अन्तरजातीय विवाह नै किन ?



महेश श्रेष्ठ

केही समय अघिसम्म फरक नश्लका मानिसहरू जैविक रूपमै पृथक हुन्छन् भन्ने मान्यता थियो । आफ्नो वंशको रगतलाई विशुद्ध राख्ने हवालाका नाममा अरु नश्लका मानिससँगको विवाह समाजिक रूपमा बहिस्कृत मात्रै थिएन, कानूनतः त्यस्ता कार्यलाई अपराध मानेर कठोर याताना दिने, मृत्युदण्डसम्म दिने काम हुन्थ्यो ।

संसारमा केही नश्लका मानिसलाई उच्च समुदाय र अरु नश्ललाई निच समुदाय मानेर धेरै मानिसका कत्लेआम गरियो । यही विभेदका कारण विश्वका अनेकन स्थानहरूमा अनेकन समयमा युद्धहरू भए । अनेकन विद्रोहहरू भए ।

काला नश्लका मानिसलाई दासका रूपमा आयात गर्ने, केही मुलकहरूले अर्को मुलुकमाथि कब्जा गरि सैनिक तथा केही सरकारी मानिसहरू खटाउने, ईस्ट इन्डिया कम्पनी मार्फत ब्रिटिस साम्राज्यको विस्तार, अनि युद्धबाट विस्थापित भएकाहरूका कारण फरक नश्लका आमाबुबाबाट बच्चाहरू जन्मने शुरुवात भएको हो ।

अपवादका रूपमा ब्राजिल ( जहाँ चौधौं सताब्धीको मध्यबाटै भिन्न वर्ण समुदायका मानिस बीच विवाहमा बन्देज थिएन । अहिले ब्राजिलमा ८५% देखि ९०% मानिस बहु नश्लीय हुन् ) बाहेक विश्वभर फरक नश्लका आमाबुबाबाट जन्मेका मानिसहरूलाई आमा र बुबा दुवै तिरको समुदायले नस्वीकार्ने अवस्था मात्र थिएन ।

राज्यले विभिन्न समाजिक र मानसिक यातना दिने र विभेद गर्दै आएकोमा एकाध दशक अघिबाट भने विश्वभर समाजिक र कानुनी रूपमा यस्ता विभेदहरू क्रमशः कम हुँदैछ । फलस्वरूप आज विश्वभर यस्ता मानिसहरूको जनसङ्ख्या दिन प्रतिदिन बढ्दैछ ।

चाल्स डार्विनले सन् १८५९मा नै इभोलुसनको सिद्धान्त मार्फत सबै मानव जातिका पुर्खा एकै हो भन्ने तथ्य सार्वजनिक गरेका थिए । पछिल्लो समयमा जिनेटिक साइन्सका खोजकर्ताहरूले ‘Y’ क्रोमोजोममा देखिएको परिवर्तनलाई आधार मानेर खोज गर्ने क्रममा गज्जबको दावी गरेका छन् ।

कतिसमय अघि थिए भन्ने कुरामा विवाद कायमै भएतापनि विश्वका सबै मानिसको बुबा र आमा एकै थिए भनेर वैज्ञानिकहरूले दाबी गरेका छन् ।

केही समय अगाडिसम्म विभिन्न नश्लका मानिस जिनेटिक रूपमै भिन्न हुन्छन् भने मान्यत व्याप्त थियो । तर जिनेटिक साइन्सको खोजसँगै फरक फरक छालाका रंङ, अनुहारका बनावट, खानपान, रहनसहन र बासस्थानका बाबजुत सबै नश्लका मानिस एकै हुन् भन्ने निश्कर्षमा बैज्ञानिकहरू पुगे ।

जेनेटिक साइन्सका अनुसार एक नश्ल र अर्को नश्लका मानिसका ‘DNA’ मा केवल ०.०१% मात्रै भिन्नता हुन्छ । विभिन्न नश्लका मानिस बिचमा देखिने भिन्नता जेनेटिक मात्रै नभई समाजिक रहनसहन, खानपान, भौगोलिक र मौसमी अवस्था लगायतका कारणले हुन् ।

