-डा. गोविन्दशरण उपाध्याय ।
१. भोट खसाल्ने दिन नजिक आउंदै गर्दा मन अन्यौलगस्त र सोच्नै नसक्ने गरी अशान्त हुँदै गएको छ । लोकतन्त्रमा भोट हाल्नु पर्छ तर भोटप्रति निकै वितृष्णा बढेको छ । त्यसको कारण विगतको राजनीतिको दुष्ट इतिहास नै हो ।
२. राजनीति सेवा हो कि पेशा हो – नेपाली राजनीतिमा यसको कुनै सही परिभाषा छैन । लोकतन्त्र होस् वा प्रजातन्त्र, नेपालीका लागि सबैभन्दा ठूलो छल राजनीति ‘सेवा’ हो भन्ने परिभाषा हो । सत्य के हो भने नेपाली राजनीतिको ९९% नेतृत्व राजनैतिक पेसाकर्मी हुन्, सेवाकर्मी पटक्कै होइनन् ।
३. नेपाली राजनीतिक संस्कारको सबैभन्दा उदेकलाग्दो पक्ष – यसले आफू (आफ्नो नेता, आफ्नो पार्टी, आफ्ना मान्छे) बाहेक सबैलाई गालीगलौज गर्छ । इसाईले अर्को इसाई समुदायको व्यक्तिलाई पाखण्डी ठानेझैं, एउटा मुस्लिम सम्प्रदायले अर्को मुस्लिम सम्प्रदायलाई काफिर मानेझैं, एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीलाई ‘पूँजीवादी दलाल’ घोषणा गरेझैं समग्रमा खराव नै देख्छन् । एउटा भोटरले कुन् ‘असल वा खराव’लाई बिट दिने ? यस्तो अन्योल मानसिकताका सृजक नेपाली राजनैतिक नेतृत्व नै हो ।
४. मैले जाँदा वर्तमानका जल्दाबल्दा राजनीतिक नेतृत्वले राजतन्त्रलाई गालीगलौज गरिरहेको थियो । त्यसपछि बहुदल आयो । बहुदलमा पार्टीहरूले एकअर्कालाई गालीगलौज गर्न थाले । एकअर्काको लागि एकअर्को “विदेशीको दलाल, भारतीय दलाल, चिनिया दलाल, अमेरिकी दलाल, पश्चिमाको जासुस“ भन्न थाले भने राजतन्त्रवादीहरूलाई उपर्युक्त सबैमिलेर ‘पश्चगामी’ भनिरहेका छन् । के एउटा मतदाताका रूपमा हरेक नेपालीको भोट ‘दलाल’का लागि खस्दै छ ? कुटील राजनैतिक संस्कारले जन्माएको यो अन्यौलता निकै चिन्ताजनक छ । पार्टीहरू दलाल होउन् वा नहोउन् तर एकअर्काले यसै गरी बुझाएका छन् – आफूमात्र सत्यवादी हरिश्चन्द्र !
५. घर कमजोर भयो भने सबैले हेप्छन् । एकअर्कालाई ‘दलाल’ भनिरहंदा विदेशीले खेल्ने नै भए । धर्मनिरपेक्षता नराम्रो अवधारणा होइन तर नेपाली राजैतिक नेतृत्वले धर्मनिरपेक्षतालाई ‘धर्मपरिवर्तन गराउने लाइसेन्स र हिन्दू, बौद्ध, जैन तथा अन्य नेपालका मौलिक संस्कृतिहरू विरुद्ध ‘गालीगलौज’ गर्न पाउने स्वतन्त्रता प्रदान गर्यो । ब्राह्मण हुनु, हिन्दू हुनु हीनताबोधको रूपमा बुझ्न थालियो । नेताहरूले धर्मपरिवर्तनकारी शक्तिहरूसंग हातेमालो गरे । आफ्नालाई हेंला गरे । अनि, सर्वसाधारणमा असन्तोष चुलियो तर एकअर्कालाई ‘दलाल’ देख्ने राजनैतिक संस्कारलाई केही फरक परेन ।
६. नेपालमा आधुनिक विकास भएकै छैन भन्ने कुरा असत्य हो । तर सत्यको अर्को पाटो निकै निराशाजनक छ । जति पनि आधुनिक विकास भएका छन् ती सबै विकास जनताको आवश्यकता, देशको आवश्यकतालाई सम्बोधन गर्नुको लागि नभएर ‘कमिसन’का लागि भएका हुन् । यहाँ सबैको मिलोमतो छ । घूसतन्त्रको एकछत्र साम्राज्य छ । घूसका लागि, कमिसनका लागि एकले अर्कालाई दोषी देखाउनु सिस्टम छ । अचम्मको कुरा के भने सिस्टमका लागि सबै राजनैतिक दल, तिनका झोले र ठूलाहरूको मौन–सहमति छ ।
