श्रीगोदा देवी र धनुर्मासका विषयमा बुझौं


-डा. गोविन्दशरण उपाध्याय ।

अहिले धर्नुमास चलिरहेको छ । धेरै भक्तहरूलाई श्री गोदा देवी र धर्नुमासको विषयको विषयवस्तु वारे थाहा होला तर केहीलाई थाहा नहोला । यहाँ श्रीगोदा देवी र धनुर्मासको सम्बन्धका वारे लेखिएको छ । श्रीगोदा देवी, जसलाई दक्षिण भारतमा आण्डाल (गोदा) पनि भनिन्छ, १२ जना आल्वार भक्तसन्तमध्ये एक मात्र महिला सन्त हुनुहुन्छ । उहाँलाई भगवान् विष्णुकी परमशक्ति महालक्ष्मीको भूदेवी अवतारका रूपमा पूजा गरिन्छ । परम्परागत कथनअनुसार विष्णुभक्त पिता पेरियाकक्वार विष्णुचित्तस्वामीले विल्लिपुत्तुरको वटपत्रसयी भगवान् विराजमान श्रीमन्दिरको बगैंचामा तुलसीको बिरुवा मुनी बालिका अवस्थाको श्रीगोदालाई प्राप्त गरेर छोरीसरह पालन–पोषण गर्नुभयो । बाल्यकालदेखि नै कृष्णप्रति अपार भक्ति राख्ने गोदाजी युवा अवस्थासम्म पुग्दा श्रीमन नारायण (कृष्ण) बाहेक अरू कसैसँग विवाह नगर्ने संकल्पमा अटल हुनुहुन्थ्यो ।

भक्तिमय व्यवहारमा अनुपम उदाहरण स्थापित गर्दै गोदा देवीले भगवान्का लागि तयार गरिएका मालाहरू पहिले आफूले धारण गरी त्यसपछि मात्र मन्दिरमा चढाउन थाल्नुभयो । पिताले यो कुरा थाहा पाएर सम्झाउँदा स्वयं भगवान् विष्णु परिकल्पनामा (स्वप्न) प्रकट भई ‘अब मैले श्रीगोदाले धारण गरेको फूलमाला मात्र ग्रहण गर्नेछु’ भनी आज्ञा दिनुभयो । यस घटनापश्चात् गोदा देवीलाई ‘सूडी कोडुत्ता सुडर्कोड़ी’ अर्थात् ‘पहिरिएको माला भगवान्लाई अर्पण गर्ने दिव्यलता’ भनेर गौरवपूर्वक सम्बोधन गरियो । गोदाले अन्ततः आफू आराध्य भगवान्का रूप श्रीरंगनाथसँगै वैवाहिक ऐक्यता प्राप्त गर्नुभयो – पेरियाकक्वारले छोरीलाई श्रीरंगम् क्षेत्रलगि श्रीरङ्गनाथस्वामीको चरणमा अर्पण गर्दा श्रीगोदा देवी त्यहीँ भगवान्सँग एकरूप भई दिव्यता प्राप्त भयो भन्ने कथा प्रख्यात छ । श्रीवैष्णवहरूले श्रीगोदा देवीलाई भूदेवीको अवतार र विष्णुपत्नीको रूपमा उच्च स्थानमा राख्छन्, र उहाँद्वारा रचित तामिल भक्त गाथाहरूलाई अमूल्य दिव्यप्रबन्ध मान्छन् । आठौं शताब्दीतिर सक्रिय रहेको मानिने आण्डालले रचना गरेका तिरुप्पावै (३० बटा भक्तिपूर्ण पद्य) र नाचियार तिरुमोलृ नामक ग्रन्थहरू आजसम्म मार्गशीर्ष महिनाभरि श्रद्धापूर्वक पाठ गरिन्छ । श्रीगोददेवीको दीव्य जीवनकथा र भक्तिले नेपाल, दक्षिण भारतसहित विश्वभरका वैष्णवहरूलाई भक्तिको प्रेरणा प्राप्त भइरहेकोछ ।