कुरा यतिमा मात्रै सीमित छैन, मिश्रित नश्लबाट जन्मेका मानिस ‘Hetero Zygus’ एउटै नश्लका आमा बुबाबाट जन्मेका मानिस ‘Homo Zygus’ भन्दा निरोगी, मानसिक र शारीरिक रूपमा सक्षम, विलक्षण प्रतिभावान, सुन्दर र तनाव सहन सक्ने र अन्यका तुलनामा निक्कै धेरै समाजिक योगदान दिने गरेका समेत धेरै अनुसन्धानहरुले पुष्टि गरिसकेका छन् । यसको ज्वलन्त उदाहरण हुन्, ४४ सौं अमेरिकी राष्ट्रपति बाराक ओवामाको परिवार ।

बाराक ओवामा र उनकी श्रीमती मिसेल रोबिन्सन ओवामाका केन्याली, अंग्रेज, अफ्रिकी–अमेरिकी, स्कटिस, व्यल्स, आइरिस, जर्मनी, स्वीस र फ्रान्सेली पूर्खा थिए । सन् २०१० मा गरिएको जनगणना अनुसार अमेरिकामा सम्पूर्ण जनसंख्याको केवल २.९% मानिस मात्रै मिश्रित वा बहुनश्लीय थिए । तर त्यति सानो समुदायको प्रतिनिधित्व गर्ने बाराक ओवामा अमेरिकको राष्ट्रपति भए ।

केही वर्ष अगाडिको आँकडा अनुसार बेलायताको फुटबल टोलीमा ३०% सदस्य मिश्रित नश्लका मानिस थिए । जब कि तत्कालिन समयमा बेलायतभर मिश्रित नश्लका मानिस केवल २% जति थिए । छिमेकी मुलुक भारतको सन्दर्भमा त्यहाँ १९५१को जनगणना गर्दा ताका ३६ कोराड १० लाख भन्दा बढी जनसंख्या हुँदा लगभग ५ लाख एङ्लो इन्डियन थिए भन्ने अनुमान गरिएको थियो ।

२०१७ मा भारतको जनसंख्या १ अर्ब ३२ करोड ४१ लाख भन्दा बढी छ भने हाल भारतमा एङ्लो इन्डियन लगभग १ लाख चालीस हजार संख्या घटेका छ । एङ्लो इन्डियन समग्र भरतीय जनसंख्याको निक्कै कम प्रतिशत हो । यति न्यून जनसंख्यामा भए पनि भारतमा एङ्लो इन्डियनका समाजिक योगदान निक्कै धेरै छ । मौरिस बार्कर सन् १९७२ मा भारतको पहिलो एङ्लो इन्डियन हवाई उपसेनापति भए । उनको कार्यकालपछि लगातार सात जना अरु एङ्लो इन्डियन सो पदमा पुगे ।

भारतलाई पहिलो पटक ओलम्पिकमा ( सन् १९०० मा पेरिस ) पदक जिताउने खेलाडी नर्मन गिल्बड प्रितचार्ड एङ्लो इन्डियन थिए । अमेरिका, बेलायत, भारतलगायत मिश्रित नश्लका मानिस जहाँ जहाँ छन्, ति सबै मुलुकमा ति समुदायका मानिसले राजनीति, खेलकुद, पत्रकारिता, साहित्य, मोडलिङ, फेसन,चलचित्र जस्ता क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् ।

अर्कोतिर आजपनि अफ्रिका, भारत लगायतका स्थानमा आदिवासीहरू छन्, तिनीहरू पछाडि पर्नुको कारण भनेको उनीहरूले आफ्नै समुदायमा विवाह गर्नु हो । ठूलो जनसंख्या भएका जातिमा भन्दा थोरै जनसंख्या भएका जातिमा स्वजाति विवाहले पछि आउने पुस्तालाई झन् उँधोगतिमा धकेल्छ ।

