डा. गोविन्दशरण उपाध्याय
मानव जीवनको सबैभन्दा गहिरो, संवेदनशील र अर्थपूर्ण सम्बन्धमध्ये दाम्पत्य प्रमुख हो। दाम्पत्य केवल दुई व्यक्तिको सहअस्तित्व मात्र होइन यो दुई चेतनाको सहयात्रा हो । दाम्पत्यमा प्रेम, विश्वास, समझदारी र आत्मबोधको निरन्तर विकास हुँदै जान्छ । तर विडम्बना के छ भने, धेरैजसो दम्पतीहरू आफ्नो सम्बन्धलाई सुदृढ बनाउन प्रयास गर्दा आफूलाई भने बिर्सिन्छन् आफ्नो व्यक्तिगत हेरविचारमा हेलचक्र्याई गर्छन् । उनीहरू बाह्य सम्बन्ध सुधार्न खोज्दा आफ्नै भित्री संसारलाई उपेक्षा गर्छन् । यही कारणले दाम्पत्यमा द्वन्द्व, असन्तोष र मानसिक तनाव उत्पन्न हुन्छ । यस सन्दर्भमा वैदिक दर्शन र आधुनिक मनोविज्ञान दुवैले एकै स्वरमा भन्छन् : ‘पहिले स्वयंलाई माया गर्न सिक, त्यसपछि मात्र अरूलाई साँचो अर्थमा माया गर्न सकिन्छ ।’
उपनिषद्को प्रसिद्ध वाक्य ‘आत्मकामाय सर्वं प्रियं भवति’ (बृहदारण्यक उपनिषद् २.४.५) ले स्पष्ट रूपमा भनेको छ : हामी कुनै पनि वस्तु वा व्यक्ति भन्दा बढी लागि आफ्नै आत्मसन्तुष्टिका लागि माया गर्छौं । अर्थात्, प्रेमको मूल स्रोत बाहिर होइन, भित्र हुन्छ । जब व्यक्ति आफैसँग सन्तुष्ट, सन्तुलित र प्रेमपूर्ण हुन्छ, तब मात्र ऊ आफ्नो जीवनसाथीसँग स्वस्थ सम्बन्ध निर्माण गर्न सक्षम हुन्छ । यसै सत्यलाई आधुनिक मनोविज्ञानले पनि समर्थन गर्छ। Carl Rogers (1902–1987) ले आफ्नो मानववादी मनोविज्ञानमा ‘Self-worth’ र ‘Unconditional positive regard’ लाई स्वस्थ व्यक्तित्वको आधार मानेका छन् । Rogers का अनुसार, जब व्यक्तिले आफूलाई बिना शर्त स्वीकार गर्छ, तब मात्र ऊ अरूसँग साँचो, खुला र प्रेमपूर्ण सम्बन्ध राख्न सक्छ ।
दाम्पत्य जीवनलाई सुदृढ बनाउनका लागि स्वयंप्रेम (Self-love) को अभ्यास तीन तहमा गर्न आवश्यक हुन्छ : शारीरिक, मानसिक र आध्यात्मिक । यी तीनवटै पक्षहरू एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन् । कुनै एक पक्ष कमजोर भएमा सम्पूर्ण दाम्पत्य जीवनमा असर पर्छ ।
सबैभन्दा पहिले, शारीरिक स्वास्थ्य दाम्पत्य जीवनको आधार हो। शरीर स्वस्थ भएमा मात्र मन र आत्मा पनि सन्तुलित रहन्छ । सरसफाई, सन्तुलित खानपिन, पर्याप्त निन्द्रा, नियमित काम र सन्तुलित यौन जीवन—यी सबै शारीरिक स्वास्थ्यका महत्वपूर्ण पक्षहरू हुन् । आधुनिक स्वास्थ्य मनोविज्ञानका अनुसार, नियमित व्यायाम र सन्तुलित आहारले शरीरमा Dopamine, Serotonin र Oxytocin जस्ता हार्मोनहरूको सन्तुलन कायम राख्छ, जसले खुशी, सन्तुष्टि र सम्बन्धमा आत्मीयता बढाउँछ । उदाहरणका लागि Oxytocin लाई ‘Love hormone’ भनिन्छ, जसले दम्पतीबीचको भावनात्मक सम्बन्धलाई सुदृढ बनाउँछ (Carter, 1998)। यदि व्यक्ति शारीरिक रूपमा थकित, अस्वस्थ वा असन्तुलित छ भने, ऊ झर्किफर्की, असन्तोष र यौन असन्तुलनको शिकार हुन्छ जुन दाम्पत्य सम्बन्धमा दूरी ल्याउँने कारण बन्न सक्छ |
