–शैलेन्द्रकुमार श्रेष्ठ
आज मानव सभ्यता विज्ञान, प्रविधि र भौतिक विकासका दृष्टिले अभूतपूर्व उचाइमा पुगेको छ। कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष विज्ञान र आधुनिक प्रविधिले संसारलाई नजिक ल्याएको छ, तर विडम्बना यही समयमा विश्वका विभिन्न भागहरूमा युद्ध, सशस्त्र द्वन्द्व, आतंकवाद, शक्ति प्रतिस्पर्धा, जातीय तथा धार्मिक विद्वेष, नैतिक पतन, मानसिक तनाव र सामाजिक विखण्डनका समस्याहरू झन् जटिल बन्दै गएका छन्। आर्थिक समृद्धि बढ्दै जाँदा पनि मानिसको मन अशान्त छ, परिवारहरू टुक्रिँदै गएका छन्, समाज विभाजित हुँदै गएको छ र मानवता अनेक चुनौतीहरूको घेरामा परेको छ। आजको विश्वले केवल भौतिक विकास मात्र होइन, चेतनाको विकास, नैतिक जागरण र मानवीय मूल्यहरूको पुनस्र्थापना खोजिरहेको छ।
यस्ता समस्याहरूको समाधान केवल सैन्य शक्ति, राजनीतिक सम्झौता वा आर्थिक विकासबाट मात्र सम्भव हुँदैन। दीर्घकालीन शान्ति, सहअस्तित्व र विश्वबन्धुत्वका लागि मानिसको सोच, व्यवहार र चेतनामा सकारात्मक परिवर्तन आवश्यक छ। यही सन्दर्भमा योगको भूमिका अत्यन्त महत्वपूर्ण र सान्दर्भिक बन्न पुग्छ। योगले व्यक्तिमा आत्मसंयम, धैर्य, सहिष्णुता, करुणा, विवेक र आत्मचेतनाको विकास गर्दै व्यक्तिलाई स्वयंभित्रको शान्तिसँग जोड्छ। व्यक्ति शान्त भए परिवार शान्त हुन्छ, परिवार शान्त भए समाज शान्त हुन्छ, समाज शान्त भए राष्ट्र शान्त हुन्छ र अन्ततः विश्वशान्तिको आधार निर्माण हुन्छ। वास्तवमा जहाँ युद्धले विभाजन गर्छ, त्यहाँ योगले जोड्छ; जहाँ घृणाले दूरी बढाउँछ, त्यहाँ योगले मानवतालाई एकताको सूत्रमा बाँध्छ।
यही महान् दृष्टिकोणलाई आत्मसात गर्दै प्रत्येक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवस केवल योग अभ्यास गराउने औपचारिक दिवस होइन। यसको मूल उद्देश्य स्वस्थ शरीर, शान्त मन, नैतिक जीवन, विश्वबन्धुत्व र मानव कल्याणको चेतना विश्वभर फैलाउनु हो। यसको महत्व व्यक्ति, परिवार, समाज र राष्ट्रलाई जोड्दै विश्वशान्ति, सहअस्तित्व र दिगो मानव सभ्यताको आधार निर्माण गर्नुमा निहित छ। त्यसैले अन्तर्राष्ट्रिय योग दिवस आज विश्व समुदायका लागि केवल स्वास्थ्यको अभियान नभई शान्ति, मानवता र साझा भविष्यको अभियान बनेको छ।
यस पावन अवसरमा सम्पूर्ण मानव समुदायको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै योग प्रत्येक व्यक्तिको जीवनको अभिन्न संस्कार बनोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु। योगको मूल उद्देश्य व्यक्तिको बाह्य र आन्तरिक जीवनबीच सन्तुलन स्थापित गरी उसलाई आत्मबोध, आत्मअनुशासन र पूर्णताको मार्गमा अग्रसर गराउनु हो। यही सन्दर्भमा ’योगको पनि योग’ तथा सबै योगहरूको जननीका रूपमा परिचित हिमालयन सिद्ध महायोग आजको विश्वका लागि झन् बढी सान्दर्भिक र आवश्यक देखिन्छ।
नेपाल देवभूमि हो, तपोभूमि हो र ऋषि–मुनिहरूको साधनास्थली हो। बुद्ध जन्मेको शान्तिभूमि हो। यही पवित्र भूमिमा जन्म लिनुभएका परमपूज्य अनन्तश्री विभूषित जगद्गुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज सद्गुरुदेवको दीर्घकालीन घोर तपस्या, कृपा र संकल्पबाट करिब दुई सय पचास वर्षपछि पुनः जागृत भएको महायोग आज नेपालले विश्वलाई दिन सक्ने अमूल्य आध्यात्मिक उपहारका रूपमा उदाएको छ। महायोगले केवल ध्यान र साधनाको शिक्षा मात्र दिँदैन; यसले व्यक्तित्व निर्माण, चरित्र निर्माण, नैतिक जीवन, सेवा, प्रेम, करुणा, आत्मअनुशासन र विश्वबन्धुत्वको जीवनदर्शन प्रदान गर्दछ। आज विश्वले खोजिरहेको शान्ति, सुख, सन्तुलन र मानव एकताको उत्तर महायोगभित्र निहित छ। त्यसैले महायोग व्यक्तिगत मुक्ति मात्र होइन, सामाजिक रूपान्तरण, नैतिक पुनर्जागरण र विश्वशान्तिको आधार पनि हो।
