भेलेन्टाइन–डे : सेक्सको व्यापारीकरण र दीगो दाम्पत्यको प्रश्न


-डा.गोविन्दशरण उपाध्याय ।

भेलेन्टाइन–डे नजिकिंदै जाँदा नेपाली किशोरकिशोरीसहित प्रेमको काल्पनिक संसारका लागि तम्तयार हुँदैछन् । विश्वव्यापीकरण र सञ्चार–प्रविधिको तीव्र विस्तारसँगै संस्कृतिहरूबीचको अन्तरसम्बन्ध दिनानुदिन सघन बन्दै गएको छ । यसै क्रममा पश्चिमी सांस्कृतिक परम्परासँग सम्बन्धित भेलेन्टाइन–डे आज विश्वका धेरै मुलुकहरूमा लोकप्रिय उत्सवका रूपमा स्थापित भएको छ । नेपालजस्तो बहुसांस्कृतिक समाजमा पनि यसले विशेषतः युवापुस्तामाझ व्यापक स्थान बनाएको छ । भेलेन्टाइन–डे अंग्रेजी महिना फरबरीको १४ औं दिनमा मनाइन्छ ।

तर भेलेन्टाइन–डेको उत्सव केवल प्रेमको अभिव्यक्ति मात्र हो कि यसले प्रेमलाई उपभोग–संस्कृतिको वस्तुमा परिणत गरिरहेको छ भन्ने प्रश्न गम्भीर बहसको विषय बनेको छ । विशेषतः यस दिन अन्य समयको तुलनामा असामान्य रूपमा बढी कण्डमको विक्री हुनु, प्रेमको आध्यात्मिक तथा नैतिक आयामभन्दा शारीरिक–कामुक आयामलाई प्राथमिकता दिने प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरिन्छ र नेपाली युवापुस्ताका माँझ लोकप्रिय हुनु सांस्कृतिक विचलनका रूपमा बुझ्ने कि सांस्कृतिक आदानप्रदान रूपमा ? उत्तर सजिलो छैन ।

यस सन्दर्भमा भेलेन्टाइन–डेलाई एकातिर सेक्सको व्यापारीकरण गर्ने पर्वका रूपमा आलोचना गरिन्छ भने अर्कोतिर यसलाई दीगो दाम्पत्य सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा पुनव्र्याख्या गर्न सकिने सम्भावनाबारे पनि विचार गर्न सकिन्छ । वैदिक संस्कृतिमा बसन्त पंचमीको पर्वलाई प्रेम–दिवसका रूपमा मनाइने परम्परा छ तर यसमा भेलेन्टाइन–डेका दिनको झैं सेक्सको व्यापारीकरण हुँदैन ।

समकालीन समाजमा प्रेमको अभिव्यक्ति क्रमशः बजारसँग गाँसिँदै गएको छ । फूल, चकलेट, उपहार, होटल–प्याकेज, विशेष कार्यक्रम, सामाजिक सञ्जालमा सार्वजनिक प्रदर्शन—यी सबै भेलेन्टाइन–डेको अनिवार्य अङ्गजस्ता देखिन थालेका छन् । भेलेन्टाइन–डेका सबै क्रियाकलाप गलत हुन्छन् भन्नु अतिवाद हुन्छ तर अविवाहित किशोरकिशोरीहरूले एकआपसमा उपहार साटासाट गर्दा केवल प्रेममात्र प्रकट गरिरहेका हुन्छन् भन्नु सही हुँदैन ।

प्रेमको मूल्य भावनात्मक गहिराइमा नभई उपहारको मूल्यमा नापिन थालेको छ । यस्तो अवस्थामा प्रेम आत्मिक समर्पणभन्दा उपभोग–केन्द्रित क्रियाकलापमा सीमित हुने जोखिम बढ्छ । साथैं भारतीय अनुसन्धानहरूले भेलेन्टाइन–डेका अवसरमा बलात्कारका घटनाहरू बढेको पुष्टी गरेका छन् । युवायुवतिहरूले उपहार आदानप्रदान गर्नु गलत होइन तर ब्लेकमेलिंगमा परेर शारीरिक सम्बन्धमा बाँधिनु अनुचित र अस्वीकार्य हो ।