एउटै स्थानमा थोरै जनसंख्याभित्र विवाह गरेका कारण नै त्यस्ता आदिवासी अरु मानिसका तुलनामा समाजिक आर्थिक रूपमा पछाडि परेका हुन् । नेपालको सन्दर्भमा पनि राउटे जाति आजको अवस्थामा आइपुग्नुको कारण पनि यहि नै हो ।

वंशानुगत रोगका सन्दर्भमा निश्चित भूभागमा बस्ने मानिस वा एउटै नश्लका मानिसमा विशेष प्रकारका रोगहरू लाग्ने जोखिम धेरै हुन्छ । जस्तै चिनी रोग र मुटु सम्बन्धी रोग दक्षिण एसियाका मानिसलाई लाग्ने खतरा धेरै हुन्छ ।

छालाको क्यान्सर, ‘DemesiyaTay Sachs’(ज्युजहरूलाई लाग्ने) यूरोपमा बसोबास गर्नेहरूलाई लाग्ने जोखिम धेरै हुन्छ । ‘Sickle cell Anemia’ रोग अफ्रिका र भुमध्य क्षेत्रका मानिसलाई लाग्ने जोखिम धरै हुन्छ । यदि दुई फरक नश्लका मानिसले विवाह गरेमा बुबा र आमा दुवै पट्टिको वंशानुगत रोग लाग्दैन अथवा लाग्ने जोखिम अत्यन्तै न्यून हुन्छ ।

मिश्रित नश्लका मानिसका सन्दर्भमा बुबा आमाका ‘DNA’ कोबीचमा जति धेरै भिन्नता हुन्छ उति नै अनुपातमा जन्मने बालकका ‘DNA‘ मा ‘Homo Zygocity’ कम हुन गई सोही अनुपातमा मानसिक र शरीरिक रूपमा सक्षम हुन्छन् ।

जस्तै गुरुङ र बाहुन बीचको ‘DNA’ मा भन्दा गुरुङ जातिका व्यक्ति र भरतीय व्यक्तिको ‘DNA’ मा अझै धेरै पृथकता पाइन्छ । त्यस्तै गुरुङ जातिका व्यक्ति र भारतीय व्यक्तिको तुलनामा अफ्रिकी व्यक्तिको ‘DNA’ मा अझै धेरै पृथकता हुन्छ । अर्थात् हाम्रो वंशज बीच जति लामो समयसम्म वैवाहिक सम्बन्ध स्थापित भएको हुँदैन त्यति नै मात्रामा हामी बीचको ‘DNA’ मा भिन्नता हुन्छ ।

त्यसैले छोराछोरी मानसिक र शारीरिक रूपमा संक्षमा होस्, सुन्दर र प्रतिभावान होस् भन्ने सन्दर्भमा आफ्नै जातिमा विवाह गर्नु मुर्खता हो । तर आजपनि समाजिक इज्जतका नाममा अर्को जातिमा विवाह गर्ने जोडीलाई समाजिक बहिस्कार गरिएको, यातना दिइएको, हत्या गरिएको प्रशस्त घटनाहरू हाम्रो आँखै अगाडि छन् ।

नेपालको सन्दर्भमा राजनीति र सबै जसो क्षेत्रमा क्षेत्री बाहुनको हालीमुहाली छ । यस सन्दर्भमा अरु जातजातिका मानिसले लगाउँदै आएको आरोप भनेकै क्षेत्री बाहुनले इतिहास कालदेखि राज्यसत्ता कब्जा गर्दै आएका कारण यसो भएको हो भन्ने नै हो ।

तर जिनेटिक दृष्टिकोणबाट हेर्ने हो भने विवाह गर्ने परम्पराका कारण पनि बाहुन क्षेत्री टाठाबाठा भएका हुन सक्छन् । नयाँ जन्मने मानिसका ‘DNA’ मा कति प्रतिशत ‘Homo Zygocity’ हुन्छ भन्ने सन्दर्भमा हामीले विहेवारी गर्ने समुदायको जनसंख्या एउटा प्रमुख मापदण्ड हो ।

