असल दाम्पत्यमा उत्सव र सम्मान


-डा. गोविन्दशरण उपाध्याय ।

विश्वमा दाम्पत्य सम्बन्धका आधारहरू धेरै हुन्छन् जसमा प्रेम, विश्वास, आदर, करुणा, कर्तव्य र समर्पणजस्ता शब्दहरू धेरैपटक प्रयोग गरिन्छन् । तर यिनै शब्दहरूलाई बुईँ बनाएर चल्ने दाम्पत्य जीवनको मूलमा सरल तर गहिरो भावनामा अडिएको हुन्छ—एकअर्कालाई सम्झिनु, महत्व दिनु र कदर गर्नु। अंग्रेजीमा यसलाई ‘cherish your husband or wife’ भनिन्छ। नेपालीमा भने यो भावनालाई ‘आफ्नो श्रीमान् वा श्रीमतीलाई मनदेखि कदर गर’ भनेर बुझ्न सकिन्छ। दाम्पत्य जीवनमा कदरको अर्थ केवल बाहिर देखिने व्यवहार होइन, यो त हृदयभित्रको न्यानोपना हो । मानिसको मन केवल बोलिएका मीठा शब्दले मात्र तृप्त हुँदैन, व्यवहारिक रूपमा आदर र उपस्थितिले नै उसलाई सुरक्षा, आत्मीयता र मूल्यवान् भएको अनुभूति गराउँछ।

दाम्पत्य केवल सामाजिक मात्र सम्झौता होइन, यो त दुई व्यक्तिले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण समय, श्रम, भावना, सपनाहरू एकअर्कासँग बाँड्ने वाचा हो। जब श्रीमान् र श्रीमतीले एकअर्कालाई कदर गर्छन्, त्यहाँ कुनै एक व्यक्ति जित्दैनन्, दुवै जना नै जित्छन्। किनकि कदरले साझेदारीमा स्वतन्त्रता, समानता र सम्मानको संरचना बनाउँछ । जब पत्नीले श्रीमान्लाई सम्मान दिन्छे, उसको अस्तित्व मात्र होइन, उसको प्रयासलाई पनि मान्यता दिन्छे, तब श्रीमान्लाई जीवनप्रति नयाँ ऊर्जा प्राप्त हुन्छ । उही कुरा श्रीमतीमा पनि लागू हुन्छ—श्रीमतीलाई केवल घरधन्दा गर्ने व्यक्तिको रूपमा होइन, सेक्स–टुलका रुपमा मात्र होइन सबैभन्दा नजिकको मित्रका रूपमा आदर गर्दा सम्बन्ध सन्तुलित र सुन्दर बन्छ।

उत्सव गर्नुको अर्थ केवल ‘धन्यवाद’ भन्नु मात्र होइन। कदरको अर्थमा ‘तिमीले/मैले एकअर्काको जीवनमा महत्व पाएको छौ’ भन्ने भाव बोकेको हुन्छ। कहिलेकाहीँ कदर एक कप चिया बनाएर दिनु हो, कहिले एउटै गल्ती पुनः नदोहोरिने प्रतिज्ञा गर्नु हो र कहिलेकाहीँ अनावश्यक झगडामा अपहेलित नहुने निर्णय गर्नु हो। दाम्पत्य जीवनको महत्त्वपूर्ण पक्ष ‘लामो युद्धभन्दा सानो शान्ति ठूलो हुन्छ’ भन्ने बुझाइ हो। धेरै दम्पतीहरू साना–ठूला विषयमा बहस गर्दै जीवनभरि थाकिन्छन्, तर कदर गरेका जोडीहरू बहसको बीचमै एकअर्कालाई सम्झन्छन्—हामी दुश्मन होइनौँ।

