-डा. गोविन्दशरण उपाध्याय ।
सर्वप्रथम त म मेरो अज्ञानलाई विनम्रतापूर्वक स्वीकार गर्छु । मैले नजानेको धेरै छ र जानेको अत्यन्त थोरै छ । सायद यही थोरै जानकारीकै कारण होला, जान्ने इच्छा सधैं जवान रहन्छ । मान्छेले जब आफूलाई पूर्ण ज्ञानी ठान्छ, त्यही क्षण उसको जिज्ञासा मर्छ तर जब उसले आफ्ना सीमाहरू बुझ्छ, तब ज्ञानको ढोका फेरि खुल्न थाल्छन् । योगका विषयमा मेरो अवस्था पनि त्यस्तै हो । योग मैले पूर्ण रूपमा जानेको विषय होइन, तर यो मेरो जीवन, परिवार, संस्कार र सभ्यतासँग गहिरो रूपमा जोडिएको विषय भने अवश्य हो ।
हाम्रो घर–परिवारमा योग कुनै नयाँ फेसन होइन । बिहान सबेरै उठ्नु, शौच–स्नानपछि केही समय मौन बस्नु, प्राणायाम गर्नु, सूर्यलाई नमस्कार गर्नु, भगवान्को स्मरण गर्नु, संयमित भोजन गर्नु, क्रोधलाई नियन्त्रण गर्नु, वाणीलाई मर्यादित राख्नु—यी सबै योगकै जीवन्त पक्ष छन् । तर यी सबै कुरा हाम्रो परिवारले “योग” भनेर बजारमा बेच्दैन । जीवनको अनुशासन, शरीरको शुद्धि, मनको शान्ति र आत्माको उन्नतिलाई स्वाभाविक संस्कारका रूपमा ग्रहण गरिन्छ । आज हामीले जसलाई योगको नामले चिन्छौँ, हाम्रा पूर्वजहरूले जीवनपद्धतिका रूपमा बाँचेका थिए ।
आज परिस्थिति बदलिएको छ । विश्वविद्यालयहरूमा योग पढाइन्छ । विद्यालयहरूमा योगको चर्चा हुन्छ । स्वास्थ्य संस्थाहरूले योगलाई रोगनिवारण र स्वास्थ्यसंरक्षणको साधन मान्न थालेका छन् । टेलिभिजन, युट्युब, मोबाइल एप र सामाजिक सञ्जालहरूले योग भन्ने शब्दलाई विश्वव्यापी बनाएका छन् । आज संसारका ठूला शहरहरूमा योग स्टुडियो छन्, योग प्रशिक्षक छन्, योग शिविर छन्, योग रिट्रिट छन्, योग पोशाक छन्, योग म्याट छन् र योगसँग जोडिएका असंख्य व्यापारिक उत्पादनहरू छन् । यस दृष्टिले हेर्दा योग अब केवल भारतवर्षीय वा नेपाली–भारतीय रैथाने ज्ञानपरम्पराको अभ्यास मात्र रहेन । यो विश्वसंस्कृतिको एउटा महत्त्वपूर्ण अङ्ग बन्न पुगेको छ ।
यो प्रसन्नताको विषय हो कि हाम्रो रैथाने ज्ञानपरम्परा विश्वव्यापी भएको छ । जुन ज्ञान हजारौँ वर्षदेखि ऋषि–मुनि, योगी, साधक, गृहस्थ र सन्यासीहरूले साधनाको माध्यमबाट सुरक्षित राखे, त्यो आज विश्वका करोडौँ मानिसहरूको जीवनमा प्रवेश गरेको छ । तनावग्रस्त आधुनिक मान्छे योगबाट शान्ति तथा सुख खोजिरहेको छ । औषधि र यन्त्रले थाकेको शरीर योगबाट लचकता खोजिरहेको छ । मानसिक अशान्तिले ग्रस्त समाज ध्यानबाट स्थिरता खोजिरहेको छ । श्वासलाई बिर्सिएको मान्छे प्राणायामबाट जीवनको लय खोजिरहेको छ । यस अर्थमा योगको विश्वव्यापीता मानवसभ्यताका लागि शुभ संकेत हो ।
तर हरेक उज्यालोको छेउमा छाया पनि हुन्छ । आज मान्छेहरू व्यापारिक साधनमा रुपान्तरित भएका छन् । योग पनि व्यापारीहरूको रुचिको विषय बनेको छ । योग विश्वव्यापी हुनुका साथै त्रिलियन डलरको बजार बन्न पुगेको छ । जब कुनै ज्ञान बजारमा प्रवेश गर्छ, तब त्यसको उपयोगसँगै दुरुपयोगको सम्भावना पनि बढ्छ । आज योगको नाममा अनेकौँ व्यापारिक आवरणहरू देखिन्छन् । कसैले योगलाई केवल शरीर तन्काउने व्यायाम बनाएको छ, कसैले यसलाई केवल स्लिम हुने उपाय बनाएको छ, कसैले यसलाई फेसनको सामग्री बनाएको छ, कसैले महँगो शुल्क लिने विलासी अभ्यास बनाएको छ, कसैका लागि सेक्स-शक्ति बढाउने शारीरिक क्रिया बनेको छ । कतिपय ठाउँमा योगबाट यसको आध्यात्मिकता, नैतिकता, दर्शन र साधना हटाएर केवल आकर्षक आसन, फोटो र प्रदर्शन मात्र बाँकी राखिएको छ ।