नेपालसँग विश्वलाई दिने धेरै कुरा छन्। सगरमाथाले नेपालको भौगोलिक उचाइलाई चिनाएको छ भने महायोगले नेपालको आध्यात्मिक उचाइलाई विश्वसमक्ष चिनाउने क्षमता राख्छ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा धार्मिक, आध्यात्मिक र वेलनेस पर्यटनलाई विशेष प्राथमिकता दिएको छ। देशलाई विश्वकै प्रमुख आध्यात्मिक केन्द्र बनाउन ’देवभूमि नेपाल’ राष्ट्रिय अभियान घोषणा गरिएको छ।
छिमेकी मुलुकहरूसँगको सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटक आकर्षित गर्न ’तीर्थ कूटनीति’ अघि सारिएको छ। प्राकृतिक सौन्दर्य र जडीबुटीको उपयोग गरी नेपाललाई ’ग्लोबल वेलनेस टुरिजम डेस्टिनेसन’ बनाउने र हिमालय क्षेत्रमा योग तथा ध्यान केन्द्र खोल्ने नीति छ। जनस्वास्थ्य प्रवद्र्धनका लागि समुदायमा आधारित योग र ध्यान कार्यक्रम टोल–टोलमा विस्तार गर्ने नीति छ । यी नीतिगत पहलहरूले नेपालको सनातन सम्पदा, योग–ध्यान परम्परा र आध्यात्मिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने अवसर सिर्जना गरेका छन्। आज संसारका धेरै राष्ट्रहरूले योग, ध्यान, आध्यात्मिक पर्यटन र सांस्कृतिक कूटनीतिलाई राष्ट्रिय विकासको महत्वपूर्ण साधनका रूपमा प्रयोग गरिरहेका छन्। नेपालसँग भने हिमालयीय तपोभूमिको शक्ति, वैदिक–सनातन परम्पराको गहिरो विरासत र महायोगजस्तो मौलिक ज्ञान सम्पदा छ।
नेपाल सरकारको ’देवभूमि नेपाल’ तथा वेलनेस पर्यटन अभियानको सफल कार्यान्वयनका लागि हिमालयन सिद्ध महायोग एक महत्वपूर्ण आधारस्तम्भ बन्न सक्छ। प्राचीन सनातन ज्ञान, योग–ध्यान, मानसिक आरोग्य र आध्यात्मिक जागरणको अद्वितीय परम्परा बोकेको महायोगले नेपाललाई विश्वकै अग्रणी आध्यात्मिक ऊर्जा, शान्ति, स्वास्थ्य र आत्मिक उन्नतिको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
यसै सन्दर्भमा नेपालको हिमालयीय सिद्ध–साधना परम्परा, ध्यान–विज्ञान, वैदिक–सनातन सांस्कृतिक सम्पदा, शान्ति, मानव सद्भाव तथा विश्वकल्याणको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष पु¥याउने उद्देश्यले महायोगी सिद्धबाबाको क्यानडा भ्रमण सुनिश्चित भएको छ। २७ जुनदेखि ११ अगस्ट २०२६ सम्म सञ्चालन हुने यो ऐतिहासिक भ्रमण From the Himalayas of Nepal to CanadaM A Mission of Peace, Meditation and Universal Harmony’ भन्ने मूल भावनामा आधारित रहनेछ।
यो भ्रमण नेपाल–क्यानडा जनस्तरीय मैत्री, सांस्कृतिक समझदारी, ध्यान–साधना, मानसिक स्वास्थ्य, पारिवारिक सद्भाव, अन्तरधार्मिक संवाद तथा मानवकल्याणका साझा मूल्यहरूको प्रवद्र्धनमा केन्द्रित हुनेछ। यसको उद्देश्य कुनै राजनीतिक वा व्यावसायिक प्रयोजन नभई नेपालको हिमालयीय आध्यात्मिक विरासत, योग–ध्यान परम्परा, शान्ति–सन्देश तथा सांस्कृतिक गरिमालाई विश्वसमक्ष मर्यादित र प्रभावकारी रूपमा प्रस्तुत गर्नु हो। यो अभियानले नेपालको गौरव, हिमालयीय आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति तथा जनस्तरीय अन्तर्राष्ट्रिय मैत्रीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
