेपाली भएर पनि यत्रो आँट गर्ने ?” त्यसपछि हामी बीच निकै छलफल चले | छलफलको सारांश थियो – नेपालमा मार्क्सवादको नेपालीकरण भएको छ | नेपालमा खाट्टी भौतिकवादले काम गर्दैन | आधारभूत रूपमा नै नेपाल अध्यात्मप्रधान भएको कारणले उस्तै परे मार्क्सवादको पनि अध्यात्मिकीकरण हुन्छ | मार्क्सवाद विज्ञानमा आधारित छ तर विश्वमा किन तिरस्कृत भयो बुझ्न सकिएको छैन | संचारको विकासले विश्व सानो भएको छ, अव केवल मार्क्सवाद मात्र विज्ञान सम्मत छ भनेर हिँड्न गारो छ | नेपालमा मार्क्सवाद टिकाउन पनि धर्म, संस्कृति तथा सभ्यताको प्रचारप्रसार गर्नैपर्छ |”

नेपालमा खाट्टी भौतिकवादले काम गर्दैन | आधारभूत रूपमा नै नेपाल अध्यात्मप्रधान भएको कारणले उस्तै परे मार्क्सवादको पनि अध्यात्मिकीकरण हुन्छ |

अहिले राजनीति, अर्थ र विज्ञानको क्षेत्रमा युरोपेली प्रतिमानहरूको बलियो पकड छ | यसका लागि युरोपेलीहरूको “कोलोनी” नीति जिम्मेदार छ र अहिले पनि त्यसकै बर्चश्वको ब्याज प्राप्त गरिरहेका छन् | भारत र नेपालजस्ता मुलुकहरू उनीहरूको प्रत्यक्ष शासन/प्रशासन भित्र त छैनन् तर उनीहरूको बैचारिक वर्चश्व छ | मैले भने “राज्यराष्ट्र नेपालको मौलिकतासंग गाँसिएको छ | यो विश्वमा फैलिनु भनेको पश्चिमाहरूको एकाधिकार तोड्नु हो |” मैले भनें “कार्लमार्क्स युगजयी विद्वान थिए तर नेपाल र नेपालीका लागि उनी विदेशी नै हुन् | कार्लमार्क्सले चाहेर पनि नेपालीपनको अर्थ र आवस्यकता बुझ्न सक्दैनन् | उनीले सधैं जर्मन भएर नेपाललाई बुझ्नुपर्ने हुन्छ | अव हामी नेपालीले नेपाललाई आफ्नै बुद्धिले बुझ्ने र विश्वभरी फैलाउने काम गर्नुपर्छ” | उहाँ असहमत हुन सक्नुभएन तर उहाँका आँखाले आफ्नै नेपाललाई विश्वास गर्न नसकेको प्रस्ट अनुभव गर्न सकिरहेको थिएँ |

कार्लमार्क्स जर्मन नागरिक हुन् | उनले प्रतिपादन गरेको साम्यवादी सिद्धान्त जर्मनमै स्वीकृत हुन सकेन | जहाँ-जहाँ स्वीकार गरियो, विकासका तुलनामा जडसूत्रवादको जङ्गलमा अल्झियो | संसारमा मार्क्सवाद लोकप्रिय भएझैं यसमा आधारित राज्यब्यबस्थाहरू सफल हुन सकेनन् | नेपाली समाजमा कार्लमार्क्सको सिद्धान्त निकै लोकप्रिय छ | आजको मितिमा कुरा गर्ने हो भने नेपालको साहित्य, निजामति, शिक्षा तथा राजनीति जताततै यसको बर्चश्व छ | त्यसैले होला नेपाली राजनैतिक सरोकारवालाहरू बीच विज्ञान, वैज्ञानिकता र दर्शनशास्त्र शब्दहरूको प्रयोग बढेको छ |