कदरको मनोवैज्ञानिक पक्ष पनि अत्यन्त महत्वपूर्ण छ। जब कसैलाई कदर गरिन्छ, उसको मस्तिष्कमा सकारात्मक हार्मोनहरू—जस्तै डोपामिन र अक्सिटोसिन—सक्रिय हुन्छन्, जसले भावनात्मक सुरक्षा र विश्वास वृद्धि गर्छ। श्रीमान् वा श्रीमतीले एकअर्कालाई कदर गरेपछि, उनीहरूको मानसिक स्वास्थ्यमा समेत सुधार हुन्छ। आजको व्यस्त, यान्त्रिक र डिजिटल युगमा, जहाँ मानिस फोन, टेलिभिजन र सामाजिक सञ्जालका संसारमा हराइरहेका छन्, त्यहाँ शारीरिक रूपमा नछुने तर भावनात्मक रूपमा स्पर्श गर्ने व्यवहारको आवश्यकता अझ बढ्छ। मोबाइल फोनको स्क्रिनले होइन, जोडीको आँखामा हेरेर बोल्ने बानीले दाम्पत्यलाई बलियो बनाउँछ।

धेरै दम्पतीहरूको समस्या के छ भने, उनीहरू विवाहका प्रारम्भिक दिनहरूमा एकअर्कालाई निकै मायालु र सम्मान जनक बोलीहरू प्रयोग गर्छन् तर समयसँगै त्यो हराउँछ। बुढ्यौली मात्र शरीरमा आउँदैन, सम्बन्धमा पनि कहिले काहीँ थकान आउँछ। तर थकानको क्षणमा पनि ‘तिमी महत्वपूर्ण हौ’ भन्ने बुझाइ नै दाम्पत्यलाई टिकाइराख्ने आधार हो। घरको काम, आर्थिक चुनौती, बालबच्चाको जिम्मेवारी, समाजका अपेक्षाहरू, व्यक्तिगत लक्ष्य—यी सबैले दाम्पत्य जीवनलाई थिच्न सक्छन्। त्यसैले सजग प्रयास आवश्यक हुन्छ। प्रयास बिना प्रेम सुक्छ। आदर बिना न्यानोपना हराउँछ। कदर बिना सम्बन्ध साधारण दैनिकीको कोलाहलमा हराइदिन्छ।

कदर गर्नुको अर्को अर्थ छ-सुनिरहेका जस्तो देखिनु मात्र होइन, सुन्ने र भन्ने अवसर प्रदान गर्नु पनि हो । श्रीमानले श्रीमतीका डर, पीडा, स्वर, भोगाई सुन्ने र सम्मान गर्ने। श्रीमतीले श्रीमान्को थकान, असफलता, दुविधा र कमजोरीलाई दोष होइन, सामानानुभूति दिने। सम्कोमान भाषा केवल मीठा शब्द होइनन्, समय हो। समय दिनु आज संसारकै सबैभन्दा दुर्लभ र बहुमूल्य उपहार जस्तै भएको छ। त्यसैले दम्पतीले एकअर्कालाई दिएको समय कदरको सर्वश्रेष्ठ रूप हो। सँधै ठूलो उपहार चाहिँदैन—दिनको ३० मिनेटका लागि “तपाईंको समय र भोगाई कस्तो रह्यो ? भनेर सोध्नु नै पर्याप्त हुन सक्छ।

समाज र संस्कृतिले पनि कहिलेकाहीँ उत्सव वा सम्मानको अवधारणा बिगारिदिन्छ। कतिपय संस्कृतिमा पत्नीलाई मात्र घर धान्ने व्यक्तिको रूपमा हेरेर उसको मूल्य घटाइन्छ। कतै श्रीमान्लाई मात्र आर्थिक स्रोतको रूपमा हेरेर उसको भावनात्मक अस्तित्वका बारेमा ध्यान दिइँदैन। तर जीवन केवल भूमिकाको खेल होइन, त्यो त आत्माको यात्रा हो। श्रीमान् र श्रीमती दुवैले एकअर्कालाई आत्मिक अस्तित्वका रूपमा, व्यक्तित्वका रूपमा, सबैभन्दा नजिकको मित्रका रूपमा माया गर्न सके दाम्पत्य जीवन निकै मीठो हुन्छ । यो पूजा होइन, यत्र तत्रसम्मको सहज समर्पण हो। परिवार मात्र होइन, समाज र राष्ट्रका लागि पनि यस्तो दाम्पत्य महत्वपूर्ण हुन्छ।

