–डा. गोविन्दशरण उपाध्याय ।
मानव जीवनको सबैभन्दा मौलिक र अपरिहार्य आवश्यकता शारीरिक, मानसिक, सांस्कृतिक र बौद्धिक आरोग्य हो । आरोग्य अर्थात् समग्र स्वास्थ्य बिना न त व्यक्तिको समुचित विकास सम्भव हुन्छ, न समाजको स्थायित्व र समृद्धि नै सुनिश्चित हुन सक्छ । आजको तीव्र गतिमा परिवर्तनशील विश्व जहाँ भौतिक प्रगति, प्रविधिको विस्तार र प्रतिस्पर्धात्मक जीवनशैलीले मानिसलाई निरन्तर मानसिक दबाबमा रहेको छ । यस्तो अवस्थामा आरोग्यको प्रश्न केवल व्यक्तिगत स्वास्थ्यको विषय मात्र होइन, एक वैश्विक सरोकारको विषय पनि हो । यसै परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय आरोग्य दिवसको स्थापना भएको हो, जसको आरम्भ नेपालको आग्रहमा United Nations द्वारा घोषणा गरेको हो र यो प्रत्येक वर्ष अप्रिल १५ का दिन मनाइन्छ । यस दृष्टिले हेर्दा, अन्तर्राष्ट्रिय आरोग्य दिवस नेपालीहरूको लागि केवल एक पर्व मात्र होइन गौरवको विषय पनि हो । यसले नेपाललाई विश्व समुदायमा एक विशिष्ट पहिचान प्रदान गरेको छ ।
आरोग्यको अवधारणा अत्यन्त व्यापक छ। यसलाई केवल रोगको अभावको रूपमा मात्र बुझ्नु अपर्याप्त हुन्छ । World Health Organization ले आरोग्यलाई ‘शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण सुसम्पन्न अवस्था’ को रूपमा परिभाषित गरेको छ (WHO, 1948)। यो परिभाषाले आरोग्य समग्र स्वास्थ्य हो । नेपाली समाजमा पनि आरोग्यको अवधारणा परम्परागत रूपमा समग्र र समन्वित रहेको पाइन्छ । वेद, उपनिषद्, पुराण तथा आयुर्वेदले शरीर, मन र आत्माको सन्तुलनलाई आरोग्यको आधार मानेका छन् ।
दार्शनिक दृष्टिले हेर्दा, आरोग्य केवल शारीरिक अवस्था होइन, जीवनशैली र नैतिक आचरणसँग गहिरो रूपमा सम्बन्धित छ। Hippocrates (460 BCE–370 BCE) ले ‘Let food be thy medicine and medicine be thy food’ भन्ने प्रसिद्ध कथनमार्फत आरोग्यलाई जीवनशैलीसँग जोड्दै प्राकृतिक उपचारको महत्वलाई जोड दिएका छन् । वैदिक, जैन तथा बौद्ध दृष्टिकोणमा आरोग्यको आधार नै सन्तुलित आहार, संयमित जीवन र प्रकृतिसँगको समन्वय हो ।
पूर्वीय दर्शनमा आरोग्यलाई अझ गहिरो रूपमा व्याख्या गरिएको छ। आयुर्वेदमा “समदोषः समाग्निश्च समधातु मलक्रियाः। प्रसन्न आत्मेन्द्रिय मनः स्वस्थ इत्यभिधीयते॥’ भन्ने श्लोकमार्फत आरोग्यको समग्र परिभाषा दिएको छ । यो परिभाषाले शरीरका जैविक तत्त्वहरू, मन, इन्द्रिय र आत्माको सन्तुलनलाई आरोग्यको आधार मान्दछ । यस प्रकारको समग्र दृष्टिकोण आजको आधुनिक स्वास्थ्य विज्ञानमा पनि अत्यन्त प्रासंगिक छ ।
अन्तर्राष्ट्रिय आरोग्य दिवसको सन्दर्भमा नेपालले प्रस्तुत गरेको अवधारणा केवल औपचारिक कार्यक्रम मात्र होइन मानव जीवनको समग्र कल्याणका लागि एक दार्शनिक र व्यावहारिक पहल हो । नेपालको सांस्कृतिक र दार्शनिक परम्परामा आरोग्यलाई धर्मसँग जोडिएको पाइन्छ । वैदिक दर्शनमा “धर्म, अर्थ, काम र मोक्ष” को सन्तुलित प्राप्ति नै जीवनको लक्ष्य मानिन्छ जसमा आरोग्य आधारभूत शर्तको रूपमा रहेको छ। Sarvepalli Radhakrishnan (1888–1975) ले “A healthy mind in a healthy body is the foundation of a meaningful life” भन्ने विचार प्रस्तुत गर्दै आरोग्यलाई जीवनको सार्थकताको आधार बताएका छन् ।
आजको सन्दर्भमा अन्तर्राष्ट्रिय आरोग्य दिवसको आवश्यकता अझ बढी देखिन्छ । आधुनिक जीवनशैली, डिजिटल लत, मानसिक तनाव, असन्तुलित आहार, प्रदूषण र सामाजिक अलगावले मानिसको आरोग्यमा गम्भीर असर पारिरहेको छ । Sigmund Freud (1856–1939) ले मानसिक स्वास्थ्यलाई व्यक्तिको व्यवहार र व्यक्तित्वको केन्द्रबिन्दु मानेका छन्, र ‘Unexpressed emotions will never die’ भन्ने कथनमार्फत मानसिक आरोग्यको महत्वलाई जोड दिएका छन् यसले देखाउँछ कि आरोग्य केवल शारीरिक होइन, मानसिक सन्तुलन पनि अत्यन्त आवश्यक छ ।