संसारमा मार्क्सवाद लोकप्रिय भएझैं यसमा आधारित राज्यब्यबस्थाहरू सफल हुन सकेनन् |

जतिधेरै शब्दहरूको प्रयोग बढेको छ त्यसका तुलनामा विज्ञानको अनुसन्धान होस् वा शैक्षिक सवलिकरण होस् वा राजनैतिक शुद्धिकरणतिर सरोकारवालाको पटक्कै ध्यान छैन | साम्यवादको वहस झांगिए पनि शैक्षिक सवलिकरणको क्षेत्र निरन्तर अधोगतितिर छ | मार्क्सवादलाई शिक्षा, संस्कृति, साहित्य, दर्शनशास्त्र, मनोविज्ञान, राजनीति तथा अन्य ब्यबहारिक विधाहरूभित्र छिराउँदैमा देशको प्रगति हुँदैन | हो, जसजसले आफुलाई मार्क्सवादी भनेर चिनाउन रुचाउँछ, उनीहरूको आत्मरति बढ्ने छ |

मेरा लागि कार्लमाक्स, लेनीन, एन्गल्स, माओआदि आदरणीय व्यक्तित्व हुन् | उनीहरूको चिन्तनको छाप नेपाली भित्ताहरूमा सजिलै देख्न सकिन्छ | यी चरम नास्तिकहरूको मूर्तिमा फूल अर्पण गरिन्छ | आज कै मितिको कुरा गर्ने हो भने मार्क्स, एंगेल्स, लेनीन र माओ (केही) नेपालीहरूका लागि बुद्ध, ने-मुनि, पृथ्वीनारायण शाह भन्दा पनि बढी महत्वपूर्ण छन् | यी (केही) ले स्वदेशी बुद्ध त्याग्न सक्छन् तर यी विदेशी महात्माहरूलाई त्याग्न सक्दैनन् बरू बुद्धलाई नै मार्क्समा रुपान्तरित गरेका छन् | केहीले आफुलाई मार्क्सवादी बौद्ध भनेर चिनाउन थालेका छन् | विवेकानन्द, गांधी, राधाकृष्णन् निसन्देह विद्वान छन्, वन्दनीय छन् तर उनीहरूको पहिलो प्राथमिकता नेपाल कहिल्यै पनि हुने छैन किनभने उनीहरू भारतीय हुन् | भारत उनीहरूको मातृभूमि हो | नरेन्द्र मोदीले नेपाललाई जतिसुकै माया गरे पनि भारत उनको लागि पहिलो प्राथमिता हो | मैले भनेँ “नेपाल प्रथम”का लागि यो किताव लेखिएको हो | जव सम्म हामीले नेपाल केन्द्रमा राखेर सोच्दैनौँ, लेख्दैनौं, बोल्दैनौं, ब्यबहार गर्दैनौं, हरेक नेपालीलाई आफ्नो ठान्दैनौं – हामीले नेतृत्व लिन र दिन सक्दैनौं | आफ्नोलाई माया गर्न नसक्नेले सधैँ अर्कोको मुख ताक्छ | जसले आफ्नोलाई माया गर्छ, उसले अर्कोलाई माया गर्न सिकाउँछ |”

विवेकानन्द, गांधी, राधाकृष्णन् निसन्देह विद्वान छन्, वन्दनीय छन् तर उनीहरूको पहिलो प्राथमिकता नेपाल कहिल्यै पनि हुने छैन किनभने उनीहरू भारतीय हुन् |

राजा पृथ्वीनारायण शाह र योगी नरहरिनाथहरूको फोटोमा युरोप, अमेरिकाका राजनैतिज्ञहरूले विनम्रतापूर्वक माल्यार्पण गरेको हेर्न मन छ | तर उनीहरूले पूजा गर्नुभन्दा अगाडी नै हामीले उनीहरूको महत्व बुझेर सम्मान गर्न उचित हुन्छ | नत्र यसमा पनि हामी पिछलग्नु नै ठहरिने छौं | यो रहरमा आजका कति नेपालीले साथसहयोग गर्लान् भन्न सकिन्न तर मैले मेरो देशका महापुरुषहरूको सम्मान विदेशमा भएको देख्न चाहन्छु किनभने यी महापुरुषहरूले त्यस वखतका युरोपेलीहरूले सोच्नै नसक्ने काम गरेर देखाएका छन्, जसको फल हामीले प्राप्त गरिरहेका छौँ | राजा पृथ्वीनारायणले नेपालीहरूलाई एकठाउँमा उभिन सल्लाह दिएका हुन् भने नरहरिनाथ योगीले पहाड, तराई र हिमालले भरिपूर्ण विशाल नेपालमा पैदल हिडेर नेपाल खोजेका थिए | आजसम्म योगी जस्तो नेपाल खोज्ने वीर अर्को भेटिएको छैन |