योगको मूल अर्थ जोड्नु हो : शरीरलाई मनसँग, मनलाई बुद्धिसँग, बुद्धिलाई विवेकसँग, विवेकलाई आत्मचेतनासँग र आत्मचेतनालाई परम सत्यसँग जोड्नु । तर आज धेरै ठाउँमा योग जोड्ने होइन, बेच्ने वस्तु बनेको देखिन्छ । योगले अहंकार घटाउनुपर्ने हो, तर कतिपयले योगकै नाममा अहंकार बढाइरहेका छन् । योगले सरलता सिकाउनुपर्ने हो, तर कतिपय स्थानमा योग विलासी ब्रान्ड बनेको छ । योगले संयम, सत्य, अहिंसा, शुचिता र आत्मनियन्त्रण सिकाउनुपर्ने हो, तर बजारले यसलाई केवल शरीरको प्रदर्शनमा सीमित गरिरहेको छ ।
पतञ्जलि योगसूत्रले योगलाई चित्तवृत्तिनिरोधः भनेको छ-अर्थात् चित्तका विक्षेपहरूको निरोध । यस परिभाषामा योगको केन्द्र शरीर होइन, चित्त हो । शरीर महत्त्वपूर्ण छ, तर शरीर मात्र सम्पूर्ण योग होइन । आसन योगको एउटा अङ्ग हो, योगको सम्पूर्णता होइन । प्राणायाम योगको महत्त्वपूर्ण अभ्यास हो, तर प्राणायाम मात्र योग होइन । ध्यान योगको उच्च अभ्यास हो, तर ध्यान पनि आचार, संयम र शुद्ध जीवनवृत्ति बिना अधुरो रहन्छ । योग भनेको मार्ग यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको समग्र साधना हो । त्यसैले योगलाई केवल जिम्नास्टिक, प्रदर्शन वा व्यापारिक प्याकेजमा सीमित गर्नु यसको आत्मालाई बिर्सनु हो- ।
आज पश्चिमी संसारले योगलाई स्वीकार गरेको छ, तर हामी स्वयंले आफ्नो योगपरम्परालाई कत्तिको बुझेका छौँ ? यो प्रश्न पनि महत्त्वपूर्ण छ । हामी धेरैपटक आफ्नो सम्पदाको मूल्य तब मात्र बुझ्छौँ जब विदेशीले त्यसलाई स्वीकार गर्छ । योग, आयुर्वेद, ध्यान, वेदान्त, संस्कृत, उपनिषद्, गीता : यी विषयहरू अहिले विश्वमा अध्ययनको केन्द्र बन्दैछन् । तर यदि हामीले यी विषयहरूलाई केवल धार्मिक कर्मकाण्ड, पुरानो चलन वा अन्धविश्वास भनेर उपेक्षा गर्यौँ भने आफ्नो घरको दीपक अरूले लिएर विश्वलाई उज्यालो पार्नेछन्, र हामी अँध्यारोमै बस्नेछौँ ।
यसको अर्थ यो होइन कि योगलाई आधुनिक विज्ञानसँग संवाद गर्न हुँदैन । अवश्य गर्नुपर्छ। योगको मनोवैज्ञानिक, शारीरिक, स्नायविक र स्वास्थ्यसम्बन्धी प्रभावहरू आधुनिक अनुसन्धानको विषय बन्नु स्वागतयोग्य कुरा हो । आधुनिक मनोविज्ञानले यौगिक क्रियाकलपहरूलाई निर्विवाद स्वीकार र उपयोग गरिरहेको छ । तनाव, चिन्ता, अवसाद, निद्रा समस्या, उच्च रक्तचाप, जीवनशैलीजन्य रोगहरू र मानसिक असन्तुलनमा योगले सहयोग पुर्याउन सक्छ। तर योगलाई केवल रोगनिवारणको साधन बनाउनु पनि यसको संकुचन हो । योग रोग घटाउने उपाय मात्र होइन अपितु जीवनलाई सम्यक् बनाउने विद्या हो । यो शरीरलाई स्वस्थ, मनलाई शान्त, बुद्धिलाई निर्मल, आचरणलाई संयमित र जीवनलाई अर्थपूर्ण बनाउने मार्ग हो ।
