कति नेता हुँदा नेपाल बन्छ ?


-डा. गोविन्द एस उपाध्याय ।

क्षमा गर्नु होला –म ‘राजनीति’ शब्द छलकपट र धुत्याईँको प्रतिकबाट मुक्त होस् भन्ने चाहन्छु र राजनीतिक व्यक्तित्वहरूमा स्वार्थी, आसेपासे र ‘आफ्ना’मात्र हेर्ने र बुझ्ने भन्ने आरोपबाट मुक्त होउन् भन्ने चाहन्छु । यसो हुँदा नेता र जनता दुवै खुसी हुने छन् र विश्वासको वातावारण बन्ने छ । उपर्युक्त हरफहरू लेख्दै गर्दा मनमा एउटा प्रश्न पनि उठ्छः नेपालजस्तो निर्धन देशमा राजनीति गरेर ‘नेता’ बन्न चाहनेहरू, राजनैतिक पार्टीहरू खोलेर राजनैतिक शक्ति आर्जन गर्न चाहने व्यक्ति र समूहहरू तथा एक पटक सत्तामा पुगेपछि सत्ता छोड्दै नछोड्ने नेताहरूको एतिविध्न सङ्ख्या किन होला ? किन हाम्रो देशमा पार्टी खोलेर राजनीति गरेर सत्तामा पुग्न चाहनेहरूको यतिविध्न धेरै सङ्ख्या किन होला ?

एकातिर देश आर्थिक र सांस्कृतिक रुपमा जर्जर हुँदैछ अर्कोतिर मान्छेहरू नेता बन्न मरिहत्ते गरिरहेका छन् ? गरीव देशको नेता बनेर ‘सेवा’ गर्नु बाहेक अरू सुविधा त पक्कै प्राप्त गर्ने होइन ! तर प्रश्न फेरी पनि उठ्छ, के नेपालीहरूमा नेता बन्नेहरूको सङ्ख्या बढ्दै जानुको अर्थ नेपालीहरूमा निश्वार्थ सेवाको भावना प्रबल भएको हो त ? निश्चयनै सेवाको भावना बढ्नु राम्रो कुरा हो । के सर्वसाधारणहरू नेता बनेर ‘पद’ पुगेकाहरूले साच्चिकै जनताको निस्वार्थ र प्रभावकारी सेवा गरिरहेका छन् भन्ने कुरामा विश्वास गर्छन् त ? प्रश्नहरू पाठकले दिने हो ।

हाम्रो देशका केही रोचक पक्षहरू छन्–जनताले चुनेको सरकारले आफ्ना कर्मचारीहरूलाई “मोटर चालकको लाइसेन्स समयमा दिने व्यबस्था गर्न बाध्य पार्न सक्दैन तर राजश्व अनिवार्य लिन्छ । घर बनाएर सम्पन्न प्रमाणपत्र लिँदा त्यसको पुछारमा लेखिएको हुन्छ ‘यो प्रमाणपत्रमा उभिएको घरको जग्गा तथा अन्य कुरामा विवाद पर्यो भने घर धनीको जिम्मा हुने छ ।’ यदि सबै कुराको जिम्मेवारी जग्गाधनिकै हुने हो भने तेत्रा कर्मचारी, नगर/गाउँको संरचना र ठूलो राजश्व किन तिर्नु पर्यो ? यस्ता अनेकौं प्रश्नहरू छन् । सत्तामा जाने नेता र कामको जिम्मा लिने कर्मचारी दुवैले आफ्ना कामको उत्तरदायित्व बहन गर्न नपर्ने भएर नै ‘नेता’ बन्ने भीड त लागेको होइन ?

साच्चिकै भन्नु पर्दा नेपालमा सामाजिक संस्था, सेवा मूलक कम्पनी, नाफा मूलक कम्पनी वा अन्य कामहरू खोलेर सेवा गर्न खोज्दा कमसेकम १९ ठाउँबाट पास हुनुपर्छ । अनि, काम गर्दा राजनैतिक र प्रशासनिक अवरोध र समस्याहरूको कुरा नै छोडौं तर राजनैतिक पार्टी खोल्न र नेता बन्न एउटा निश्चित संख्यामा नागरिकता र हस्ताक्षर र दलदर्ता गर्ने बेलामा केही व्यक्तिहरू चुनावआयुक्तको अगाडी उभिए पुग्छ ! नेता बन्नका लागि कुनै योग्यता चाहिन्न । नेता बन्ने इच्छा र चाहना भए राजनीति गर्न पाइन्छ ।

फेरि पनि मेरो प्रश्न नेपालजस्तो निर्धन र समस्यानै समस्या भएको देशमा राजनैतिक नेता बन्न र सत्तामा पुग्न मान्छेहरू किन मरिहत्ते गर्छन् ? नेपालजस्तो देशमा नेता बनेर सेवा गर्नु बाहेक अरू के पाइन्छ र ? मैले मेरो देश नेपाललाई नियाल्दा उद्योगी, व्यापारी, वकिल, चिकित्सक, मजदुर, प्राध्यापक, शिक्षक, विद्यार्थी, कृषक, तथा प्राविधिकहरू समेत आफ्नो काममा भन्दा बढी राजनीतिमा रुचि राखेको देख्छु, नेता बन्न तम्सेको देख्छु, नेता बन्न मरिहत्ते गरेको देख्छु । किन मान्छेहरू नेता बन्न यतिविध्न मरिहत्ते गरिरहेका छन् ? अनि सोच्छु, ओहो, नेपाल कहीं राजनैतिक नेता उत्पादन गर्ने कारखाना त बनिरहेको छैन ! नेता चाहिन्छ । नेता भएन भने पनि देश, समाज र परिवार मासिन्छ र धेरै नेता भए पनि देश, समाज र परिवार भड्खालोमा जाकिन्छ । शास्त्रले यस्तो भन्छ ।