पृथ्वीनारायण शाह र नरहरिनाथको नेपाल सजिलो थिएन | हामीले सधैं विदेशी सिद्धान्तकारहरूको पुच्छर बन्नुभन्दा आफ्ना सिद्धान्तकारहरूको बौद्धिकता विश्वमा फैलाउने प्रयन्त किन नगर्ने ? आज बुद्ध विश्वब्यापी भएको हाम्रो कारणले होइन, गोराहरूले बुद्धका विषयमा चासो देखाएका कारण हो | यदि उनीहरूका विचार र व्यक्तिहरू वैस्विक हुन् सक्छन् भने एकजना नेपाली गोविन्द वा निर्मलले पनि वैस्विक हुने क्षमता राख्छ | असल कुराहरू विश्वबाट लिनुपर्छ तर आफ्ना असल कुराहरू विश्वसामु निर्भय भएर पस्कनु पनि पर्छ | उनीहरू यतिबिध्न बाठा छन् कि हाम्रोमा भएका नराम्रा कुराहरू त लिँदै लिदैनन् | धर्म मात्र विषय होइन, नरहरी नाथ हिन्दू थिए तर उनले इतिहास खोज्ने काम गरे |

मेरो देशका महापुरुषहरूको सम्मान विदेशमा भएको देख्न चाहन्छु किनभने यी महापुरुषहरूले त्यस वखतका युरोपेलीहरूले सोच्नै नसक्ने काम गरेर देखाएका छन्, जसको फल हामीले प्राप्त गरिरहेका छौँ |

विदेशीहरू भन्ने गर्छन् – नेपालीहरूले अनुसन्धान तथा नक्कल दुवै थोक बडो परिश्रमसँग गर्छन् | अबको पहिचान अनुसन्धानबाट निर्मित हुनुपर्छ | नक्कल रोक्न सकिन्न तर यो शिथिल हुनुपर्छ | यो थोरै कुरा गर्ने धेरै काम गर्नेहरूको हो | यदि हामीले सानो तर महत्वपूर्ण काम गर्यौं भने पनि सञ्चारको सुविधाले त्यसलाई क्षणभरमा विश्वव्यापी बनाइदिन्छ | हामीले मौलिकतामा आधारित भएर गरेका कार्यहरू विश्वभरी प्रशंसनीय हुन्छन् | हामीले नजरिया वदल्नुपर्छ | विज्ञानको क्षेत्रमा पश्चिमाहरूले गरेको प्रगति लोभ लाग्दो छ तर सांस्कृतिक, सामाजिक, आध्यात्मिक र सिद्धान्तहरूको तहमा हामी नेपालीहरू अब्बल छौँ | एसको कारण हो – हाम्रा पूर्खाहरूले लेखेका लाखौंलाख पुस्तकहरू जसमा शिक्षाका सबैजसो विधाहरू समेटिएका छन् | चिकित्सा, भूगोल, साहित्य, ब्याकरण, दर्शनशास्त्र, मनोविज्ञानजस्ता विधाहरूमा लेखिएका प्राचीन पुस्तकहरू स्रोतका रूपमा उपलब्ध छन् | एतिबिध्न हुँदाहुँदै पनि हामीले केवल पराईस्रोत मात्र ताकिरहेका छौँ भने दोष हामी छ |

विज्ञानको क्षेत्रमा पश्चिमाहरूले गरेको प्रगति लोभ लाग्दो छ तर सांस्कृतिक, सामाजिक, आध्यात्मिक र सिद्धान्तहरूको तहमा हामी नेपालीहरू अब्बल छौँ |

