–डा. गोविन्दशरण उपाध्याय ।
आज म एउटा यस्तो विषयमा चर्चा गर्न चाहन्छु, जुन हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। हामीमध्ये प्रायः सबैले मोबाइल फोन, टेलिभिजन, कम्प्युटर तथा अन्य डिजिटल उपकरणहरूको प्रयोग गर्छौं। सूचना, सञ्चार, शिक्षा, मनोरञ्जन, व्यापार तथा प्रशासनिक कार्यलाई सहज बनाउन यी उपकरणहरूले महत्वपूर्ण योगदान दिएका छन्। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको पहुँचमा रहेका यी साधनहरू आधुनिक जीवनका अपरिहार्य अंग बनेका छन्। तर विडम्बना के छ भने, यही सुविधा क्रमशः धेरै मानिसका लागि अदृश्य पासोमा परिणत हुँदै गएको छ ।
हामीमध्ये कति जना यस्ता छौं, जसले ‘एकछिन मात्र टिकटक हेर्छु’ भनेर मोबाइल खोलेपछि एक-दुई घण्टा बितेको थाहा नै पाउँदैनौं? ‘अझै एउटा भिडियो मात्र हेर्छु’ भन्ने सोचले सुरु भएको स्क्रोलिङ कहिलेकाहीँ घण्टौंसम्म चलिरहन्छ। समय बितेको मात्र होइन, आफूले समय गुमाइरहेको अनुभूति समेत हुँदैन। यही अवस्थालाई आधुनिक मनोविज्ञानले डिजिटल एडिक्सन (Digital Addiction) वा समस्याग्रस्त डिजिटल प्रयोग (Problematic Digital Use) को प्रारम्भिक संकेतका रूपमा हेर्छ ।
विश्व स्वास्थ्य संगठन (WHO) ले सन् २०१९ देखि “गेमिङ डिसअर्डर” लाई मानसिक तथा व्यवहारजन्य विकारको रूपमा अन्तर्राष्ट्रिय रोग वर्गीकरण (ICD-11) मा समावेश गरेको छ। यसले डिजिटल माध्यमको अत्यधिक प्रयोग केवल बानी मात्र नभई मानसिक स्वास्थ्यसँग सम्बन्धित गम्भीर चुनौती हुनसक्ने तथ्यलाई औपचारिक मान्यता दिएको छ। विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पनि अत्यधिक सामाजिक सञ्जाल, अनलाइन गेम तथा भिडियो प्लेटफर्मको प्रयोगले एकाग्रता, स्मरणशक्ति, निद्रा, आत्मनियन्त्रण तथा सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने देखाएका छन् ।
आज धेरै अभिभावक आफ्ना साना बालबालिकालाई खाना खुवाउन, रोइरहेको बच्चालाई शान्त पार्न वा आफ्ना कामहरू गर्न सजिलो होस् भनेर मोबाइलमा कार्टुन देखाउने गर्छन्। प्रारम्भमा यो सामान्य र सहज उपाय जस्तो देखिए पनि दीर्घकालीन रूपमा यसले बालबालिकामा डिजिटल निर्भरता, चिडचिडापन, ध्यान केन्द्रित गर्न नसक्ने समस्या तथा सामाजिक अन्तरक्रियामा कमी ल्याउन सक्छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले बालबालिकाको स्क्रिन समय नियन्त्रण गर्नुपर्ने आवश्यकता बारम्बार औंल्याएको छ ।