महायोग र सद्गुरुदेवको योगदानप्रति अन्तर्राष्ट्रिय स्तरमा बढ्दो सम्मान स्वयंमा सम्पूर्ण नेपालको गौरवको विषय बनेको छ। राम जन्मभूमि अयोध्यास्थित मनिरामदास छाउनीमा आयोजित महत्वपूर्ण धार्मिक कार्यक्रमहरूमा विशिष्ट अतिथिका रूपमा निमन्त्रणा प्राप्त हुनु, जयपुरमा सञ्चालन हुने विशाल महायज्ञहरूमा प्रमुख आतिथ्यका लागि आमन्त्रण गरिनु तथा दश हजार किलोमिटर लामो गोदावरी परिक्रमाजस्ता महत्वपूर्ण आध्यात्मिक अभियानहरूमा विशेष सम्मान प्राप्त हुनु केवल व्यक्तिगत सम्मान होइन, नेपालको सनातन आध्यात्मिक परम्पराको अन्तर्राष्ट्रिय स्वीकारोक्ति पनि हो।
आज अमेरिका, क्यानडा, बेलायत लगायत विभिन्न देशहरूमा महायोगप्रति बढ्दो आकर्षण देखिन थालेको छ। विभिन्न देशका साधक, अनुसन्धानकर्ता तथा आध्यात्मिक चिन्तकहरू महायोगको अध्ययन र अभ्यासतर्फ आकर्षित भइरहेका छन्। यसले नेपाललाई विश्व आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्ने सम्भावनालाई थप बलियो बनाएको छ।
आज नेपालले महायोगलाई केवल धार्मिक वा व्यक्तिगत साधनाको विषयका रूपमा सीमित राख्नु हुँदैन। यसलाई राष्ट्रिय पहिचान, सांस्कृतिक कूटनीति, धार्मिक पर्यटन, मानसिक स्वास्थ्य, नैतिक शिक्षा, चरित्र निर्माण तथा आर्थिक समृद्धिसँग जोडेर राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक छ। यदि राज्य, समाज, शैक्षिक क्षेत्र, निजी क्षेत्र र आध्यात्मिक समुदायले संयुक्त रूपमा महायोगको संरक्षण, अनुसन्धान, प्रवद्र्धन र अन्तर्राष्ट्रिय प्रचारमा लगानी गर्ने हो भने नेपाल विश्व योग, ध्यान र आध्यात्मिक शिक्षाको प्रमुख केन्द्र बन्न सक्छ। यसले धार्मिक पर्यटन, स्वास्थ्य पर्यटन, अन्तर्राष्ट्रिय सम्मेलन, योग अनुसन्धान तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। जसरी सगरमाथा नेपालको प्राकृतिक पहिचान बनेको छ, त्यसरी नै महायोग नेपालको आध्यात्मिक पहिचान र विश्वसँगको सांस्कृतिक सम्बन्धको बलियो आधार बन्न सक्छ।
अन्तर्राष्ट्रिय योग दिवसको यस पावन अवसरमा हामीले योगलाई जीवनको संस्कार बनाउने, महायोगलाई राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्ने र नेपाललाई विश्व योग तथा ध्यानको राजधानीका रूपमा विकास गर्ने राष्ट्रिय संकल्प लिन आवश्यक छ । देवभूमि नेपालले विश्वलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार केवल हिमाल, नदी वा प्राकृतिक सौन्दर्य मात्र होइन; मानव जीवनलाई सुख, शान्ति, प्रेम, स्वास्थ्य, नैतिकता र आत्मिक उन्नतितर्फ डो¥याउने महायोग हो। सद्गुरुदेवको तपस्या, महायोगको पुनर्जागरण र नेपालको हिमालयीय आध्यात्मिक सम्पदालाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सकेमा नेपालले विश्वलाई शान्तिको सन्देश दिन सक्छ, मानवतालाई नयाँ दिशा दिन सक्छ र स्वयं समृद्धिको नयाँ युगतर्फ अग्रसर हुन सक्छ।
अन्तर्राष्ट्रिय योग दिवसको वास्तविक सन्देश यही हो–स्वस्थ शरीर, शान्त मन, नैतिक जीवन, विश्वबन्धुत्व र मानव कल्याण। र यही महान् उद्देश्य प्राप्तिको मार्गमा महायोग नेपालले विश्वलाई दिन सक्ने अनुपम उपहार बन्न सक्छ। हिमालयबाट विश्वसम्म फैलिएको महायोगको सन्देशले मानवतालाई जोडोस्, विश्वमा शान्ति फैलाओस् र नेपाललाई आध्यात्मिक नेतृत्व तथा समृद्धिको नयाँ उचाइमा पुर्याओस् ।
(सशस्त्र प्रहरी बलका पूर्व प्रमुख श्रेष्ठ हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष हुन् भने करिब डेढ दशकदेखि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन् )

प्रतिक्रिया