मार्गशीर्ष–धनुर्मासको महत्व र तिरुप्पावै
शास्त्र एवं परम्परामा मार्गशीर्ष महिनालाई (संस्कृतः मार्गशीर्ष, तमिलमा मार्गकिक, नेपाली पात्रोअनुसार पौष महिना) अति पुण्यकालका रूपमा वर्णन गरिएको छ । श्रीमद्भगवद्गीतामा स्वयं श्रीकृष्णले घोषणा गर्नुभएको छ – “महिनाहरूमा म मार्गशीर्ष हुँ” – जसले यो महिनाको आध्यात्मिक महत्त्व उजागर गर्दछ । श्रीवैष्णव परम्परामा मार्गशीर्षलाई धनुर्मास पनि भनिन्छ, जस क्रममा दैनिक बिहान विशेष पूजा र स्तोत्रपाठ गरिन्छ । किंवदन्तीअनुसार देवताहरूका लागि एक वर्ष मानवीय एक दिनसरह हुने हुँदा, मार्गशीर्ष महिनालाई देवाहरुको ‘बिहानको समय’जस्तै पवित्र मानिन्छ । यो महीनामा देवगणले भगवान् श्रीनारायणको आराधना गर्ने विश्वास छ ।

धनुर्मासलाई विशेष बनाउन ऋषि–महर्षिहरू र भक्तहरूले थुप्रै परम्परा स्थापित गरेका छन्ः जसमा प्रत्येक दिन ब्रहम मुहूर्तमा उठी पवित्र स्नान गर्ने, मठ–मन्दिरमा भजन–कीर्तन गर्ने चलन छ । विशेषगरी ३० दिनको यस अवधिमा प्रत्येक बिहान श्रीआण्डालद्वारा रचित तामिल स्तोत्रमाला ‘तिरुप्पावै’ का पदहरू समूहमा गाइन्छ । यो क्रममा मन्दिरहरूमा तिरुप्पल्लियेककुच्छि (भगवान्लाई निद्रावस्थाबाट जागृत गराउने भक्ति गीत) र तिरुप्पावैको पाठ समावेश हुन्छ, जसद्वारा भगवान् श्रीविष्णुको मंगल आरती र आराधना सम्पन्न गरिन्छ ।

– मार्गशीर्ष महिनालाई भगवद्ध्यान र उपासना सबैभन्दा उत्तम अवसर मानिने हुँदा श्रीवैष्णव भक्तहरू सूर्योदयपूर्व नै घर आँगनमा रंगोली/कोलमले भूमि सुशोभित गर्दछन् र ‘तिरुप्पावै’ भजन गाउँदै ढोका–झ्यालमा तुलसी एवं पुष्पमाला सजाउँछन्।
– भगवान्कृपाबाट सिद्धिलाभ गरेका तमिल भक्तहरुलाई आल्वार भन्ने गरिन्छ, र यिनीहरूले दिव्यप्रबन्धम मार्फत मानव जगत्को कल्याणका लागि मार्गदर्शन गरेका छन् । ती आल्वारहरूमध्ये आण्डालले तिरुप्पावै मार्फत मार्गशीर्ष ब्रतको महिमा जगत्का सामु प्रस्तुत गर्नुभयो, जसलाई आज धनुर्मास उत्सवको रूपमा श्रीवैष्णवहरूले संसारभरि मनाउँछन् ।
ड्ड श्रीरङ्गम लगायत सम्पूर्ण १०८ वैष्णव दिव्यदेशहरूमा यस महिनाभरि विशेष उत्सवहरू आयोजना हुन्छन् – उदाहरणका लागि, दशदिनसम्म चल्ने पगल पात्रु र रापात्रु उत्सवमा श्रीनाम्माल्वारद्वारा रचित तिरुवायमोलृको पाठ हुने गर्छ । श्रीविष्णुको परमधाम वैकुण्ठको द्वार खोली दिने पवित्र वैकुण्ठ एकादशी व्रत पनि यही महिनामा पर्दछ ।

