डा. गोविन्दशरण उपाध्याय ।
मानिसले समयलाई केवल घडी, पात्रो र मितिमा नाप्छ । धर्मले समयलाई चेतना, साधना र आत्मपरिवर्तनमा नाप्छ । यही कारणले हिन्दू जीवनदर्शनमा समय केवल बित्ने वस्तु होइन, साध्य र साधन दुवै हो । पुरुषोत्तम मासको कथा यही समयदर्शनको अत्यन्त सुन्दर, प्रतीकात्मक र मनोवैज्ञानिक एवं दार्शनिक आख्यान हो । यो कथा भन्छ : जसलाई संसारले अधिक, अशुभ वा मल भन्छ, ईश्वरको स्पर्श पाएपछि त्यही पुरुषोत्तम बन्न सक्छ । तर सम्बन्धित उपेक्षितले पनि आफ्नो अस्तित्वका लागि पहल गर्नैपर्छ ।
कथाको विषयवटु अत्यन्त मार्मिक छ । बाह्र महिनाका आ–आफ्ना स्वामी छन् तर अधिकमास स्वामीविहीन छ । त्यसैले सबैले उसलाई मलमास भनी अपमान गर्छन् । ऊ उपेक्षित, निराश र असहाय भएर विष्णुको शरण जान्छ । श्रीविष्णु उसलाई गोलोकमा श्रीकृष्णसमक्ष लैजान्छन् । पुरुषोत्तम श्रीकृष्णले उसलाई आफ्नो नाम, वैभव र महिमा प्रदान गर्नुहुन्छ । त्यही उपेक्षित महिना अर्थात् मलमास पुरुषोत्तम मास बन्छ। यो केवल धार्मिक कथा होइन । यो सामाजिक र मनोवैज्ञानिक क्रान्तिको कथा हो। जसलाई समाजले अस्वीकार गर्छ, ईश्वरले स्वीकार गर्न सक्छ ।
मानवीय जीवनमा पनि कति समयहरू मलमास जस्तै हुन्छन् । बेरोजगारी, रोग, शोक, एक्लोपन, अपमान, असफलता, अवकाश, वृद्धावस्था, दाम्पत्यदुःख, सन्तानशोक, आर्थिक सङ्कट : यी सबै समयलाई हामी ब्यर्थ मान्छौँ । तर कथा भन्छ : तर यस्तो समय जीवनतत्वको बुझाईमा बदलियो भने जीवनको सबैभन्दा ठूलो आध्यात्मिक उपलब्धि बन्न सक्छ । पुरुषोत्तम मासको मूल शिक्षा यही हो : समय आफैँ अशुभ हुँदैन । चेतना अशुद्ध भए समय अशुभ लाग्छ, चेतना पवित्र भए समय तीर्थ बन्छ ।
द्रौपदीको पूर्वजन्मको प्रसङ्गले कर्म, उपेक्षा र कृपाको गहिरो सम्बन्ध देखाउँछ । मेधावी ऋषिकी कन्याले दुर्वासाको सेवा गर्छे, तर पुरुषोत्तम मासको महिमा सहजै स्वीकार गर्दिन । पछि भगवान् शिवको तपस्या गरेर पति माग्दा पाँच पटक मागेकाले पाँच पति हुने वर पाउँछे । अर्को जन्ममा द्रौपदी बन्छे, अपमान भोग्छे, तर अन्ततः कृष्णकै शरणमा रक्षा पाउँछे । यहाँ कथा भाग्यवाद मात्र होइन अपितु अहं, शंका, भक्ति र कृपाको जटिल मनोविज्ञान हो । श्रद्धा नहुनु अपराध होइन, तर उपहास र अवमानना आत्महानीको मार्ग हो भन्ने शिक्षा कथाले दिन खोज्छ। दुर्वाषाजस्ता क्रोधी ऋषिले पनि मित्रपुत्री र नारी ठानेर शाप दिंदैन् | यो नारीप्रतिको प्राचीन वैदिक दृष्टिकोण हो ।
दृढधन्वाको कथा अर्को महत्त्वपूर्ण मनोवैज्ञानिक मोड हो । राजा सम्पन्न छ । साधन सम्पन्न राज्य छ । रानी छ । सन्तान छन् । वैभव छ तर मनमा प्रश्न उठ्छ ‘यो सबै कसरी प्राप्त भयो?’ यही प्रश्न अध्यात्मको आरम्भ हो । सुखले मात्र मानिसलाई दार्शनिक बनाउँदैन । सुखको कारणबारे उठेको प्रश्नले बनाउँछ । शुक पक्षीको वचन ‘तत्त्वचिन्तन नगरे संसार पार कसरी?’ राजाको भित्र निदाएको विवेकलाई जगाउँछ । मानिस बाहिरबाट राजा हुन सक्छ, तर भित्र प्रश्न उठेन भने ऊ अझै दास नै हो ।
सुदेव शर्मा र गौतमीको कथा पुरुषोत्तम मासको करुण पक्ष हो । पुत्र प्राप्तिका लागि उनीहरू तड्पिन्छन् । भाग्यमा पुत्र छैन भनिन्छ, तर कृपाले पुत्र प्राप्त हुन्छ । फेरि त्यही पुत्र मर्छ। उनीहरूको शोक महिनाभरि चल्छ । उनीहरूले विधिपूर्वक व्रत गरेका हुँदैनन्, तर शोकका कारण उपवास, वर्षाजल–स्नान, स्मरण र विरहले उनीहरू अनायास पुरुषोत्तम साधक बन्छन् । यहाँ कथा अत्यन्त गहिरो छ—धर्म सधैँ बाहिरी विधि मात्र होइन । कहिलेकाहीँ दुःख नै तप बन्छ । करुणा जब ईश्वरतर्फ फर्किन्छ, शोक साधना हुन्छ । यदि असल कर्म अनजानमा पनि गरिन्छ भने त्यसले शुभफल दिन्छ भन्ने शास्त्रीय मर्यादाको समान देखिन्छ ।
