चर्चित हुँदैमा चुनाव जितिन्न


-नारायण गाउँले ।

बङ्गलादेशकी चर्चित युवा अनुहार तस्निम जाराले चुनाव हारिछन् । के चाहियो र, लोकप्रिय हुँदैमा चुनाव जितिन्न भन्ने उदाहरण हामीलाई मिलिहाल्यो । अक्सफोर्ड पढेकी यी युवाले पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । जुलाई रिभोलुशन भनिने २०२४ को बङ्गलादेशको विद्रोहपछि विद्यार्थी नेताहरूको अगुवाइमा जातीय नागरिक पार्टी (एनसीपी) भन्ने नयाँ दल खुलेको थियो । बङ्गलादेशमा मूलतः दुई पार्टीको एकछत्र राज रहेको देखिन्छ । अवामी लीग, जुन बङ्गलादेश पाकिस्तानकै हिस्सा हुँदैको हो । यो पार्टीले स्वतन्त्रताको लडाइँ लड्यो र पार्टीका संस्थापक शेख मुजीबुर पहिलो राष्ट्रपति बने ।

उनले बङ्गलादेशको संविधानलाई धर्मनिरपेक्ष बनाए । केही आर्थिक सुधार पनि गरे । तर बिस्तारै उनी निरङ्कुश बन्ने र पार्टी पोलिटिक्सलाई बन्द गर्ने बाटोतिर लागे । सैन्य कूमा उनको हत्या भयो । उनीसँगै उनकी श्रीमती, तीन छोरा र दाजुभाइ लगायतका सबै आफन्त मारिएका थिए । उनका दुई छोरी (शेख हसिना र रेहाना) विदेशमा भएकाले बाँचे । पछि शेख हसिना प्रधानमन्त्री बनिन् । नेपोटिज्मदेखि भ्रष्टाचार र विपक्षीलाई दमन गर्नेसम्मका थुप्रै आरोप उनीमाथि थियो । २००९ सालदेखि अस्तिको विद्रोहसम्म उनी बङ्गलादेशको प्रधानमन्त्री थिइन् । यो चुनावमा उनको अवामी लीग प्रतिबन्धित थियो ।

दोस्रो दल हो बङ्गलादेश जातीयतावादी दल बीएनपी यहाँ जातीयको अर्थ राष्ट्रिय भन्ने लाग्छ । यो दलका संस्थापक हुन् पूर्व राष्ट्रपति एवं सैन्य अफिसर जियाउर रहमान । उनको पनि बङ्गलादेशी स्वतन्त्रतामा ठूलो योगदान छ । सैन्य कू’का माध्यमबाट उनी राजनीतिमा आए । संस्थापक राष्ट्रपति शेख मुजीबुर र उनको लगभग सबै परिवार हत्यामा उनको संलग्नताको दाबी गरिन्छ । उनले आर्थिक सुधार र बहुदलीय व्यवस्थालाई पुनः लागू गरे पनि विपक्षीहरूलाई तीव्र दमन गर्ने र नेपोटिज्मको आरोप उनलाई पनि थियो । संविधान संशोधन गरेर उनले धर्मनिरपेक्ष भन्ने हटाई बङ्गलादेशलाई मुश्लिम देश बनाउने र कानुनहरू त्यसै अनुरूप बनाउनेतिर काम गरे । पछि उनको पनि सेनाकै हातबाट हत्या भयो ।

अहिले चुनावमा जितेको दल त्यही बीएनपी हो । उनकी श्रीमती बेगम खालिदा जिया पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । उनको कार्यकालमा पनि भ्रष्टाचार, नेपोटिज्म र दमन तीव्र भएको आरोप थियो । खासगरी उनका छोरा तारिक जियाले आमाको शक्ति र प्रभावको दुरुपयोग गर्दै हदैसम्म भ्रष्टाचार गरेको आरोप थियो । बिजुलीको खम्बा खरीदमा भएको ठूलो घोटालापछि उनको नाम नै खम्बा तारिकका रूपमा बदनाम भएको थियो । उनीमाथि दर्जनौं मुद्दा थिए । तर उनी १७ वर्षदेखि बेलायतमा बस्दै आएका थिए ।