भेलेन्टाइन–डेको अवसरमा कण्डमको विक्री उल्लेखनीय रूपमा बढ्नु केवल स्वास्थ्य–सचेतनाको संकेत मात्र होइन, यो प्रेमलाई शारीरिक सम्बन्धसँग अत्यधिक जोडेर हेर्ने सामाजिक मनोवृत्तिको सूचक पनि हुन सक्छ । जब प्रेमलाई मुख्यतः काम–उत्तेजनाको माध्यमका रूपमा बुझिन्छ, तब दीर्घकालीन उत्तरदायित्व, पारिवारिक प्रतिबद्धता र नैतिक अनुशासन जस्ता मूल्यहरू ओझेलमा पर्न सक्छन् र समाजमा यस्तै भइरहेको छ ।

यसरी प्रेमको व्यापारीकरणले सम्बन्धलाई क्षणिक आनन्द र उपभोगमा केन्द्रित गराउँछ, जसले दीगो दाम्पत्य सम्बन्ध निर्माण गर्न आवश्यक भावनात्मक स्थायित्व कमजोर पार्ने सम्भावना रहन्छ । यदि भेलेन्टाइन–डेको पर्वले पतिपत्नीका विचमा प्रेम अझै सुमधुर र परिवारलाई दीगो बनाउन सक्छ भने नराम्रो पटक्कै हुँदैन । पूर्वीय वैदिक परम्परामा प्रेम केवल कामुक आकर्षण होइन, यो धर्म, ऋत र आत्मिक एकत्वसँग सम्बद्ध उच्च मूल्य हो। वैदिक मन्त्रहरूमा पति–पत्नीको सम्बन्धलाई हृदय–एकत्व र सहयात्राको रूपमा चित्रित गरिएको छ—

‘समञ्जन्तु विश्वे देवाः समापो हृदयानि नौ।’
(हे देवताहरू! हाम्रा हृदयहरू एकाकार गरून्।)

विवाह संस्कारमा अग्निलाई साक्षी राखेर गरिने सप्तपदी केवल सामाजिक करार होइन, यो जीवनभरको आध्यात्मिक सहयात्राको प्रतिज्ञा हो। यहाँ प्रेम शारीरिक मिलनमा सीमित छैन; यो परस्पर सम्मान, कर्तव्य, सहकार्य र सन्तान तथा समाजप्रतिको उत्तरदायित्वसँग गाँसिएको छ। वैदिक चिन्तनले कामलाई पुरुषार्थमध्ये एक मान्दछ, तर त्यसलाई धर्मको अनुशासनभित्र राख्छ । काम धर्मबाट विचलित भयो भने सम्बन्ध असन्तुलित हुन्छ; धर्मसहितको कामले मात्र दाम्पत्यलाई दीगो बनाउँछ ।

यस सन्दर्भमा प्रेमलाई केवल शारीरिक सन्तुष्टिमा सीमित गर्ने प्रवृत्तिले वैदिक संस्कृतिमा आधारित दाम्पत्य आदर्शलाई कमजोर पार्न सक्छ । वैदिक दृष्टिकोण र व्यबहारमा विवाहित दाम्पत्य बाहेक सेक्स–सम्बन्ध बनाउनु धार्मिक, सांस्कृतिक र पतिपत्नीका विरुद्ध सामाजिक अपराध नै हो ।

आधुनिक मनोविज्ञानले दीगो सम्बन्धका लागि भावनात्मक निकटता, विश्वास, साझा मूल्य र प्रतिबद्धतालाई आधारभूत तत्व मान्दछ । क्षणिक आकर्षण र उत्तेजना सम्बन्धको प्रारम्भिक प्रेरक तत्त्व हुन सक्छ, तर दीर्घकालीन स्थायित्वका लागि मात्र पर्याप्त हुँदैन । क्षणिक उत्तेजनामा स्थापित गरिएको झूटो प्रेममा आधारित सेक्सले भावनात्मक रूपमा ठूलो क्षति पुर्याउने गर्छ । एकपटक धोका खाएपछि पुरुष वा स्त्रीका मनमा शङ्कालुपनको विकास हुन्छ । अनि, व्याबहारिक जीवनमा पनि शंकाले लंका बाल्छ ।

