आमा



आमा

महिनावारी रोक्किएर, वाक्क-वाक्क गर्दै,
भर्खर फोलिक एसिड खान सुरु गरेका,
लाजले भरिएका ती अनुहारमा आमालाई देख्छु।

गर्भवती भएर, दुईटा जिउको भार बोक्दा,
मातृत्वको सुन्दरतासँगै झल्किएको त्यो,
कालो पोतोले भरिएको अनुहारमा आमालाई देख्छु।

सुत्केरी ब्यथाले च्यापेर प्रसब कक्षमा रुँदै,
आमा बन्न आमा भन्दै आमालाई नै गुहार्ने,
असिन पसिन भएका अनुहारमा आमालाई देख्छु।

अनि बच्चा रोएको आवाज सुन्नेबित्तिकै,
आफ्नो सुत्केरी व्यथाको पीडा बिर्सिएर,
मुस्कुराउन नबिर्सिने अनुहारमा आमालाई देख्छु।

जन्मिएपछि नियमित खोप लगाउन पर्दा,
बच्चालाई थाहै नहुने सानो सुई लगाउँदा,
आफैंलाई दुखेझैं गर्ने अनुहारमा आमालाई देख्छु।

शरीर छाम्दा अलि-अलि तातो छ भनेर,
ज्वरो नहुँदा पनि, इमर्जेन्सी दौडाइहाल्ने
व्यग्र अनि व्याकुल अनुहारमा आमालाई देख्छु।

एकचोटि बान्ता गर्दैमा वा थोरै खोक्दैमा,
रातिको तीन बजे पनि हस्पिटल ल्याउने,
चिन्तित अनि उत्सुक अनुहारमा आमालाई देख्छु।

हट्टाकट्टा, एकदम स्वस्थ बच्चा लिएर आएर,
बच्चाले किन थोरै खान्छ भन्ने चिन्ता लिँदै,
बारम्बार प्रश्न सोध्ने अनुहारमा आमालाई देख्छु।

काम ज्वरो आएको बच्चा काँखमा च्यापेर,
आँखा पल्टायो अनि फिज निकाल्यो भन्दै,
आत्तिँदै आएको रुञ्चे अनुहारमा आमालाई देख्छु।

चोटपटक लागेर काटेको बच्चा आउँदा,
घाउ सफा गर्ने बेला,रगत बगेको देखेर,
छेउमै बेहोस हुने ती अनुहारमा आमालाई देख्छु।

सुई लगाएर, काटेको घाउमा टाँका लगाउँदा,
आत्तिएर बच्चा रोयो भने,
मलाई गाली गर्ने ती अनुहारमा आमालाई देख्छु।

घरमा अर्को बच्चा एक्लै छाडेको छु भन्दै,
भर्ना भन्दा, खाने औषधि मिलाइदिनु भन्ने,
दूरदर्शी ममतामयी अनुहारमा आमालाई देख्छु।

बच्चा ठीकै छ, औषधि लिएर घर जानुभन्दा,
औषधिले पक्का ठीक हुन्छ भन्दै प्रतिप्रश्न गर्ने,
स्वास्थ्यप्रति संवेदनशील अनुहारमा आमालाई देख्छु।

निमोनियाले कोखा हान्दै गरेको बच्चालाई,
बाफ लगाइदिनु, अक्सिजन लगाइदिनु भन्दै,
काम गर्न अत्याउने अनुहारमा आमालाई देख्छु।

सिरियस बच्चालाई, वार्डमा उपचार गाह्रो छ,
आइसियु चाहिन सक्छ, अन्तै लैजानुभन्दा,
होस-हवास उडेका ती अनुहारमा आमालाई देख्छु।

जन्मजात कठिन रोग लागेको बच्चा च्याप्दै,
उपचार नभए पनि बारम्बार हस्पिटल धाउने,
आशले भरिएका ती अनुहारमा आमालाई देख्छु।

झार-फुक गरेरै सिरियस बनाएर ल्याउँदा,
कोसिस गर्छु तर ल्याउन ढिलो भयो भन्दा,
रुँदै अनुनय विनय गर्ने अनुहारमा आमालाई देख्छु।

बेहोस भनेर ल्याएको बच्चा मृत घोषणा गर्दा,
मेरो पाखुरामा झुन्डिएर केहि गर्दिनुस् भन्दै,
भित्तामा टाउको ठोक्ने अनुहारमा आमालाई देख्छू।।

 

सागर बिष्टकाे फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनका टुक्राहरू

डा. गोविन्दशरण उपाध्याय । त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको

जापानबाट काठमाडौँका घरबेटीलाई खुला पत्र

रविन श्रेष्ठ । प्रिय घरबेटी बा, कोरोना महामारीले विश्वमा मानव जीवन नै संकटमा

सरकार हाम्रो उद्दार गरिदेउ, खर्च आफैं बेहोर्छौं

नमस्कार माननीय सांसद ज्यू म माल्दिभ्सको एउटा टापुमा काम गर्ने एउटा गरिब परिवारको

भूकम्पको पाँच बर्ष

डा. रवीन्द्र पाण्डे । २०७२ साल बैशाख १२ गते बार्पाक केन्द्रबिन्दु भएर आएको