-डा. गोविन्दशरण उपाध्याय ।
हरेक मान्छेको जीवनको पाना आफ्नै हुन्छ । त्यो पानामा लेखिएका अनुभवमा अरू कसैको प्रवेश हुनै सक्दैन । प्रकृतिले यस्तो द्वार नै बनाएको छैन । अनुभवले भन्छ, मान्छेले सधैं प्रगतिको इच्छा गर्यो र त्यही इच्छाका कारण प्रगति गरिरहेको छ । प्रगति वा अग्रगमनको इच्छा नहुनेहरू सधैंका लागि रेगीस्थानको खोलाझैँ सुक्छन् । नेपालीहरूको आर्थिक जीवन कमजोर हुनुमा सम्पत्ति कमाउनेतिरको दृढ इच्छाशक्तिको अभाव हुनु हो । आर्थिक रुपमा कमजोर व्यक्तिले परिवार, गाउँ–शहर वा राष्ट्रलाई कुनै योगदान दिन सक्दैन । सम्पतिप्रति इच्छाशक्ति नभएकाहरू सम्पत्तिको व्यबस्थापन राज्यले गर्नुपर्छ भन्ने राजनीति गर्छन् र सम्पत्ति आर्जन गर्न सफल भएका व्यक्तिहरूसंग इष्र्याभाव राख्दै, उसको सम्पत्ति सित्तैमा उपयोग गर्ने बहाना खोज्छन् । अर्काको उद्योगमा आफ्नो हिस्सेदारी खोज्नेहरू हुतिहारा हुन् वा इष्र्यालु हुन् ।
हामी नेपालीहरूको प्रगतिको शत्रु हाम्रो अनिच्छा हो । उदाहरणका लागि हरेक मान्छेले धन कमाउने इच्छा गर्छ तर धन कमाउने कार्यप्रति उसको दृढ इच्छाशक्ति छैन भने सम्पत्ति आर्जन गर्न सक्दैन । ‘पैसा कमाए पनि मर्नु पर्छ, नकमाए पनि मर्नु पर्छ, धेरै पैसा कमाएका मान्छेहरू राम्ररी निदाउँन सक्दैनन्, धेरै पैसा (सम्पत्ति हुनुको अर्थ मानसिक अशान्ति र रोग निम्त्याउनु हो, भगवानले निर्धनलाई रुचाउनुहुन्छ हुन्छ, धन भनेको हातको मयल हो, धेरै सम्पत्ति भए पनि सुनको भात खाने होइन’जस्ता भनाईमा विश्वास गर्दा नेपालीहरू कमजोर भएका छौँ । आफुलाई अजम्वर मानेर न्यायपूर्वक सम्पत्ति आर्जन गर्नेहरूनै बास्तविक विजेता हुन्छन् ।
असलमा, विकसित देशहरू विकसित हुनुमा तेहाका मान्छेहरूको धन आर्जन गर्ने विश्वास बलियो हुनु हो । त्यसैले हरेक नेपालीमा जुन दिन धन आर्जन गर्न, सम्पत्ति कमाउन र त्यसबाट भौतिक, मानसिक तथा अध्यात्मिक सुख प्राप्त हुन्छ भन्ने विश्वास बलियो हुन्छ, नेपाल विकसित हुन्छ । विकासको बाटोमा अगाडी बढ्छ । आधुनिक विकासको जग धन र त्यसको उचित व्यबस्थापनमा उभिएको छ । सम्पत्ति आर्जन गर्ने महत्वलाई कम महत्व दिने व्यक्ति होस् वा देश विकसित हुनै सक्दैन । मेरो विश्वासले भन्छ धन कमाउने कुरामा सन्तोष गर्नु सबैभन्दा आत्मघाति कुरा हो । त्यसैले प्रसिद्ध पन्चतन्त्रका रचयिता विष्णु शर्माले ‘बुद्धिमान व्यक्तिले नैतिक जीवन र धन कमाउने कार्यलाई आफू अजर–अमर भएको ठानेर निरन्तरता दिनुपर्छ’ भन्ने अर्ति दिएका छन् ।