विद्यार्थीहरूको अवस्था पनि कम चिन्ताजनक छैन। “एकछिन गेम खेल्छु अनि पढ्न बस्छु’ भनेर सुरु भएको खेल कहिलेकाहीँ घण्टौंसम्म चलिरहन्छ। समय बितेको थाहा नपाई रात ढलिसकेको हुन्छ र अन्ततः ‘भोलिदेखि खेल्दिन’ भन्ने आत्मग्लानिसहित कम्प्युटर बन्द गरिन्छ। तर अर्को दिन फेरि उही चक्र दोहोरिन्छ। मनोविज्ञानमा यसलाई व्यवहारिक लत (Behavioral Addiction) को विशेषता मानिन्छ, जहाँ व्यक्तिले नकारात्मक परिणाम थाहा हुँदाहुँदै पनि आफ्नो व्यवहार नियन्त्रण गर्न सक्दैन ।
राति अबेरसम्म भिडियो हेर्ने, गेम खेल्ने वा सामाजिक सञ्जालमा समय बिताउने प्रवृत्तिले निद्राको गुणस्तरमा गम्भीर असर पारिरहेको छ। वैज्ञानिक अनुसन्धानहरूले मोबाइल तथा अन्य डिजिटल स्क्रिनबाट निस्कने नीलो प्रकाश (Blue Light) ले मेलाटोनिन हर्मोनको उत्पादनमा बाधा पुर्याउने र निद्राको प्राकृतिक चक्र बिगार्ने प्रमाण प्रस्तुत गरेका छन्। परिणामस्वरूप बिहान थकान, कार्यक्षमतामा कमी, मानसिक तनाव तथा भावनात्मक असन्तुलन देखिन सक्छ ।
डिजिटल लतको अर्को गम्भीर पक्ष आत्मनियन्त्रणको ह्रास हो। हरेक पटक ‘अब धेरै मोबाइल चलाउँदिन’, ‘आजपछि अनावश्यक भिडियो हेर्दिन’ वा ‘अब गेम खेल्न छोड्छु’ भन्ने निर्णय गरिन्छ। तर केही समयपछि पुनः त्यही व्यवहार दोहोरिन्छ। मनोविज्ञानका अनुसार यस्तो अवस्था मस्तिष्कको डोपामाइन पुरस्कार प्रणाली (Dopamine Reward System) सँग सम्बन्धित हुन्छ। सामाजिक सञ्जालका ‘लाइक’, ‘कमेन्ट’, नयाँ भिडियो, गेमको नयाँ स्तर वा अनपेक्षित सूचनाहरूले मस्तिष्कमा डोपामाइनको सानो तर बारम्बार स्राव गराउँछन्, जसले व्यक्तिलाई पुनःपुनः त्यही क्रियाकलापमा फर्किन प्रेरित गर्छ।
विश्वका विभिन्न देशहरूमा डिजिटल लतका कारण गम्भीर सामाजिक तथा मानसिक समस्याहरू देखिएका छन्। भारतको गाजियावादमा मोबाइल गेम खेल्न रोक लगाइएका तीन दिदीबहिनीले आत्महत्या गरेको घटना व्यापक चर्चामा आएको थियो। नेपालमा पनि ‘कति मोबाइलमा झुण्डिएको?’, ‘कति कम्प्युटरमा बसेको?’ भन्ने अभिभावकका गुनासा प्रायः प्रत्येक घरका साझा अनुभव बनिसकेका छन्। विद्यालय, परिवार तथा समाजमा डिजिटल निर्भरता एउटा बढ्दो चुनौतीका रूपमा देखापरेको छ ।
आजको यथार्थ के हो भने डिजिटल उपकरणहरू स्वयं समस्या होइनन्। समस्या तिनको असचेत, अनियन्त्रित र उद्देश्यहीन प्रयोग हो। मोबाइल, कम्प्युटर वा इन्टरनेट ज्ञान, सीप, व्यवसाय, अनुसन्धान तथा सामाजिक विकासका लागि अत्यन्त उपयोगी साधन हुन्। तर जब मानिस आफैं डिजिटल प्रणालीको नियन्त्रणमा पर्न थाल्छ, तब स्थिति उल्टो हुन्छ। त्यसबेला हामी डिजिटल साधनको उपयोग गरिरहेका हुँदैनौं; बरु डिजिटल प्रणालीले हाम्रो समय, ध्यान, व्यवहार र निर्णय प्रक्रियालाई नियन्त्रण गरिरहेको हुन्छ ।