७. राजनीतिमा सबै जायज हुन्छ भन्ने मानसिकता नेपाली राजनैतिक संस्कारको एउटा आत्मघाती मनोविज्ञान हो । राजनीतिका लागि जातजातिको उपयोग, भूगोलको उपयोग, भाषाको उपयोग यहाँसम्म कि नेपालका मौलिक चिनारीहरूका उपर संगठित र क्रुरतम आक्रमण भैरहंदा पनि नदेख्ने र धेरै ठाउँमा मानवाधिकारको स्वार्थी अवधारणाको खोलमा लुकेर बस्ने राजनैतिक नेतृत्वप्रति जनताको अरुचि हुनु अस्वाभाविक छैन ।
८. देशले यो चूनावपछि कमसेकम १५% महंगाईको भारी बोक्ने तत्थ्य स्थापित नै भैसकेको छ । देशका हरेक जनताले यो वर्षको चुनावमा जनहीं ७५००/– नेरू ऋण बोक्नु पर्ने छ । लगत्तै आउने स्थानीय चुनावका पनि सोही ऋणको तयारी गरे हुन्छ । चुनावी लोकतन्त्रको यो भारी जनताको लागि खुसीको खवर वा भविष्य बन्न सके निकै राम्रो हुन्छ । इतिहासले यस्तो सु–समाचार दिंदैन तर आशा मार्न पनि हुँदैन ।
९. देशमा धेरै मुद्दाहरू छन् । यी मुद्द्दाहरूका जन्मदाता पार्टीहरू नै चुनावी मैदानमा छन् । जनतासंग असल मान्छे चुन्ने विकल्प भन्दा पनि ‘दुष्टहरू मध्ये कम दुष्ट’ वा ‘भ्रष्ट्रहरू मध्ये कम भ्रष्ट्र’ अथवा ‘राजनैतिक पेशाकर्मी मध्ये कम पेशाकर्मी’ लाई भोट दिने निर्विकल्प अवसर छ । सत्य तीतो हुन्छ । नेपालको निर्लज्ज राजनैतिक संस्कारले यस्तो तीतोसत्य सजिलै पचाउन सक्छ ।
१०. भोट हाल्दै गर्दा ‘मेरो भोट राजनैतिक सेवाकर्मी होइन, पेशाकर्मी’लाई हो भन्ने विर्सन सकिन्न । वर्तमान संबिधानले काम गर्यो भने भोट दिनुको अर्थ हो आफ्ना सम्पूर्ण नागरिक अधिकारहरू एउटा यस्तो व्यक्तिलाई मोहोर लगाएर दिनु जसले आफ्नो इच्छाको, स्वार्थको प्रयोग गरेर भोटदातालाई नै गैरनागरिक बनाउन सक्छ ! एउटा सार्वभौम जनताले पेसाकमीलाई आफ्नो अधिकारहरू प्रत्यायोजित गरिरंदा उसले कर्तव्यको पालना गर्छ भन्ने कुरामा कत्ति पनि विश्वास गर्न नसक्नु नेपाली राजनैतिक इतिहासले निर्माण गरेको मनोविज्ञान हो । अहङ्कारमा भरिएका ‘पेशाकर्मी’ले यस्तो कुरा बुझ्न्दैनन् किनभने बुझ्नेर कुनै फाइदा हुँदैन ।
११. मेरो विचारमा कुनै पनि राजनैतिक दल विदेशीको दलाल होइन । व्यक्तिका विषयमा भन्न सकिन्न । जति एकआपसमा राजनैतिक दलले एकअर्कालाई गालीगलौज गरेका छन्, आरोप लगाएका छन् – त्यो उनीहरूको आफ्नो ऐना हो । निर्धक्कसंग भोट दिनुपर्छ तर विवेकपूर्ण तवरले राम्रो, असल मान्छे रोज्नुपर्छ । एउटा भोटदातासंग रोज्ने विकल्प छ । यदि व्यक्ति वा पार्टीहरू सबै खराव नै लाग्छन् भने पनि ती मध्ये सबैभन्दा ‘कम खराब’ रोज्नुनै अहिलेको लागि बुद्धिमानी हुने छ ।
१२. सकारात्मक हुनुको सीमा हुन्छ । नेपाली राजनैतिक संस्कारले यी सबै सीमाहरू तोडेका छन् । आफ्नो अकर्मण्यताको दोष अर्कोलाई थोपर्ने र सबै मिलेर त्यसको दोष विदेशीलाई दिने र पुनः जनताको भावनामा खेल्नमा नेपाली नेतृत्व निकै सिपालु छ । तर भोट हाल्दै गर्दा वैदिक संस्कृतिको निरन्तरता, धर्मपरिवर्तनप्रति रुखो व्यबस्था, घूस र झोलेवादप्रति असहिष्णुता र झूट बोल्नेहरू मध्ये थोरै झुट बोल्नेहरूलाई रोज्नु उचित होला । दोष दिएर मात्रै उम्किन सकिन्न बरू भोट दिएर न्यास्रो पोख्न सकिन्छ ।
१३. तपाईं र मेरो भोटले मेरो, तपाईंको र देशको भलो गर्न सकोस् । आफ्नो भोट आफ्नै लागि घाँटीपासो नबनोस् । भोट प्राप्त गरेकाले पेसाकर्मी होइन, अधिकारकर्मी होइन ‘कर्तव्यकर्मी’को बाटो अवलम्बन गरून् ।

प्रतिक्रिया