व्यापारिक युगको सबै महत्वपूर्ण कुरा योगको व्यापारलाई नकार्नु मात्र होइन, योगको आत्मालाई बचाउनु हो । व्यापार आफैँमा अपराध होइन, तर ज्ञानको अपहरण अपराध हो । शुल्क लिएर योग सिकाउनु गलत होइन, तर योगलाई स्रोत, परम्परा र दर्शनबाट काटेर निजी ब्रान्ड बनाउनु गलत हो । क्रिस्चियन र इस्लामिक योग यसको उदाहरण हुन् । आधुनिक माध्यमबाट योग फैलाउनु राम्रो हो, तर योगको मूल चरित्रलाई विकृत गरेर मनोरञ्जन, विज्ञापन र शारीरिक प्रदर्शनमा सीमित गर्नु दुःखद हो ।
हामी नेपाली र भारतीयहरूको दायित्व अझ गम्भीर छ । योग हाम्रा रैथाने ज्ञानपरम्पराको अमूल्य निधि हो । यसलाई केवल गौरवको नारा बनाएर पुग्दैन । यसलाई अध्ययन गर्नुपर्छ, अभ्यास गर्नुपर्छ, शास्त्रीय रूपमा बुझ्नुपर्छ र जीवनमा उतार्नुपर्छ । विद्यालय र विश्वविद्यालयमा योग पढाउँदा केवल आसन सिकाएर हुँदैन अपितु योगको दर्शन, इतिहास, नीतिशास्त्र, मनोविज्ञान, स्वास्थ्यविज्ञान र आध्यात्मिक गहिराइ पनि पढाउनुपर्छ । योग शिक्षक उत्पादन गर्दा केवल शरीर मोड्न सक्ने प्रशिक्षक होइन, जीवनलाई संयम, करुणा, विवेक र अनुशासनतर्फ लैजान सक्ने मार्गदर्शक तयार गर्नुपर्छ ।
योग अन्ततः बाहिर देखाउने वस्तु होइन, भित्र रूपान्तरण गर्ने प्रक्रिया हो । योगको सफलता फोटोमा होइन, व्यवहारमा देखिनुपर्छ । योगीको पहिचान कठिन आसनमा मात्र होइन, नम्र वाणीमा, संयमित जीवनमा, शान्त दृष्टिमा, करुणामय व्यवहारमा र सत्यनिष्ठ चरित्रमा प्रकट हुनुपर्छ । यदि योग गरेपछि पनि क्रोध उस्तै रह्यो, लोभ उस्तै रह्यो, अहंकार उस्तै रह्यो, असंयम उस्तै रह्यो भने त्यो योगको बाह्य अभ्यास मात्र हो, आन्तरिक साधना होइन ।
त्यसैले आज योगको प्रसारसँगै योगको संरक्षण पनि आवश्यक छ । योग विश्वव्यापी भएकोमा गर्व गरौँ, तर योग बजारमा हराएकोमा सचेत पनि बनौँ । योगलाई केवल बाबाबाबीहरूको व्यापारका रूपमा बुझ्नु र व्यबहार गर्नु हुदैन । योगलाई आधुनिक जीवनसँग जोडौँ, तर यसको मूल आत्मालाई नछोडौँ । योगलाई विद्यालय, विश्वविद्यालय, अस्पताल र समाजमा लैजाऔँ, तर यसलाई केवल व्यापारिक प्याकेज नबनाऔँ । योग मानवताको साझा सम्पत्ति हो, तर यसको जरा भारतवर्षीय ऋषि–परम्परामा छ भन्ने सत्यलाई विस्मृत नगरौँ ।
मैले योग धेरै जानेको छैन। तर यति चाहिँ बुझेको छु-योग शरीर मोड्ने कला मात्र होइन, जीवनलाई भौतिक जगतमा योग्य बनाउने र अन्त्यमा मोक्ष प्राप्त गर्ने सुखद साधना हो । योग बजारको उत्पादन होइन, आत्माको अनुशासन हो । योग केवल स्वास्थ्यको उपाय होइन, अस्तित्वलाई सन्तुलित बनाउने विज्ञान हो । योगको नाममा संसारले धेरै कुरा बेच्न सक्छ, तर योगको सार किन्न पाइँदैन । योगको साधना गर्नुपर्छ, बाँच्नुपर्छ र आत्मसात् गर्नुपर्छ । तप, स्वाध्याय र ईश्वरमय हुनुनै योगको क्रियात्मक पक्ष हो भने जीवन योगमाय भएपछि क्लेशमय कर्म र त्यसको परिणामबाट पूर्ण मुक्ति प्राप्त हुन्छ । अर्जुनले गीतायोगको ज्ञान प्राप्त गरे पनि “मैले अव त्यसअनुसार नै काम गर्ने छु” भनेर प्रतिज्ञा गरेझैं योगमाय जीवन प्राप्त भएपछि कुनै पनि साधकले योगविरुद्ध कर्म गर्न सक्दैन |

प्रतिक्रिया