यौन जीवन पनि दाम्पत्यको एक महत्वपूर्ण आयाम हो, तर यसलाई केवल शारीरिक क्रिया मात्र होइन, भावनात्मक र मानसिक सम्पर्कको माध्यमका रूपमा बुझ्न आवश्यक छ। Masters and Johnson (1970) ले यौन प्रतिक्रिया चक्र (Sexual response cycle) को अध्ययन गर्दै देखाएका छन् कि सन्तुलित यौन जीवनले दम्पतीबीचको भावनात्मक निकटता र सन्तुष्टि बढाउँछ । तर जब यौन सम्बन्ध केवल दायित्व वा दबाबमा आधारित हुन्छ, तब त्यसले सम्बन्धमा तनाव ल्याउँछ । त्यसैले, यौन जीवनमा पनि पारस्परिक सम्मान, समझदारी र खुलापन आवश्यक हुन्छ।
दोस्रो, मानसिक स्वास्थ्य दाम्पत्य जीवनको केन्द्रबिन्दु हो । मानसिक रूपमा सन्तुलित व्यक्ति मात्र स्वस्थ सम्बन्ध बनाउन सक्षम हुन्छ । तनाव, चिन्ता, शोक र नकारात्मक सोचले दाम्पत्य सम्बन्धलाई कमजोर बनाउँछ । आधुनिक मनोविज्ञानले देखाएको छ कि दीर्घकालीन तनाव (Chronic stress) ले व्यक्तिको सोच, व्यवहार र भावनात्मक प्रतिक्रिया प्रणालीलाई प्रभावित गर्छ (Sapolsky, 2004)। यस्तो अवस्थामा व्यक्ति सानो कुरामा पनि क्रोधित हुन्छ । संवाद कमजोर हुन्छ र असमझदारी बढ्छ ।
Aaron Beck (1921–2021) को Cognitive theory अनुसार, मानिसका विचारहरूले नै उसको भावना र व्यवहारलाई निर्धारण गर्छन् । यदि दम्पतीहरू नकारात्मक सोच—जस्तै ‘मेरो पार्टनरले मलाई बुझ्दैन’ वा ‘हाम्रो सम्बन्ध बिग्रँदैछ’—मा केन्द्रित हुन्छन् भने, उनीहरूको व्यवहार पनि त्यस्तै नकारात्मक हुन्छ । यसको विपरीत, सकारात्मक सोचले सम्बन्धलाई प्रेमिल बनाउँछ। यसैले दाम्पत्य जीवनमा सकारात्मक दृष्टिकोण, सहानुभूति र खुला संवाद अत्यन्त आवश्यक हुन्छ।
मानसिक स्वास्थ्यको अर्को महत्वपूर्ण पक्ष हो : Emotional regulation (भावनात्मक नियन्त्रण)। Daniel Goleman (1995) ले भावनात्मक बुद्धिमत्ता (Emotional Intelligence) लाई सफल सम्बन्धको आधार मानेका छन् । जुन व्यक्तिले आफ्ना भावनाहरू बुझ्न, नियन्त्रण गर्न र अरूको भावनालाई सम्मान गर्न सक्छ, उसले दाम्पत्य जीवनमा सन्तुलन कायम राख्न सक्छ । उदाहरणका लागि, रीसका बखतमा मौन रहनु, सहानुभूतिपूर्वक सुन्नु र समाधानमुखी संवाद गर्नु—यी सबै भावनात्मक परिपक्वताका संकेत हुन् ।