नेपाल र नेपालीका पक्षमा लेख्दैगर्दा कहिलेकाहिं “म बढी नै पूर्वाग्रही भएँ कि” भन्ने सोच पनि आउँछ | हो, एउटा रैथाने नेपालीको नाताले मभित्र केही पूर्वाग्रह अवश्य छ तर निरापद छैन | पूर्खाले निर्माण गरेका मन्दिर, चैत्य, गुम्वा, पाटी-पौवा र लेखेका अमूल्य सृजनाले भरिपूर्ण असंख्य कितावहरूको डङ्गुर देखेर र बुझेर मभित्र स्वाभिमान जागेर आउँछ | अंग्रेजीलाई महत्व दिनु अनुचित होइन तर अंग्रेजीमा मात्र विज्ञान, साहित्य, दर्शन, विज्ञान हुन्छ भन्ने मानसिकता चैं अनुचित हो | प्रा. दयानन्द बज्राचार्य नेपालका स्वनामधन्य बैज्ञानिक हुन्, उनले जर्मनीमा विद्यावारिधि गर्दा विज्ञानका शब्दहरू जर्मनीमा जान्ने पर्ने हुँदा बडो परिश्रम गर्नु परेको उल्लेख गरेका छन् | संस्कृतमा लेखिएका असंख्य श्रोत ग्रन्थहरूमा प्रवेश नै नगरी अबैज्ञानिक भन्नेहरू आत्मघाति हुन् |

अंग्रेजीलाई महत्व दिनु अनुचित होइन तर अंग्रेजीमा मात्र विज्ञान, साहित्य, दर्शन, विज्ञान हुन्छ भन्ने मानसिकता चैं अनुचित हो |

विश्वमा केही यस्ता मान्छे पनि हुन्छन् जसलाई “मपाई” वाहेक मन पर्दैन | आफ्ना वरिपरी मपाईंहरूको जालो बनाउँछन् | यस्ता मान्छेहरूमा केवल नकारात्मकता वाहेक केही हुँदैन | सिद्धान्त निर्माण नभई ब्यबहार निर्मित हुँदैन तर बौद्धिक परजीवीहरू अर्कामा आफ्नो मपाईं लादेर खुसी हुन्छन् | मेरो चिन्ता ती मपाईहरूसंग छ | बौद्धिक परजीवीहरूमा एउटा ब्यबहारमा ठूलो समानता हुन्छ – जसरी भए पनि अरूलाई प्रयोग गर, प्रयोग गर्न नसकिनेलाई नजिक पनि पर्न नदेऊ | हाम्रा ऋषिमुनिहरूले सपना देखेको विश्वमा मपाईंहरूलाई कुनै ठाउँ छैन | “अहं ब्रह्मोस्मि” तथा ईशावास्यमिदं विश्वम्”को विशालतामा क्षुद्रता बर्जित छ | “उदार चरितानां तु बसुधैव कुटुम्वकम्”को चेतना मभित्र व्याप्त होस् र ऋषि सन्तानका रूपमा मैले ऋषिधर्म पालन गर्न सकूँ | आफ्नो सनातन जरोकिलो आफ्नै हातले काट्न खोज्नेहरू पराभूत हुनेछन् | ऋषिसन्तानका रूपमा नेपाल विश्वभरी नै चम्कने छ | “सत्यमेव जयते”को वास्तविक चरित्र नेपालबाट फैलिने छ |

स्वस्तिअस्तु

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अध्यक्ष पद दिने समूहमा जाने’ भनेको होइनः वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको विषयमा सार्वजनिक समाचारप्रति उनको

संसद विघटनको विरोधमा नेपाली कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ

‘भ्याक्सिनबारे फेसबुकमा दुई/चार पोस्ट पढेकै भरमा नकारात्मकता फैलाउनु जरूरी छैन’

नारायण गाउँले । भ्याक्सिनका लागि धनी देश लड़िरहेको बेला भारतले नेपाललगायत केही छिमेकीलाई

प्रतिगमनविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने प्रचण्डको उद्घोष

चितवन । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