मणिग्रीवको कथा पतन र पुनरुत्थानको कथा हो । हिंसा, मद्य, व्यभिचार र दुराचारमा लिप्त मणिग्रीव समाजबाट तिरस्कृत हुन्छ। तर उसकी पत्नीले सुपतिव्रता भएर साथ छोड्दिनन् । उग्रदेवको उपदेशमा पुरुषोत्तम मासमा दीपदान हुन्छ । दीपदानको फलस्वरूप अर्को जन्ममा ऊ चित्रबाहु राजा बन्छ । यो कथाको तात्पर्य हो : मानिस जति पतित भए पनि प्रकाशतर्फ फर्कियो भने सम्भावना समाप्त हुँदैन । दीपदान यहाँ केवल तेल र बत्ती होइन । अन्धकारमा चेतनाको एक सानो ज्योति हो । साथै, दीपदानले पुरुषोत्तम महिनामा दीपदान गर्नुपर्छ भने कर्मकाण्डको स्थापना पनि गर्छ |
कदर्य/चित्रशर्माको कथा लोभ र निर्धारित कर्मत्याग वा निर्धारित कर्म नगर्ने प्रवृत्तिले मान्छेलाई कसरी पतन गराउँछ भन्ने चेतावनी हि । धन जम्मा गर्ने तर न आफैँ उपभोग गर्ने, न दान गर्ने, न धर्म गर्ने, न अरूको हित गर्ने मानिस अन्ततः प्रेतवत् जीवन बिताउँछ । लोभले मान्छेलाई जीवित हुँदै प्रेत बनाउँछ । कथामा कदर्यले प्रेत र वानरयोनि भोग्छ, तर पुरुषोत्तम मासको संयोगले उद्धार पाउँछ । यो प्रसङ्गले वैदिक कथावस्तुको एक स्थायी सत्य उद्घाटन हुन्छ किकर्म कठोर छ, तर भगवान्को करुणा, कृपा त्यो भन्दा महान् छ ।
पुरुषोत्तम मास माहात्म्यका केही अध्यायहरूमा व्रतविधि, आहार, स्नान, पूजा, प्राणप्रतिष्ठा, उद्यापन, दान, अतिथि–सत्कार, गृहस्थधर्म र पतिव्रता धर्मका नियमहरू विस्तृत छन् । यी अध्यायहरूलाई आजको समयमा यान्त्रिक रूपमा होइन, विवेकपूर्वक पढ्नुपर्छ । कतिपय प्राचीन सामाजिक व्यवस्था, जातिगत निषेध, स्त्री–आचारका कठोर नियमहरू आजको मानवअधिकार, समानता र आधुनिक स्वास्थ्य–विज्ञानसँग सीधै मेल नखान सक्छन् । त्यसैले सार ग्रहण गर्नुपर्छ । असमानता होइन अनुशासन ग्रहण गर्नुपर्छ । अन्याय होइन अपितु पवित्रता ग्रहण गर्नुपर्छ ।
श्रीपुरुषोत्तम मासको वास्तविक सन्देश चार तहमा बुझ्नुपर्छ । पहिलो, समयको (Time) पवित्रीकरण । अतिरिक्त समय पनि ईश्वरको हो । दोस्रो, मनको रूपान्तरण अर्थात् शोक, लोभ, अहं, अपमान र असफलता साधनामा बदलिन सक्छन् । तेस्रो, सामाजिक पुनर्स्थापना अर्थात् जसलाई समाजले हेप्छ, त्यही ईश्वरको आश्रय पाएपछि महान् हुन सक्छ । चौथो, आफ्नो अस्तित्वको खोज गर्नु, त्यसको प्राप्ति गर्नु र अर्थपूर्ण जीवन प्राप्त गर्ने कर्तव्य प्रत्येक मान्छेको हो । मलमासले श्रीविष्णुको सहयोगले आफ्नो अस्तित्व प्राप्त गरेको छ यही कथाको आध्यात्मिक लोकतन्त्र हो ।
सारमा, श्रीपुरुषोत्तम मासको कथाका विभिन्न प्रसंगहरूले मान्छेलाई प्रेरणा प्रदान गर्छ कि समयलाई तुच्छ नसम्झ, दुःखलाई व्यर्थ नसम्झ, उपेक्षितलाई अशुभ नसम्झ, र आफ्नै जीवनका खाली समयहरूलाई निरर्थक नसम्झ । ईश्वरको नाम, दान, साधना, सेवा, संयम र आत्मचिन्तनले ‘मल’ पनि ‘पुरुषोत्तम’ बन्न सक्छ । यही श्रीपुरुषोत्तम मासको अमृत हो । तेसैले पुरुषोत्तम मासको भौतिक ब्रत, उपासना गरिरहंदा यसको दार्शनिक तथा मनोबैज्ञानिक पक्ष पनि बुझौं- | वैदिक परम्परामा विकसित भएका हरेक पर्वहरूले मानवीय जीवन अर्थपूर्ण बनाएर जिउन प्रेरित गर्छ । अर्कोरित हजारौँ वर्षदेखि हाम्रो समाजले विकास गरेको र मान्दै आएका यस्ता पर्वहरूको संरक्षण, सम्वर्धन र निरन्तरताको जिम्मा पनि हाम्रै हुन्छ । अन्धविश्वास ठानेर तिरस्कार गरियो भने हरेक क्षण वैदिकहरूले आफ्नो पहिचान र अस्तित्व गुमाउने छौ ।

प्रतिक्रिया