यस्ता आध्यात्मिक गतिविधिहरूले धनुर्मासलाई पूर्णतया भगवद्भक्ति र अनुशासनको समयका रूपमा स्थापित गरेका छन् । श्रीआण्डालले मार्गशीर्ष महिनालाई भगवद्–प्राप्तिको सुपथका रूपमा चिनाउन आफ्नो सारा श्रद्धा अर्पण गरी ३० दिनका ३० पद्य रचना गर्नुभएको हो । पौराणिक कथाहरूमा पनि गोपीबालिकाहरूले कार्तिक÷मार्गशीर्ष महिनामा देवी कात्यायनीको व्रत गरी श्रीकृष्णलाई स्वामी रूपमा प्राप्त गर्न पूजा गरेको उल्लेख छ । त्यसैको आदर्शमा श्रीआण्डालले आफ्ना तिरुप्पावै पद्यहरू मार्फत एक प्रकारको पावै नोंबु (व्रत) गर्नुभएको हो । मार्गशीर्षको प्रत्येक दिन तिरुप्पावैका क्रमशः एक–एक पाशुर (पद्य) सम्बन्धित छ र दैनिक उपर्युक्त पद्यहरूलाई अध्यात्मिक अनुष्ठानका रूपमा पालन भगवान्को प्राप्ति हुने विषयमा शंका गर्नु पर्दैन ।

अण्डालको भक्ति र धनुर्मास व्रतबीचको सम्बन्ध
श्रीआण्डालको तिरुप्पावै रचना केवल भावकविता नभएर गूढ आध्यात्मिक सन्देशले भरिपूर्ण मार्गदर्शक ग्रन्थ हो। वैदिक साहित्यको सार तत्त्वलाई तिरुप्पावैमा समावेश गरिएको छ भनी श्रीवैष्णव आचार्यहरू वर्णन गर्छन् – ‘तिरुप्पावै नै वेदहरूको बीजस्वरूप हो’ । वास्तवमा तिरुप्पावैका ३० पाशुरहरूले वैष्णव सिद्धान्तका मूलभूत तत्वहरू (जस्तैः परमात्मप्रति शरणागति, भगवत्कृपा, गुरुको महत्त्व, भक्तसंगतिका साथ सेवाभाव आदि) सरल भाषामा प्रस्तुत गर्दछन् । आण्डालले तिनै पद्यहरूमा भगवान् श्रीनारायणलाई प्राप्त गरी चिरकाल उहाँकै सेवा गर्ने आध्यात्मिक लक्ष्यको महिमामण्डन गर्नु भएको छ । विशेषगरी, उहाँका गीतहरूले जीवात्माको परम कर्तव्य भगवान् प्रतिको निष्कपट भक्ति र आत्मसमर्पण हो भन्ने सिद्धान्त उजागर गर्दछ । तिरुप्पावैका आरम्भिक श्लोकहरूमा श्रीआण्डालले मार्गशीर्ष व्रतका लागि आवश्यक शुद्धता र अनुशासनको वर्णन गर्नु भएको छ । वास्तवमा श्रीआण्डाल स्वयंले त्यस व्रतको पालना एउटी गोपीझैँ गर्दै श्रीकृष्णप्राप्तिका लागि सखीहरूलाई संगठित गर्ने कथा तिरुप्पावैमा छ । यो ग्रन्थले समष्टिमा भक्तसमुदायलाई कृष्णप्राप्तिको मार्गमा लाग्न प्रेरित गरेको छ ।

दक्षिण भारतीय भक्ति परम्पराभन्दा बाहिर पनि श्रीआण्डाल (गोदा देवी) प्रति श्रद्धा र पूजा संसारभर फैलिएर विभिन्न स्थानीय रूप ग्रहण गरेको छ। नेपालमा समेत श्रीवैष्णव सम्प्रदायका थुप्रै अनुयायी र मन्दिरहरू छन् जहाँ धनुर्मासमा गोदा देवीको विशेष पूजा–अर्चना हुने गर्छ। उदाहरणका लागि, हरेक वर्ष पौष शुक्ल पक्षको २७ गते (धनुर्मासको अन्तिम दिन) नेपालका श्रीसम्प्रदाय वैष्णव मन्दिरहरूमा श्रीआण्डालको विवाह महोत्सव धूमधामका साथ मनाइन्छ । यस दिन गोदा देवीले भगवान्मा आफूलाई पूर्ण समर्पण गरी दिव्य विवाहबन्धन प्राप्त गर्नुभएको सम्झनामा वैदिक विधिपूर्वक उहाँको श्रीरङ्गनाथसँग विवाहोत्सव प्रदर्शन गरिन्छ । सप्तमी तिथिमामा भूदेवी विग्रहलाई दुलहीझैँ सिङ्गार गरिन्छ र भगवान्लाई मनपर्ने फूलमालाहरूले अलंकृत गरी एक प्रकारको पुष्पोत्सव को माहोल सिर्जना गरिन्छ ।

