चुनावमा सत्य एउटा, अफवाह अर्कै


-नारायण पौडेल

केशव स्थापित आइडिया माष्टर हुन् । उनका आइडिया सुन्दा परिवर्तन चुट्कीका भरमा सम्भव हुन्छ भन्ने लाग्छ । हामी एकै टेलिभिजनमा कार्यक्रम चलाउँथ्यौं । क्यान्टिनमा उनले भने–तपाईं र म साँझ भेटौं । त्यो बसाईंमा उनले एक दुई प्याक पिए पनि । एमालेको अन्तरंग राजनीति, वामदेवको उदय र पतन, गोकर्ण विष्टका बहुरुप लगायतका प्रसङ्गमा उनले गजब गजबका सन्दर्भ सुनाए । भन्दै जादा उनले एउटा यस्तो सन्दर्भ बताए, जुन सन्दर्भ हुँदैनथ्यो भने नेपालको राजनीति आज जहाँ छ सायदै त्यहाँ हुन्थ्यो ।

२०५१ को उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराई र विद्या पाण्डेय आमने सामने थिए । मदन भण्डारीसँग आमनिर्वाचनमा पराजित भएका किसुनजी उनको निधनपछि हुन लागेको उपनिर्वाचनमा उनकै पत्नीसँग प्रतिष्पर्धा गर्दै थिए । प्रतिष्पर्धामा एमालेले सहानुभूतिलाई आधार बनाएको थियो । किसुनजीले राजनीतिक मुद्दालाई अघि सारेका थिए ।

शोकबाट गुज्रिरहेकी विद्याको प्रस्तुति अपेक्षा गरेजस्तो भैरहेको थिएन । सायद उनलाई सहानुभुतिको पात्रमात्र बनाउन खोजिएकोप्रति असन्तुष्टि थियो । रोनाधोना नगरिदिएको भन्दै चुनावी कार्यकर्ता गुनासो गर्थे । उनलाई कुन ठाउँमा बोल्दा के बोल्ने के भन्ने कन्टेण्ट दिने एक प्रमुख पात्र केशव स्थापित पनि थिए । तर माहोल विद्याको पक्षमा बनिरहेको थिएन ।
गौशालाको कार्यक्रममा विद्या बोल्न मात्र के लागेकी थिइन् उनलाई लक्षित गरी सिन्दूर फालियो । उनका पोष्टरमा रातो रंग छरियो । छर्नेले नारा लगाए– नेपाली कांग्रेस जिन्दावाद ! यो खबर देशभर फैलियो । विधवामाथि सिन्दूर छ्याप्न लगाउने ‘असत्ति’ कांग्रेसप्रति मतदाता रिसाए । मौन अवधि शुरु भैहाल्यो । किसुनजीले चुनाव हारे । घटनाको २० वर्षपछि स्थापितले रहस्य खोले– सिन्दूर फाल्ने र रंग पोत्ने हाम्रै मान्छे थिए । चुनावी मसलाले काम गर्यो, कांग्रेसले गाल पायो, हामीले भोट पायौं ।

बहालवाला राष्ट्रपतिसँग सम्बन्धित सो प्रसंग स्थापितकै सहमतिमा मैले समाचार बनाएँ । पछि शीतलनिवासबाट दबाब आएको भन्दै उनले समाचार हटाइदिन आग्रह गरेका थिए । छुटेको गोली नालमा फर्कदैन भनेपछि उनले जोडबल गरेनन् । चुनावमा जे हुन्छन् तिनको प्लट अर्कै हुन सक्छ । चुनाव जित्न आफैंले आफैंलाई आक्रमण गराएका अरु केही प्रसङ्ग पनि छन् ।
पार्टीका झण्डा च्यात्ने, अरुका पार्टी कार्यालयमा हुलहुज्जत गर्ने गैरलोकतान्त्रिक गतिविधिलाई दुरुत्साहन गरौं । जसलो गरेको वा गराएको भएपनि दण्डनीय बनाउँ । स्वच्छ र सभ्य निर्वाचनको वातावरण बनाउँ । चुनाव सार्ने वा बिथोल्ने प्रयासबारे सचेत रहौं !