जुन अनुपातमा ठूलो जनसंख्या हुन्छ, लोग्ने र स्वास्नी बीचको ‘DNA’ त्यहि अनुपातमा पृथक हुने सम्भावना धेरै हुन्छ । नेपालमा पछिल्लो जनगणना अनुसार क्षेत्रीको जनसङ्ख्या १६.६०% र खसबाहुनको १२.२०% छ । जुन अरु जातिका तुलनामा धेरै हो ।

जनजातिहरु एउटा निश्चित भूभागमा थाकथलो बनाएर बसेका हुन्छन् । तर क्षेत्री बाहुनका हकमा उनीहरु मुलुकको धेरै भूभागमा फैलिएर बसेका छन् । हामी कस्तो छौं भन्ने कुरा वा हाम्रो जिनको गुणको सन्दर्भमा हावापानीले पनि असर गर्छ । तसर्थ क्षेत्रीबाहुनको हकमा स्वजाति विवाह गर्दा पनि टाढा विवाह गर्नु पाउनु, राम्रो बच्चा जन्माउने सन्दर्भमा जनजातिका तुलनामा एउटा अर्को अवसर हो ।

हुन त तामाङ, गुरुङ, घले, मगर लगायतका समुदायमा आफ्नो बुबाको उपजाति बाहेक अरु जातिसँग विवाह गर्नु थोरै भए पनि राम्रो पक्ष हो । तर यो परम्परामा आमापटीको वंशलाई वास्ता गरिएको छैन ।

त्यस्तै यी जातिले फूपुचेली विवाह चलाउँदै आएका छन्, जुन परम्पराका कारणले पुस्ता दर पुस्ता ‘DNA’ मा ‘Homo Zygocity’ मात्रा बढाउने काम गरेको छ । त्यस्तै सकभर एकै गाउँठाउँका मानिस बीच वैवाहिक सम्बन्ध बनाउने चलन पनि छ, अर्को नराम्रो पक्ष हो । नेवारी समुदायमा पनि नेवार भित्र पनि केही निश्चित उपजाति र उपजाति बीच मात्रै वैवाहिक सम्बन्ध चलाउँदै आएका छन् ।

जुनकारणले नयाँ जन्मने पुस्तामा ‘Homo Zygocity’ को मात्र बढ्न गई तुलनात्मक रूपमा क्षेत्री बाहुन भन्दा कम क्षमता भएका हुनसक्छन् । क्षेत्रीबाहुनका सन्दर्भमा भने स्वगोत्रमा मात्रै नभई मामाको गोत्र र कसै कसैले आमाको आमा अर्थात् हजुरआमाको समेत गोत्र मिल्न गएमा विवाह गर्नमा बदेज गरिएको छ । यसकारण केही मात्रामा क्षेत्रीबाहुनको वैवाहिक विधि बैज्ञानिक छ ।

केही दशक अघि सडकको सञ्जाल बिस्तार नहुँदा आफू बसेको वरपर विवार गर्नुपर्दा र अर्को जातिसँग विवाह नचलाउने सन्दर्भमा भने फरक गोत्रबीच विवाह गर्ने कुरो वा जनजातिका हकमा बुबाको उपजातिमा विवाह नगरि अर्को उपजातिमा विवाह गर्नु एक मात्र वैज्ञानिक उपाय थियो ।

फरक जातिबीचका विवाह आफ्नो वंशको रगतलाई शुद्ध राख्नका लागि भनिएता पनि त्यो केवल राज्य सत्तामा भएकाको समाजिक र राजनीतिक स्वार्थ कारण गरिएको हो । निश्चित समुदायको अनवरत समर्थन पाउनका लागि राजनीति र शासन गर्नेहरूले नश्लवाद जातिवादलाई हतियारका रूपमा प्रयोग गर्ने गरेको विश्व इतिहास छ । नेपालका सन्दर्भमा पनि पृथ्वीनारायण शाह कालीन समयसम्म जातीय राज्य प्रसस्तै थिए ।