नेपालमा परम्पपरागत रूपमा प्राचीन ज्ञान र आधुनिक विज्ञानको समन्वय सम्भव भएको कारणले अन्तर्राष्ट्रिय आरोग्य दिवसको विशेष महत्वपूर्ण छ । नेपाली समाजमा योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा जस्ता परम्परागत अभ्यासहरू अझै जीवित छन्। स्वामी विवेकानन्दले (1863–1902) ‘You will be nearer to Heaven through football than through the study of the Gita’ भन्ने कथनमार्फत शारीरिक स्वास्थ्यको महत्वलाई व्यावहारिक रूपमा प्रस्तुत गरेका छन् । यसले आरोग्यलाई जीवनको सक्रियता र ऊर्जासँग जोड्छ।
अन्तर्राष्ट्रिय आरोग्य दिवसले नेपाललाई विश्व समुदायमा आरोग्यसम्बन्धी चेतना फैलाउने अवसर प्रदान गरेको छ। यसले नेपालीहरूलाई आफ्नो सांस्कृतिक सम्पदा र परम्परागत ज्ञानप्रति गर्व गर्न प्रेरित गर्दछ। साथै, यसले आधुनिक मानसिक स्वास्थ्य चुनौतीहरूको सामना गर्न सामूहिक प्रयासको आवश्यकता पनि उजागर गर्दछ ।
दार्शनिक रूपमा हेर्दा, आरोग्य नै नैतिक जीवनको आधार हो। अरिस्टोटलले (384 BCE–322 BCE) ले ‘Happiness depends upon ourselves’ भन्दै आरोग्यलाई सुख र नैतिक जीवनसँग जोडेका छन् । यदि व्यक्ति आरोग्यवान् छैन भने उसले न त नैतिक कर्तव्य पूरा गर्न सक्छ, न समाजमा योगदान दिन सक्छ । यसैले आरोग्यलाई नैतिक जिम्मेवारीको रूपमा पनि बुझ्नुपर्छ । यसको सिधा अर्थ हो हरेक व्यक्ति आफ्नो, आफन्तको समग्र आरोग्यप्रति पूर्णरूपमा सचेत रहनुपर्छ । उपनिषद्ले आफुलाई सन्चो छ भने विश्व सुखी हुन्छ’ त्यसै भनेका होइनन् |
अन्तर्राष्ट्रिय आरोग्य दिवसको अर्को महत्वपूर्ण पक्ष यसको सामाजिक सन्देश हो। यसले स्वास्थ्य सेवाको समान पहुँच, जनचेतना, र नीतिगत सुधारको आवश्यकता औंल्याउँछ। Amartya Sen (1933– ) ले ‘Health is not just a commodity but a basic human capability’ भन्दै आरोग्यलाई मानव अधिकारको रूपमा व्याख्या गरेका छन् । यसले आरोग्यलाई सामाजिक न्यायसँग जोड्छ ।
समग्रमा, अन्तर्राष्ट्रिय आरोग्य दिवस नेपालीहरूको लागि गौरवको विषय मात्र होइन, वर्तमानको अपरिहार्य आवश्यकता पनि हो । यसले नेपाललाई विश्वमा एक जिम्मेवार राष्ट्रको रूपमा प्रस्तुत गर्दछ, जसले मानव कल्याणका लागि महत्वपूर्ण पहल गरेको छ । आज विश्वभरी आरोग्य संकट महामारीका रूपमा फैलिएको छ | त्यसैले आरोग्य दिवस र यसले दिने आरोग्य सम्बन्धि सान्दर्भिकता अझ बढेको छ । यो दिवस आरम्भ गर्न जीवन विज्ञानका संस्थापक भानुजी र उहाँका अभिन्न मित्र रमेशजीसहित अनेकौं साधकहरूको बैचारिक र व्याबहारिक योगदान रहेको छ |
साच्चिकै भन्ने हो भने आरोग्यलाई केवल व्यक्तिगत विषय नभई सामाजिक, नैतिक र वैश्विक उत्तरदायित्वको रूपमा बुझ्न आवश्यक छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसले सन्देश दिन्छ कि स्वस्थ व्यक्ति, स्वस्थ समाज र स्वस्थ विश्व निर्माणका लागि समन्वित प्रयास आवश्यक छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने अन्तराष्ट्रिय आरोग्य दिवसले नेपाल र नेपाल वाहिर रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो सांस्कृतिक पहिचान, दार्शनिक दृष्टिकोण र मानवीय मूल्यहरूको पुनःस्मरण गर्ने अवसर बनेको छ । यसले आरोग्य नै जीवनको आधार हो, र यसको संरक्षण नै हाम्रो पहिलो कर्तव्य हो भन्ने संदेश विश्वलाई दिन्छ | विश्वका लागि नेपालीले दिएको महत्वपूर्ण वरदान हो ।
सर्वे भवन्तु सुखिन:

प्रतिक्रिया