नेपालीहरू निर्धन हुनुको कारण पनि सम्पत्ति कमाउने, भौतिक सुख प्राप्त गर्ने, सम्पत्तिले परिवार, गाउँ र देशको सेवा गर्ने, व्यक्तिगतरूपमा रमाइलो गर्ने मानसिक इच्छा शक्ति बलियो न भएर हो । सम्पतिले पनि त्यसैलाई रोज्छ, जसले उसलाई चाहन्छ । ‘भाग्यमा भए तालुमा आलु फल्छ, भाग्यमा नभए केही हुँदैन’ जस्ता चिन्तनहरूले सम्पत्ति आर्जन गर्ने इच्छाशक्तिलाई कमजोर पार्छन् । सबै थोक ईश्वरको अधीन छ, त्यही भएर धेरै श्रम गर्नुको औचित्य छैन’ भन्ने उपदेशबाट आफूलाई मुक्त राख्नेहरूले धन कमाउँछन् र धनको उपयोग गरेर अर्थपूर्ण जीवन बाच्ने गर्छन् । वैदिक संस्कृतिका चार महत्वपूर्ण लक्ष मध्ये ‘अर्थ
दोश्रो पुरुषार्थ हो । वैदिक संस्कृतिमा सम्पति कमाउने कार्यलाई दोश्रो महत्वपूर्ण कर्तव्यका रूपमा तेसै राखिएको होइन । बस, धन अन्याय पूर्वक कमाउनु हुंदैन – यत्ति हेक्का राखे पुग्छ ।
‘अर्थ’ (धन) वैदिक संस्कृतिका प्रमुख कर्तव्य मध्ये दोश्रो लक्ष भएको कारणले हरेक नेपालीले आफ्नो दृढ इच्छाशक्ति “धनार्जन गरेर व्यक्तिगत, पारिवारिक सुख प्राप्त गर्ने दिशातिर केन्द्रित गर्नुपर्ने देखिन्छ । ‘सबै दुःखमय छ’ भन्ने चिन्तनले आर्थिक उन्नतिमा अवरोध उत्पन्न गर्छ । त्यसैले आर्थिकस्तर समृद्ध बन्न चाहनेले वैदिक संस्कृतिको दोश्रो महत्वपूर्ण पुरुषार्थको साधना गर्न कुनै कसर छोड्नु हुँदैन । यदि कुनै व्यक्तिले अर्थआर्जनप्रति अनिच्छा गर्छ र ऊ गृहस्थ छ भने, धर्मको मर्यादाबाट बिमुख भएको ठहर्छ ।
धनार्जनप्रतिको अनिच्छा शास्त्रीय आदेशको अपूर्ण बुझाई हो । चारपुरुषार्थ मध्ये दोश्रो अर्थ आर्जन गर्नु होइन र ? अर्थ (सम्पत्ति)को फरक अर्थ लगाएर बटार्नेहरूले सर्वसाधारणलाई दिग्भ्रमित गरेका कारण उद्यमशीलता नष्ट भएको हो ।असलमा, वैदिक संस्कृतिले मनुष्यका परमपुरुषार्थ नै ‘धन’ कमाउने, व्यक्तिगत सुखसुविधा भोग्ने र दान दिएर समाजको सेवा गर्नु भनेर तोकेको छ । गृहस्थआश्रमको मुख्य जिम्मेवारी नै धन आर्जन गर्नु र आफ्नो, आफ्ना परिवारको र समाजको सेवा गर्नु भन्ने नै हो । सन्तोष धर्मकालागि सन्न्यास आश्रम छँदैछ । ‘सन्तोष नै परम सुख हो’ भन्ने शास्त्रीय उपदेश सन्न्यासीका लागि हो । जुन संस्कृतिमा लक्ष्मीको पूजा गरिन्छ, त्यस देशले उद्यमशीलताको बाटो रोज्न नसक्नुको कारण ‘सर्वं दुःखम्’ भन्ने निराशावादी चिन्तन पनि जिम्मवार हो । संसार दुःखमय छ भन्ने बुझाई केवल बौद्धहरूको हो भन्नु अनुचित हुन्छ । हिन्दू, जैनी र बौद्धहरूको मेन्टल–सेटमा उद्योगलाई ‘दुःख मान्ने’ चेतनानै नेपालीहरू निर्धन रहनुको धेरै कारणहरू मध्ये एउटा हो ।

प्रतिक्रिया