आज विश्व बजारमा नेपाली शारीरिक र मानसिक रूपमा केही पछाडि छन् । शरीरिक कमजोरीको ज्वलन्त नमूना हामी नेपालीको कम उचाई एक हो । त्यस्तै खेलकुददेखि वैज्ञानिक उपलब्धिका सन्दर्भमा नेपाली निक्कै पछि छन् ।

हामीले यस सन्दर्भमा केवल राज्यको उदासिनतालाई मात्रै दोष लगाउँदै आएका छौं । तर हाम्रो औसत उचाई विश्वका थुप्रै गरिव भोकमरीले ग्रस्त मुलुकका मानिसको भन्दा कम छ ।

हो यस सन्दर्भमा वातावरणले केही असर पारेको हुनसक्छ भन्ने तर्क आउन सक्छ तर राणा कालीन समय अगाडिसम्म नेपालीको औसत उचाई कति थियो भन्ने हेर्नलाई हाम्रो पुर्खाले लडाई गर्दा बोक्ने तरवारका लम्बाई संग्रहालयहरूमा गएर हेर्दा हुन्छ । समय क्रमसँगै हाम्रो वैवाहिक परम्पराले गर्दा पुस्ता दरपुस्ता हाम्रो ‘DNA’ मा ‘Homo Zygocity’ बढ्दै गएका कारण यस्तो भएको हुनसक्छ ?

अन्य मुलुकका हकमा ब्रिटिस साम्राज्यको विस्तार लगायतका कारण मिश्रित नश्लका मानिस थुप्रै छन् । एकाध प्रतिशत मानिस मात्रै मानसिक र शारीरिक रूपमा सक्षम हुने हो भने पनि समाजको कायापलट हुनसक्छ । त्यसैले हामीले हाम्रो वैवाहिक परम्परामा केही परिवर्तन गर्नु जरुरी छ ।

स्वजातीय भन्दा अन्तरजातीय विवाह गरौं । अझै राम्रो सन्तानका लागि अन्तरदेशीय विवाह गरौं । आफ्नै जातिमा विवाह गर्दा पुर्वकाले पश्चिमतिरकासँग विवाह गरौं । हिमालकाले तराईकासँग विवाह गरौं ।

अनि स्वजातीयमा विवाह गर्दा गोत्र होइन DNA परीक्षण गरेर विवाह गरौं । यो देशमा केही प्रतिशत मात्रै बहुुश्लीय मानिस भएमा केही दशकमा नोवल पुरस्कार जित्नेको सूचीमा नेपाली वैज्ञानिकका नाम पनि हुने छन् ।

ओलम्पिकमा पनि नेपालीले स्वर्ण लगायतका प्रसस्तै पदकहरू जित्ने छन् । नेपाली चलचित्रले ओस्कर अवार्ड हात पनि पार्ने छ । हाम्रो सोच र वैवाहिक परम्परामा थोरै परिवर्तन गरौं, अनि ठूलो परिणाम आउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना परीक्षण शुल्क ३,८९९ रुपैयाँ लिने आठ वटा निजी प्रयोगशालाको निर्णय

काठमाडौं । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाले सरकारले तोकेको शुल्कमा परीक्षण गर्न नसक्ने

थप १५७३ जनामा कोरोना संक्रमण, ८८५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको

चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो

डा. गोविन्दशरण उपाध्याय । चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ त्यतिनै धेरै चर्चित

‘केन्द्र सरकार जिम्मेवार बन्न नसक्दा उपत्यकामा कोरोना संक्रमित बढे’

भक्तपुर । उपत्यका नगरपालिका मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकामा कोरोना नियन्त्रण गर्न