यसको प्रत्यक्ष असर पारिवारिक सम्बन्धमा देखिन थालेको छ। एउटै घरमा बस्ने मानिसहरूबीच संवाद घटिरहेको छ। परिवारसँग बिताउनुपर्ने समय स्क्रिनमा खर्च भइरहेको छ। सामाजिक भेटघाट, सांस्कृतिक सहभागिता, धार्मिक अभ्यास तथा सामुदायिक उत्तरदायित्वहरू क्रमशः कमजोर बन्दै गएका छन्। डिजिटल संसारमा अत्यधिक उपस्थित हुँदा वास्तविक जीवनका सम्बन्धहरू ओझेलमा पर्न थालेका छन् ।
मानिस स्वभावतः स्वतन्त्र, विवेकी र निर्णयक्षम प्राणी हो। उपभोक्ताको रूपमा डिजिटल साधनहरू हाम्रो उपयोगका लागि निर्माण भएका हुन्। त्यसैले हामीले साधनमाथि नियन्त्रण राख्नुपर्छ, साधनले हामीमाथि होइन। कुनै पनि प्रविधिले हाम्रो प्राकृतिक स्वतन्त्रता, आत्मनिर्णय क्षमता र मानवीय सम्बन्धहरू कमजोर बनाउनु हुँदैन। तर वर्तमान अवस्थामा सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्महरूले हाम्रो ध्यान र समय कब्जा गर्ने प्रतिस्पर्धा गरिरहेका छन्, जसका कारण हाम्रो स्वतन्त्रता क्रमशः चुनौतीमा परेको छ ।
यस परिस्थितिबाट मुक्त हुन डिजिटल साधनको पूर्ण त्याग आवश्यक छैन; आवश्यक छ सचेत, उद्देश्यपूर्ण र अनुशासित प्रयोग। हामीले आफैंलाई केही प्रश्न सोध्नुपर्छ—मैले अहिले यो मोबाइल किन चलाइरहेको छु? यसले मेरो जीवनमा के योगदान गरिरहेको छ? मैले यसमा बिताएको समयको उचित प्रतिफल पाइरहेको छु कि छैन?
आजदेखि नै डिजिटल अनुशासनको अभ्यास सुरु गर्न सकिन्छ। आवश्यक कामका लागि मात्र डिजिटल साधन प्रयोग गर्ने, भोजनका समयमा मोबाइल टाढा राख्ने, सुत्नुअघि कम्तीमा एक घण्टा स्क्रिन प्रयोग नगर्ने, परिवारसँग प्रत्यक्ष संवादका लागि समय छुट्याउने तथा बालबालिकाको स्क्रिन समय नियमन गर्ने जस्ता साना अभ्यासहरूले ठूलो परिवर्तन ल्याउन सक्छन् ।
निद्राबाट ब्यूँझिएपछि मात्र मानिस जागा हुँदैन, आफ्नो अवस्थाको यथार्थ बुझेपछि पनि जागा हुन्छ। डिजिटल युगमा साँचो जागरण भनेको प्रविधिको उपयोग गर्दै गर्दा त्यसको दास नबन्नु हो। मोबाइल, टेलिभिजन, कम्प्युटर तथा अन्य डिजिटल प्लेटफर्महरूको सदुपयोग, सचेत उपयोग, उद्देश्यपूर्ण उपयोग र परिणाममुखी उपयोग नै आजका प्रत्येक व्यक्तिका लागि अत्यन्त आवश्यक जीवनकला हो। डिजिटल साधनहरू हाम्रो सेवाका लागि हुन्; हाम्रो जीवनलाई नियन्त्रण गर्नका लागि होइनन्। यही चेतना नै डिजिटल लतबाट आत्मसुरक्षाको पहिलो र सबैभन्दा महत्वपूर्ण कदम हो ।
मैले लामो अनुसन्धानपछि लेखेको ‘डिजिटल लतबाट मुक्ति’ नामक पुस्तक प्रकाशित भएको छ | यस पुस्तकमा डिजिटल-प्लेटफर्महरूको सचेत प्रयोग र डिजिटल लतबाट जोगिने र लतबाट मुक्त हुने विभिन्न चरणहरू समेटिएका छन् । यदि यो पुस्तक पढ्न चाहनुहुन्छ भने इनबक्समा संदेश पठाउनुहोस् | यो पुस्तक नि:शुल्क उपलब्ध छैन |

प्रतिक्रिया