यदि प्रेमलाई बारम्बार काम–केन्द्रित उत्सवका रूपमा मात्र मनाइयो भने, सम्बन्धमा गहिरो संवाद, सहानुभूति र पारस्परिक सम्मान कमजोर हुन सक्छ । प्रेमको स्थायित्व निरन्तर अभ्यास, सहनशीलता र आत्मिक परिपक्वताबाट निर्माण हुन्छ, केवल विशेष दिनको उत्सवबाट होइन । यसैले भेलेन्टाइन–डेले यदि प्रेमको गहिरो मूल्यलाई ओझेलमा पारेर केवल शारीरिक आकर्षणलाई प्राथमिकता दिन्छ भने, त्यसले दीगो दाम्पत्य निर्माणमा सहयोग पुर्याउनु कठिन हुन्छ ।

 सांस्कृतिक आदान–प्रदानको सकारात्मक सम्भावना

यद्यपि भेलेन्टाइन–डेलाई पूर्णतः अस्वीकार गर्नु समाधान होइन । संस्कृतिहरू समयानुसार परस्पर प्रभाव ग्रहण गर्दै विकसित हुन्छन् । प्रश्न यसको अस्तित्वमा होइन, प्रयोगको ढाँचामा छ।

यदि भेलेन्टाइन–डेलाईः पति–पत्नीबीच संवाद र कृतज्ञताको दिनका रूपमा,

प्रतिबद्धताको पुनःस्मरणको अवसरका रूपमा, प्रेमको आध्यात्मिक आयामका बुझ्ने अवसरका रूपमा प्रयोग गरियो भने दाम्पत्य सम्बन्धलाई सुदृढ गर्न सहयोग पुर्याउँछ र भेलेन्टाइन–डे सांस्कृतिक आदान प्रदानको स्वस्थ उदाहरण बन्न सक्छ, जहाँ बाह्य प्रभावलाई आफ्नै मूल्यमान्यतासँग सन्तुलित गरिन्छ ।

भेलेन्टाइन–डे आफैंमा न त पूर्णतः हानिकारक छ, न पूर्णतः लाभदायक। यसको प्रभाव हाम्रो दृष्टिकोण र प्रयोगमा निर्भर छ । यदि यसलाई केवल उपभोग–संस्कृति र काम–केन्द्रित उत्सवका रूपमा मनाइयो भने, यसले प्रेमको व्यापारीकरण गर्दै वैदिक संस्कृतिमा आधारित दीगो दाम्पत्य सम्बन्धलाई कमजोर पार्न सक्छ । विशेषतः अत्यधिक कण्डम विक्री जस्ता तथ्यहरू प्रेमको काम केन्द्रित पुनर्परिभाषाको सामाजिक संकेत हुन सक्छन् ।

बास्तवमा प्रेम कुनै वस्तु होइन यो जीवनभरको साधना हो । प्रेम प्रदर्शनभन्दा प्रतिबद्धता हो, आकर्षणभन्दा उत्तरदायित्व हो, र क्षणिक सुखभन्दा दीर्घकालीन सहयात्राको व्रत हो। यस्तो चेतनाका साथ भेलेन्टाइन–डेलाई हेर्न सकियो भने मात्र आधुनिकता र परम्पराको सन्तुलन सम्भव हुनेछ । अर्कोतिर भेलेन्टाइन–डेको पर्वले नेपाली समाजमा बढ्दो पारपाचुकेको दरलाई घटाएर पतिपत्नीका विचमा प्रेमिल भावना विकसित गर्न मदत गर्ने छ । भेलेन्टाइन–डेको पर्वलाई केवल सेक्सका लागि ब्लेकमैल गर्ने टुलको रूपमा प्रयोग गर्नेहरूबाट सतर्क रहनु पर्छ र यस्तो ब्लेकमेलिंग गर्नेसंग सधैंका लागि सम्बन्धको अन्त्य गर्नु उचित हुन्छ ।