तेस्रो, आध्यात्मिक स्वास्थ्य दाम्पत्य जीवनको आत्मा हो। आध्यात्मिकता भन्नाले केवल धार्मिक कर्मकाण्ड मात्र होइन, आफ्नो अस्तित्वको गहिरो अर्थ बुझ्नु हो । जब व्यक्ति आफ्नो मूल्य बुझ्छ, तब उसले अरूलाई पनि सम्मान गर्न सिक्छ । उपनिषदहरूले आत्मबोधलाई जीवनको परम लक्ष्य मानेका छन् । जब व्यक्ति ‘को म हुँ?’ भन्ने प्रश्नको उत्तर खोज्न थाल्छ, तब ऊ बाह्य आश्रितताबाट मुक्त भएर आन्तरिक शान्ति प्राप्त गर्छ।
आधुनिक मनोविज्ञानमा पनि Spirituality लाई मानसिक स्वास्थ्यसँग जोडेर हेरिएको छ । Viktor Frankl (1905–1997) ले आफ्नो Logotherapy मा जीवनको अर्थ (Meaning) लाई मानसिक स्वास्थ्यको मूल आधार बताएका छन् । Frankl का अनुसार, जब व्यक्तिले आफ्नो जीवनको अर्थ पत्ता लगाउँछ, तब ऊ कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छ । दाम्पत्य जीवनमा पनि यही कुरा लागू हुन्छ—यदि दम्पतीहरूले आफ्नो सम्बन्धलाई केवल भौतिक आवश्यकतामा सीमित नराखी, एउटा आध्यात्मिक यात्रा (Spiritual journey) का रूपमा हेर्छन् भने, उनीहरूको सम्बन्ध अझ गहिरो र स्थायी हुन्छ ।
आध्यात्मिक अभ्यासहरू—जस्तै ध्यान (Meditation), प्रार्थना, स्वाध्याय र आत्मचिन्तनले मनलाई शान्त बनाउँछन् र आत्मबोध बढाउँछन् । अनुसन्धानहरूले देखाएका छन् भने नियमित ध्यानले तनाव कम गर्छ, भावनात्मक सन्तुलन बढाउँछ र सम्बन्धमा सन्तुष्टि ल्याउँछ (Kabat-Zinn, 2003) । जब दम्पतीहरूले सँगै ध्यान वा आध्यात्मिक अभ्यास गर्छन्, तब उनीहरूको सम्बन्धमा एक प्रकारको गहिरो एकता (unity) अनुभव हुन्छ ।
यसरी हेर्दा, दाम्पत्य जीवनको वास्तविक सफलता बाह्य साधनहरूमा होइन, भित्री सन्तुलनमा निर्भर हुन्छ । यदि व्यक्ति आफैसँग असन्तुष्ट छ भने, उसले अरूसँग पनि सन्तुष्ट सम्बन्ध राख्न सक्दैन। त्यसैले, दाम्पत्य जीवनमा पहिलो कदम भनेको स्वयंलाई माया गर्नु हो—आफ्नो शरीरको ख्याल राख्नु, आफ्नो मनलाई शान्त राख्नु र आफ्नो आत्माको अर्थ बुझ्नु।
सारमा भन्नुपर्दा, दाम्पत्य जीवन एउटा कलापूर्ण अवस्था हो जुन निरन्तर अभ्यास र सचेतनताले मात्र सुन्दर बन्न सक्छ । उपनिषद्को ‘आत्मकामाय सर्वं प्रियं भवति’ भन्ने सिद्धान्त र आधुनिक मनोविज्ञानका तथ्यहरू दुवैले एउटै सन्देश दिन्छन्—स्वयंप्रेम नै दाम्पत्य प्रेमको आधार हो । जब व्यक्ति आफूलाई प्रेम गर्छ, तब ऊ स्वतः अरूलाई पनि प्रेम गर्न सक्षम हुन्छ । त्यसैले, दाम्पत्य जीवनलाई सुखद, सन्तुलित र अर्थपूर्ण बनाउनका लागि प्रत्येक व्यक्तिले पहिले आफ्नै भित्री संसारलाई सुदृढ बनाउन आवश्यक छ । यही नै साँचो प्रेमको मार्ग हो, यही नै सफल दाम्पत्य जीवनको रहस्य हो

प्रतिक्रिया