सशस्त्र प्रहरीको ऐतिहासिक योगदान र राष्ट्रिय भरोसा


-शैलेन्द्रकुमार श्रेष्ठ

सशस्त्र प्रहरी बल नेपालको स्थापना ९ माघ २०५७ मा प्रथम अध्यादेश जारी भएसँगै प्रारम्भ भई सोही दिन औपचारिक रूपमा गठन भएको हो । स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको रजत महोत्सवको यस ऐतिहासिक अवसरमा राष्ट्रको शान्ति, सार्वभौमसत्ता र अखण्डताको संरक्षणका लागि अमूल्य सेवा प्रदान गर्नु भएका सम्पूर्ण पूर्वसशस्त्र प्रहरी कर्मचारीहरू तथा हाल सेवारत अधिकृत, जवान र कर्मचारीहरूप्रति हार्दिक सम्मान र गहिरो कृतज्ञता व्यक्त गर्नु प्रत्येक नागरिकको दायित्व हो । साथै, संगठन स्थापनापछि माओवादी द्वन्द्वकालका कठिन घडीहरूमा कुसुम, भालुबाङ, चैनपुर र सद्बरियाजस्ता मोर्चाहरूमा प्रदर्शित अदम्य साहस र वीरताको उच्च मूल्यांकन गर्दै ती घटनालगायत द्वन्द्वकालदेखि वर्तमानसम्म कर्तव्यपालनका क्रममा सर्वोच्च बलिदान अर्पण गर्नु भएका सम्पूर्ण अमर वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

सशस्त्र प्रहरी बलको रजत महोत्सव

आजको विश्व राजनीतिक, सामाजिक र सुरक्षा परिवेश तीव्ररूपमा परिवर्तनशील, जटिल र बहुआयामिक बन्दै गएको छ । खुला सीमा, संगठित अपराध, अवैध तस्करी, मानव बेचबिखन, आतंकवादी जोखिम, आन्तरिक दंगा, सशस्त्र द्वन्द्वको सम्भावना तथा जलवायु परिवर्तनजन्य विपद् यी सबै चुनौतीहरूको प्रभाव नेपाल जस्तो भौगोलिक, राजनीतिक र आर्थिक रूपमा संवेदनशील देशमा प्रत्यक्षरूपमा परेको छ । यस्ता परिस्थितिमा सीमा सुरक्षा सुदृढीकरण, आन्तरिक शान्ति सुरक्षा, दंगा नियन्त्रण, विपद् व्यवस्थापन र आवश्यक पर्दा नेपाली सेनालाई सहयोग पु-याउने जिम्मेवारी वहन गर्दै आएको सशस्त्र प्रहरी बल आज राष्ट्रको एक अपरिहार्य सुरक्षा स्तम्भका रूपमा स्थापित भइसकेको छ ।

हाइब्रिड फोर्सको रूपमा सशस्त्र प्रहरी बल
विश्वका धेरै राष्ट्रहरूले सेना र प्रहरीबीचको कार्यगत रिक्तता पूर्ति गर्न अर्धसैनिक तथा हाइब्रिड सुरक्षा संरचनालाई अंगीकार गरेका छन् । इटलीको Carabinieri, फ्रान्सको Gendarmerie, भारतका CAPF, बंगलादेशको BGB तथा पाकिस्तानका Rangers जस्ता संस्थाहरू यसको उदाहरण हुन् । नेपालको सन्दर्भमा सशस्त्र प्रहरी बलले विगतदेखि वर्तमानसम्म निर्वाह गर्दै आएको बहुआयामिक भूमिका, सैन्य अनुशासनसँगै विशेष परिस्थितिमा प्रहरीस्वरूपको कार्यसम्पादन क्षमता तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा प्राप्त अन्तर्राष्ट्रिय मान्यताले यस बललाई पूर्णरूपमा हाइब्रिड अर्धसैनिक फोर्सका रूपमा स्थापित गरेको छ । सशस्त्र प्रहरी बल शान्तिकाल, संकटकाल तथा द्वन्द्वपछिको अवस्थामा आन्तरिक सुरक्षा, सीमा सुरक्षा, सार्वजनिक शान्ति व्यवस्था, दंगा नियन्त्रण, आतंकवाद प्रतिरोध र नागरिक संरक्षणमा प्रभावकारी रूपमा परिचालित हुँदै आएको छ । नागरिक सुरक्षा (Protection या Civilians) यसको सञ्चालनको केन्द्रीय सिद्धान्त हो, जुन संयुक्त राष्ट्रसंघीय अवधारणासँग पूर्णरूपमा अनुरूप छ ।