नेपालको भक्तपुर जिल्ला चाँगुनारायण नपा ५ छालिंगको श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठ लगायत मन्दिरहरूमा र विराटनगर, झापा, धनगढी लगायत विभिन्न स्थानका श्रीवैष्णव मन्दिरहरूमा धनुर्मासभरि तिरुप्पावैका पद्यहरूको सार नेपाली भाषामा प्रवचनसहित गाउने परम्परा चलेको छ । विशेष गरी श्रद्धेय श्रीमुक्तिनाथ बाबाज्यूले’ स्थापना गर्नु भएका मन्दिरहरूमा र अन्य श्रीवैष्णव मठहरूमा प्रत्येकत्येक दिन बिहान ‘गोदा आरती’ तथा तिरुप्पावै पाठ हुन्छ । स्थानीय वैष्णव गुरुसन्तहरूले श्रीआण्डालका भक्तिमय शिक्षाहरूलाई नेपाली समुदायबीच व्याख्या गर्दै आउनुभएको छ ।

अन्त्यमा
धनुर्मास (मार्गशीर्ष) व्रत र श्रीगोदा देवी (आण्डाल) को चरित्रले श्रीवैष्णव भक्ति दर्शनमा अनुशासन र कृपाको सुन्दर समन्वय उजागर गर्दछ । एकातिर, धनुर्मास व्रतले भक्तहरूलाई प्रत्येक दिनको आरम्भ आध्यात्मिक साधनाबाट गर्ने, इन्द्रिय–अनुशासनद्वारा मन शुद्ध पार्ने र समुदायसहित भगवन्नाम गाउने अलौकिक जीवनशैली सिकाउँछ – जुन अन्तरशुद्धिको मार्ग हो। अर्कोतिर, श्रीगोदा देवीको पूर्ण प्रेम र आत्मसमर्पणले परमात्माको कृपा र सुन्दरताको अनुभव हुन्छ । उहाँले धारण गरेको फूलमाला स्वयं भगवान्ले स्वीकार गर्नु यो कुराको द्योतन हो कि निष्कपट भक्तिपूर्वक अर्पित सानो चीज पनि भगवानले अतिप्रिय मान्नु हुन्छ । आण्डाल स्वयं लक्ष्मीस्वरूपिणी भएर भक्तजनहरूमा भगवान्प्रति प्रेम जागृत गराउन अवतरित हुनुभएको हो । श्रीवैष्णव सम्प्रदायको दृष्टिमा आण्डालको तिरुप्पावै त्याग र प्रेमको संगम हो र धनुर्मास तिनै त्याग र प्रेमलाई आफैंमा उतार्ने अभ्यासकाल हो भनेर बुझ्नुपर्छ । अन्ततः श्रीआण्डालले (गोदा) देखाउनुभएको भक्तिमार्ग र धनुर्मासको व्रतलाई समर्पणभावले अनुकरण गर्दा जीवात्माले परमात्मसँग मिलनको अनुपम सुख प्राप्त गर्छ। यसरी आत्म–अनुशासन र दिव्यकृपाको योगबाट प्राप्त पराभक्ति प्रत्येक साधकलाई ईश्वरप्रेमको उत्कर्षतर्फ अग्रसर गराउँछ, जसको उदाहरण जगत्माता श्रीगोदा देवीको जीवन र धनुर्मासको परम्परा हो ।
जयश्रीमुक्तिनाथ