पहिले दोषी करार भए पनि आन्दोलनपछि अदालतले उनलाई सफाइ दियो र अस्ति भर्खर उनी देश फर्किए । अहिले बीएनपीको अद्भूत विजयपछि ६० वर्षका उनी बङ्गलादेशको प्रधानमन्त्री बन्ने पक्का जस्तै छ !
बङ्गलादेशको राजनीति घुम्ने कुर्सीजस्तै यही दुई परिवारमा घुम्दै आए पनि गत डेढ दशकचाहिँ शेख परिवारमैं अड्किएकाले ठूलो आन्दोलनपछि पुनः जिया परिवारमा फर्केको छ । यसलाई नै परिवर्तन मान्न पर्ने स्थिति छ ! सेनाको समर्थन ऐतिहासिक रूपले यही परिवारलाई भएको मानिन्छ ।

प्रतिबन्धित अवामी लीग सेक्युलर थियो । बीएनपी सेक्युलर नभए पनि लिबरल नै मानिन्छ । तर अहिले प्रमुख प्रतिपक्षी दल बनेको जमात–ए–इश्लामीचाहिँ कट्टर धार्मिक दल हो । महिलादेखि अन्य अल्पसङ्ख्यक वर्गका लागि यसका दृष्टि र मान्यता एकदम फरक छन् । नयाँ दल एनसीपीले किन जितेन त ? जनताले भोट नहालेर ।

मुख्य दुई पार्टीमध्ये एक प्रतिबन्धित भएकाले अर्कोले जित्नु स्वाभाविक पनि भयो । नेपालमा कांग्रेस या एमालेमध्ये एउटालाई प्रतिबन्धित गरेर चुनाब लड्ने हो भने अर्कोले जित्न सक्छ । नयाँ र विभिन्न दार्शनिक स्कुलबाट आएका नेताहरू भएकाले यसको स्पष्ट सैद्धान्तिक धार बन्न सकेन । पार्टीभित्रै अनेक धार र फरक मत देखिए । कोही लिबरल । कोही कट्टर धार्मिक । कोही वामपन्थी कोही दक्षिणपन्थी । अन्ततः दक्षिणपन्थ र धार्मिक कट्टरताले पार्टी कब्जा गरेपछि यो नयाँ दलले एक्लै चुनाब नलड़ी कट्टर धार्मिक पार्टीसँग गठबन्धन गर्यो । ११ वटा ससाना पार्टीको समूह बन्यो । जनताले देशभरको अस्तव्यस्तता, अशान्ति र भूराजनीति दुबैलाई सम्बोधन गर्न सक्ने खुबी यो नयाँ दलमा देखेनन् । वैदेशिक लगानी र व्यापार बङ्गलादेशको आर्थिक मेरुदण्ड हो । यसका लागि राजनैतिक उदारवाद र स्थायित्व दुबै चाहिन्छ । खासगरी अवामी लीगका अलि उदारवादी समर्थकले नयाँ पार्टीलाई विश्वास गर्न सकेनन् र बीएनपीलाई नै बरु तै बिसेक देखे । पार्टी पुरानो भए पनि १५–१६ वर्षसम्म कुनै गतिविधि नभएकाले नयाँजस्तै देखियो ।

त्यही गठबन्धन मन नपराई, देशलाई झन् बन्द र पछाडि लैजाने होइन भन्दै तस्निम जाराले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिइन् । फुटबल चिन्ह पाइन् । उनले ४४ हजार भन्दाबढी मत ल्याइन् । यो उनको नैतिक विजय हो । जित्नकै लागि उनले सिद्धान्त, आदर्श र नैतिकतासँग सम्झौता गरिनन् । उनी नयाँ पार्टीको शक्तिशाली पदमा थिइन् । उनकै पार्टी दोस्रो र उनी तेस्रो भएका हुन् । जित्नुमात्रै सबै थोक होइन । आज तस्निम विश्वभरका लागि एउटा आशा र उदाहरण बनेकी छन् । हामीले खिसिट्यूरी गर्नु जरूरी छैन ।

कलिलै छन् । राजनैतिक संस्कार भएकी छन् । खबरदारी र चेतनाका क्षेत्रमा काम गर्दै जाने बताएकी छन् । योग्य पनि छन् । टिकिरहिन् भने एकदिन पक्कै जित्नेछिन् ।