ऐतिहासिक योगदान र राष्ट्रिय भरोसा
माओवादी सशस्त्र द्वन्द्वका कठिन दिनहरूमा चैनपुर, भालुवाङ र कुसुमजस्ता मोर्चाहरूमा देखाएको वीरता, अदम्य साहस र सौर्यबाट पहिचान बनाएको सशस्त्र प्रहरी बलले त्यसपछिको विस्तृत शान्ति सम्झौतापछि पनि सुरक्षाको अत्यन्त संवेदनशील संक्रमणकालमा, तराई आन्दोलनलगायत देशका विभिन्न क्षेत्रमा भएको आन्दोलन, संविधानसभा निर्वाचनको सुरक्षा, राजमार्ग संरक्षण, तस्करी नियन्त्रण तथा आन्तरिक अशान्तिका कठिन परिस्थितिहरूमा अग्रपंक्तिमा उभिएर राष्ट्रको सुरक्षा जिम्मेवारी वहन गर्दै आएको गौरवपूर्ण इतिहास बोकेको छ । विशेषतः राजमार्गमा शीघ्र प्रतिक्रिया टोली (QRT) र HIRV मार्फत दुर्घटनामा परेका हजारौँ नागरिकको ज्यान जोगाउनु, १११४ टोल फ्री आपतकालीन सेवाको सुरुवात गर्नु तथा दुर्गम जिल्लाहरूमा अस्थायी बेसमार्फत शान्ति पुनःस्थापनामा खेलेको भूमिका अविस्मरणीय छ । २०७२ सालको विनाशकारी भूकम्पमा भग्नावशेषभित्र पुरिएका नागरिकहरूको जीवित उद्धारदेखि लिएर, गोताखोरमार्फत नदीमा खसेका सवारी साधनहरूको खोज, अत्यन्त उच्च जोखिमयुक्त उद्धार कार्यहरू तथा कोभिड १९ महामारीको कठिन समयमा डेडिकेटेड अस्पताल स्थापना गरी निरन्तर नागरिक सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलको भूमिकाले यस संस्थालाई ‘राष्ट्रिय भरोसाको शक्ति’का रूपमा दृढतापूर्वक स्थापित गरेको छ ।

किन अब जनशक्ति वृद्धि गरी सीमा सुरक्षा तथा विपद् व्यवस्थापनका लागि डेडिकेटेड फोर्स आवश्यक छ ?
वर्तमान अवस्थामा सशस्त्र प्रहरी बलले आन्तरिक सुरक्षाका अतिरिक्त सीमा सुरक्षा र विपद् व्यवस्थापनजस्ता महत्वपूर्ण राष्ट्रिय दायित्व निर्वाह गर्दै आएको छ । खुला सीमाको पहिलो राष्ट्रिय कवचका रूपमा सीमा सुरक्षा सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी यस बलको हो । तर हालको दरबन्दीअनुसार उपलब्ध जनशक्तिलाई सीमा सुरक्षासँगै आन्तरिक शान्ति सुरक्षा तथा अन्य विविध कार्यमा समेत परिचालन गर्नुपर्ने अवस्थाले व्यावसायिक दक्षता र अपेक्षित नतिजा हासिल गर्न चुनौती थपेको छ ।

यस सन्दर्भमा, सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई केन्द्रमा राखी डेडिकेटेड फोर्सको रूपमा परिचालन हुने गरी थप जनशक्ति, आवश्यक पूर्वाधार, सवारी साधन तथा ड्रोन, सेन्सर, नाइट भिजन उपकरण, ई–गेट र एकीकृत सीमा निगरानी प्रणालीजस्ता आधुनिक प्रविधिको व्यवस्था अपरिहार्य देखिन्छ । साथै, उच्च हिमाली तथा दुर्गम क्षेत्रमा आपतकालीन अवस्थामा मेडीइभ्याक, क्याजइभ्याक तथा रसद आपूर्तिका लागि आधारभूत हवाई परिचालन क्षमताको विकास आवश्यक छ ।

सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा तथा सीमाकार अपराधसँग सम्बन्धित केही विशेष कानुनी अधिकार प्रदान गर्नुका साथै कर्तव्यपालनका क्रममा Good Faith Protection र Rules of Engagement (RoE) लाई स्पष्ट रूपमा परिभाषित गर्नु समयसापेक्ष आवश्यकता हो । यस अतिरिक्त विपद् व्यवस्थापनका लागि आधुनिक खोज तथा उद्धार प्रविधि, ठूला संरचनामा आगलागी नियन्त्रणका नवीन उपकरण, आपतकालीन उद्धार सवारी साधन तथा आवश्यक तालिमको व्यवस्था अत्यावश्यक छ ।

अपरेसनल डक्ट्रिन : विकल्प होइन, अपरिहार्य आवश्यकता
कानुनले प्रायः ‘के गर्नुपर्छ’ भन्ने कुरा निर्धारण गर्छ, तर अपरेसनल डक्ट्रिन ले ‘किन, कसरी, कहिले र कुन सिद्धान्तअनुसार’ कार्य गर्ने भन्ने विषयमा स्पष्ट र व्यावहारिक मार्गदर्शन प्रदान गर्छ ।

मुख्य जिम्मेवारी र सहायक जिम्मेवारीबीचको सीमा स्पष्ट रूपमा नछुट्याइएको अवस्थामा संस्थागत अपरेसनल डक्ट्रिनको अभावले सुरक्षा निकायहरूलाई केवल प्रतिक्रियाशील बनाउने, कमान्ड एकताको कमजोरी उत्पन्न गर्ने र संकटको अवस्थामा ढिलो तथा असंगठित प्रतिक्रिया हुने जोखिम बढाउँछ ।

सशस्त्र प्रहरी बलजस्तो हाइब्रिड अर्धसैनिक संरचना भएको सुरक्षा निकायका लागि प्रहरी, अर्धसैनिक तथा सैन्य सिद्धान्तहरूको समन्वित प्रयोगमा आधारित हाइब्रिड अपरेसनल डक्ट्रिन अपरिहार्य हुन्छ । यस्तो डक्ट्रिनले सीमा सुरक्षा, दंगा नियन्त्रण, आतंकवाद प्रतिरोध, विपद् व्यवस्थापन तथा संयुक्त अपरेसनहरूलाई स्पष्ट, वैधानिक र परिणाममुखी रूपमा सञ्चालन गर्न आवश्यक संरचना र दिशानिर्देश प्रदान गर्दछ ।

नेतृत्व, संस्कार र व्यावसायिक गौरव
कुनै पनि सुरक्षा संगठनको आत्मा भनेकै नेतृत्वको चरित्र, रेजिमेन्टल स्पिरिट र संस्थागत गौरव हो । अनुशासन, इमानदारी, बलिदान भावना र मिसनप्रतिको समर्पण नै सशस्त्र प्रहरी बलको शक्ति हो । नेतृत्व आदेश दिने मात्र होइन, उदाहरण प्रस्तुत गर्ने हुनुपर्छ । इतिहासले पद होइन चरित्र सम्झन्छ ।

निष्कर्ष
२५ वर्षको यात्रामा सशस्त्र प्रहरी बल नेपालले आफूलाई राष्ट्रको भरोसायोग्य, व्यावसायिक र हाइब्रिड सुरक्षा शक्तिका रूपमा प्रमाणित गरिसकेको छ । अब बदलिँदो राष्ट्रिय सुरक्षा परिवेशमा यस बललाई संख्यात्मक रूपमा सुदृढ, सीमा सुरक्षा र विपत् व्यवस्थापनमा डेडिकेटेड र स्पष्ट अपरेसनल डक्ट्रिनद्वारा निर्देशित साधन स्रोत र प्रविधिसहित आधुनिक बनाउनु राष्ट्रिय आवश्यकता हो ।

सशस्त्र प्रहरी बलको पेसागत सेवा, वीरता र अनुशासनले जुनसुकै समय, जुनसुकै परिस्थिति र देशको जुनसुकै कुनामा पनि राष्ट्र र जनताको सेवामा निस्वार्थ रूपमा खटिने सशस्त्र प्रहरी बलको तत्परताले जनताको भरोसा दिनानुदिन अझ मजबुत बनाउँदै जाओस् । २५ औं वार्षिकोत्सवको यस ऐतिहासिक रजत महोत्सवको शुभ अवसरमा, सशस्त्र प्रहरी बल नेपाललाई निरन्तर सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामन !
(लेखक सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक हुन् ।)