-डा. जीवन क्षेत्री
भेनेजुएलामाथि अमेरिकाले जसरी आक्रमण गर्यो, त्यो निन्दनीय छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई ‘पक्राउ’ गरेको घोषणासँगै भेनेजुएलाको पेट्रोलियम उद्योगमा ‘बलियोसँग संलग्न हुने’ भनेर डोनाल्ड ट्रम्पले जुन घोषणा गरेका छन्, त्यसमा बलियो देशले निर्धो देशबाट हिंसात्मक रुपमा सम्पत्ति जफत गर्न खोजेको पारदर्शी रुपमा देखिन्छ ।
यो बिन्दुमा भेनेजुएलाको भविष्य चरम् अन्योलमा छ । मदुरो दम्पतीलाई देशबाट बाहिर लगिएको अवस्थामा मदुरोप्रति वफादार त्यहाँको सुरक्षा फौजले कस्तो रवैया अपनाउने हो, त्यसको भेउ शायद अझै पाएका छैनन् अन्तर्राष्ट्रिय मिडियाहरुले । अबका लागि सबैभन्दा खराब विकल्प भनेको भीषण गृहयुद्ध हो । त्यसमुनिका सबै विपत्तिहरु भेनेजुएलाले यसअघि नै झेलिसकेको छ र ठूलो संख्यामा त्यहाँका नागरिकहरुले देश छाडिसकेका छन् ।
अमेरिकाले अर्को सार्वभौम देशमाथि अतिक्रमण गरेर गलत गर्यो भन्नुको निकोलस मदुरो महान देशभक्त वा क्रान्तिकारी थिए भन्ने अर्थचाहिं लाग्दैन । हाम्रो समयका सबैभन्दा अयोग्य र क्रुर तानाशाहहरुमध्ये एक थिए उनी जसको शासनकालमा भेनेजुएलीहरु तावाबाट भुंग्रोमा परे । गरिबी, भोकमरी र विस्थापन आकाशियो ।
भारतको बाम झुकाव भएको मानिने द हिन्दु पत्रिकामा गत अगस्ट महिनामा प्रकाशित जस्मिन निहलानीको रिपोर्टका अनुसार मदुरोको शासनमा ७७ लाख मानिसहरु देश छाडेर विस्थापित भए । नेपालीहरु झैं काम र राम्रो अवसरको खोजीमा हैन, भोकमरीबाट सास जोगाउन ।
२०१३ र २०२१ को बीचमा मात्रै अर्थतन्त्र ७५ प्रतिशतले खुम्चियो जुन विश्व इतिहासमै युद्धमा नरहेको कुनै पनि देशका लागि रेकर्ड हो । त्यो अवधिमा २२ अर्ब डलरको नेपाली अर्थतन्त्र झण्डै ३७ अर्ब डलर पुग्दा त हामी नेपालीले यस्तो गरिबी महसुस गरेका छौं भने ३७१ अर्ब डलरबाट झण्डै ९३ अर्ब डलरमा अर्थतन्त्र झर्दा भेनेजुएलीहरुको हालत के भए होला?
शासन अलोकप्रिय हुँदै गएपछि मदुरोको पारदर्शी नीति थियोः जनतालाई यति कमजोर र कुपोषित बनाऊ कि प्रदर्शनका लागि सडकमा निस्कन पनि नसकुन् ।
ट्रम्पको रातारात आक्रमणका कारण यति हरितन्नम अवस्थामा पुगेको देश अर्को गृहयुद्धमा फस्यो भने अरु करोडौंको हालत त्यस्तै हुने निश्चित छ । त्यसैले कामना गरौं, त्यहाँको राजनीति जुन दिशामा गए पनि ठुलो स्केलको हिंसा र गृहयुद्धतिर नलागोस् । ढिलोचाँडो लोकतन्त्र स्थापित होस् र भेनेजुएलीहरुले नै त्यो देशको भविष्य निर्धारण गरुन् ।
मदुरो एक नालायक र बर्बर शासक थिए । चुनावको नतिजा हाकाहाकी धाँधली गरेर बदल्थे । उनका कारण संसारका कुनै मानिस सबैभन्दा पीडित थिए भने ती भेनेजुएलीहरु नै थिए । तपाइँ हामीले यो सब भन्न मिल्छ र देखेको कुरा भन्नुपर्छ । तर यी लगायत कुनै पनि गल्ती वा अपराधको छिनोफानो गर्ने र कसलाई दण्डित गर्ने वा नगर्ने अधिकार अमेरिका वा डोनाल्ड ट्रम्पसँग हुनु हुँदैन ।
यस्ता अन्तर्राष्ट्रिय मामलाहरुमा मेरो धारणा प्रष्ट छः अमेरिकाले इराक हमला गर्दा त्यो गलत थियो । नेटोले लिबियामाथि आक्रमण गर्दा त्यो पनि गलत थियो । रुसले युक्रेनमाथि अतिक्रमण गर्दा र युद्धमार्फत देशै कब्जा गर्न खोज्दा त्यो पनि त्यति नै गलत थियो, अझै चलिरहेको रुसी अतिक्रमण गलत नै छ । आज अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरेको छ, त्यो पनि गलत छ । केही वर्ष अगाडि अजरबैजानले आर्मेनियामा आक्रमण गरेर जमिन हत्यायो, त्यो पनि गलत छ । उहिले चीनले तिब्बत निल्नु र भारतले सिक्किम निल्नु पनि गलतै थिए ।
कुनै पनि एउटा शक्तिशाली देशले अर्को सार्वभौम देशमाथि हमला गर्दा दश थरि तर्क गरेर त्यसको औचित्य पुष्टि गर्नु आवश्यक नै छैन । नेपालजस्तो सानो देशमा बसेर त हामीले सधैंभरि कमजोर र अतिक्रमित देशहरुको हालत देखेर आफूले सिक्नु अनि उनीहरुसित ऐक्यबद्धता जनाउनु आवश्यक छ ।

प्रतिक्रिया