बाहिरबाट हेर्दा ‘cherish your husband or wife’ भन्ने वाक्य सरल देखिन्छ। तर जीवनमा उतारचढाव आउँदा यसलाई व्यवहारमा उतार्नु गाह्रो पर्न सक्छ। जब झगडा हुन्छ, मन दुख्छ, भ्रम हुन्छ, तब कदरको अभ्यासले नै सम्बन्धलाई फेरि जोड्छ। ‘म तिमीमाथि रिसाएको छु, तर तिमी महत्वपूर्ण नै हौ’ भन्ने सिक्नु नै कदरको सबैभन्दा उच्च रूप हो। दाम्पत्यमा कदर आफैँमा एक प्रकारको साधना हो—जहाँ मानिसले आफूलाई सधैं पहिले राख्ने संस्कार छाडेर “हामी” भन्ने बोधमा प्रवेश गर्छ।
एकअर्काको लागि उत्सव मनाउंदा तपाईंले स्वार्थ भन्दा सम्बन्धलाई महत्व दिनुपर्छ। उत्सवको अर्थ दमन होइन,–विकास हो। नझुकाएर, नदबाएर, एकअर्कालाई उभ्याउने परिपक्व व्यबहार हो, कला हो। आजको पुस्ताले स्वातन्त्र्य र आत्मसम्मानलाई उच्च प्राथमिकता दिन्छ, जुन सही हो। तर आत्मसम्मान र कदर एकअर्काका शत्रु होइनन् । कदरको अभ्यासले नै आत्मसम्मानलाई सुरक्षित राख्छ। किनकि एकअर्कालाई कदर गर्दा ‘तिमीले मलाई बदल्नुपर्छ’ होइन, ‘तिमीसँग म पनि बदलिइरहेको छु’ भन्ने भावनाको जन्म हुन्छ। यसरी कदरले दाम्पत्यलाई जीवन्त राख्छ।

हामी नेपाली दम्पतिहरूमा एकअर्काको खुसीमा रमाउने संस्कृति एकदम कम छ । साच्चिकै भन्ने हो भने हामी लोग्नेस्वास्नी एकआपसमा रमाउने कुरालाई पनि ‘विदेशी संस्कृति’ भन्दै पन्छिने प्रयत्न गर्छौं । यो एकप्रकारको आफ्नो अवहेलना नै हो । यदि सबैको अगाडी रमाउन सकिन्न भने एकआपसमा रमाउने, एकअर्काको खुसीमा उत्सव गर्ने र एकअर्काको सम्मान गर्ने अभ्यास गर्नु धेरै महत्वपूर्ण हुन्छ । सम्मान र उत्सव गर्नुको अर्थ हो आत्माहरूको हात समातेर, आफ्नो कमजोरीसहित, एकअर्काका लागि गरिएको सुन्दर र मीठो जीवनयात्रा हो । सम्भवतः हामीले जीवनमा गरेको सबैभन्दा सुन्दर निर्णय एकआपसमा सम्मान गर्नु र एकले अर्कोको लागि स–सानो उत्सव मनाउनु हो । त्यसैले, श्रीमान्लाई कदर गर्नुहोस्, श्रीमतीलाई कदर गर्नुहोस्—किनकी कदर स्वार्थ होइन, संस्कार हो; दया होइन, दायित्व हो; बोझ होइन, बरदान हो। जीवनमा जे–जस्तो अवस्था र व्यबस्था आए पनि सम्मानजनक टावरले साथमा हिँडेका दाम्पतीहरू हार्दा पनि जितेजस्तै देखिन्छन् र जित्दा पनि नम्र हुन्छन्। यही दाम्पत्यको सौन्दर्य हो र मीठास हो ।