-गोविन्द एस उपाध्याय ।
आज स्वाभाविक द्वैताद्वैत, द्वैताद्वैत वा भेदभेदवादी दार्शनिक चिन्तनका समर्थक र प्रतिष्ठापक निम्बार्क आचार्यको जन्मजयन्ती हो र शिखधर्मका संस्थापक नानक देवको पनि जन्म दिवस हो । दूवै आचार्यहरू जन्मदिन आजै परे पनि जन्मेको समयको अन्तराल भने निकै लामो छ । निम्बार्क सम्प्रदायका साधकहरूका अनुसार यो वर्ष आचार्यश्रीको ५१२१ जन्मजयन्ती हो ।
श्रीराधाकृष्णका स्वेकीयभावका उपासक, वैष्णव सम्प्रदायका संस्थापक तथा भक्तिमार्गका अनन्य उपासक र निम्बार्क सम्प्रदायका प्रथम संस्थापक परम विद्वान् निम्बार्क, नियमानन्द, आरुणीजस्ता नामले प्रसिद्ध हुनुहुन्छ भने भक्तजनहरूले उहाँलाई श्रीसुदर्शन चक्रका प्रत्यक्ष अवतार मानेर आराधना गर्छन् । उहाँले वेद, उपनिषद् तथा ब्रह्मसूत्रले जीवन, जगत् तथा परमतत्वका सम्बद्धमा प्रतिपादन गरेको स्वाभाविक ‘द्वैताद्वैत’ वेदान्तलाई स्वीकार गरेर सनातन धर्मको प्रचारप्रसार र प्रतिष्ठा गर्नुभएको हो ।
आजको समयमा आचार्य निम्बार्कले अङ्गीकार गरेर प्रचारप्रसारमा स्थापित गरेको स्वाभाविक द्वैताद्वैत निकै सान्दर्भिक छ । उदाहरणका लागि आचार्य शंकरको वेदान्तले परमतत्व ब्रह्म हो र त्यो निराकार छ, ब्रह्मको बाहेक अन्य कुनै पनि विषयवस्तुको सत्ता छैन भनेर निर्णय दिए । आचार्य रामानुजले परमतत्वलाई ब्रह्म त भने तर विशिष्ट–अद्वैत भएको घोषणा गर्दै ‘परमतत्वलाई अद्वैत नै भने । यसै गरी आचार्य मध्वले परमतत्वलाई ‘द्वैत’ भएको ठोकुवा गरे । यी सबैको खण्डनमण्डन नगरी ‘ब्रह्म स्वाभाविक रूपमा द्वैत (अनेक) र अद्वैत (एक) दूवै स्वभावको हुन्छ । ब्रह्मलाई अद्वैत, विशिष्टद्वैत वा द्वैतका रूपमा परिभाषित गर्न सकिन्न र यस्तो गर्नु ईश्वरीय सत्तालाई सीमित गर्नु हो’ भन्ने आदर्श स्थापित गर्नु भयो ।
आचार्य निम्बार्कले परमसत्ताका विषयमा ‘मेरो गुरूको बाह्रै टक्का’ भन्ने उखान अस्वीकार गर्नुभयो । उहाँका अनुसार सत्य एउटा नै हुन्छ तर देश, काल परिस्थिति र परिवेशअनुसार भक्तहरूले द्वैत वा अनन्तका रूपमा पनि साक्षात्कार गर्न सक्छन् । भक्तको भावनाअनुसार भगवान र भक्तका विचमा सम्बन्ध स्थापित हुन्छ । चित् ब्रहमतत्व हो । अचित् संसार हो । काल अवधि हो । मूलतः ब्रह्मतत्व एकै भए पनि त्रिकरूपमा अनुभूत हुन्छ । यही ब्रह्मको स्वभाव हो । यसको अर्थ हो – ब्रह्म केवल ब्रह्म हो, त्यो परिभाषाले सीमित हुन सक्दैन । त्यसैले ब्रह्म स्वाभाविक रूपले द्वैतअद्वैत हुन्छ ।
आजको समाज ‘मेरो गोरूको बाह्रै टक्का’ भन्दै दार्शनिक श्रेष्ठताको बैचारिक युद्धरत छ । आचार्य निम्बार्कले आधुनिक विज्ञान र समाजशास्त्रका कतिपय मान्यताहरूका सवालमा स्वाभाविक दृष्टिकोण अवलम्बन गर्दै सत्यको खोज गर्ने प्रेरणा प्रदान गर्नुभएको छ । परिभाष्य सत्यमा विश्वास गर्नेहरू र त्यसमा पूर्वाग्रह राख्नेहरू दुर्घटनामा पर्न सक्छन् तर परमतत्वका सवालमा स्वाभाविक दृष्टिकोण राख्नेहरू सधैं सहज स्थितिमा हुन्छन् र मोक्षप्राप्त गर्छन् । अझै बुझ्ने भाषामा भन्दा आचार्य निम्बार्कको दृष्टिकोण परमसत्यका सवालमा प्राकृतिक दृष्टिकोणको सम्मान गर्नुपर्छ । सत्यका सवालमा वाद, विवाद र प्रतिवादले मोक्ष साधनामा अवरोध उत्पन्न गर्छ । तेसैले हरेक साधकले आफ्ना आराध्यदेवलाई स्वाभाविक द्वैताद्वैत मानेर आराधना गर्नुपर्छ ।
यदि स्वाभाविक द्वैताद्वैतको व्यावहारिक दृष्टिकोणको मूल्यांकन गर्ने हो भने हरेक मानवव्यक्ति प्राकृतिक रूपमा सत्यको साक्षात्कार गर्न जगतमा निर्भर छ । जगतलाई असत्य मान्दा सत्यको साधना गर्ने व्यक्ति स्वयं असत्य हुन्छ । असत्यबाट सत्यको ज्ञान अस्वाभाविक हुन्छ । त्यसैले संसारको हरेक व्यक्ति प्राकृतिक रूपमा स्वाभाविक द्वैताद्वैतवादी नै हुन्छ । पछि, विचारमा परिवर्तन हुनु पनि स्वाभाविक नै हो । त्यसैले सत्यलाई केवल एकल र निरपेक्ष बुझ्नु शास्त्रीय र व्यावहारिक दृष्टिकोणले त्रुटीपूर्ण हुन्छ – सायद आचार्य निम्बार्कको दार्शनिक चिन्तनको आशय पनि यही होला ।
श्रीराधाकृष्णका विनम्र उपासक निम्बार्क सम्प्रदायका थुप्रै उपासक,मन्दिर, पीठहरू नेपालमा पनि छन् । निम्बार्कीहरूले आफुलाई वैदिक सनातन धर्मका अनन्य अनुयायी ठान्छन् । निम्बार्कीहरू पूर्णतया साकाहारी हुन्छन् र जीवहिंसामा विश्वास गर्दैनन् । प्राचीन शाक्त, शैव, स्मार्त तथा वैष्णव सम्प्रदायहरू मध्ये विष्णुका उपासक निम्बार्की हुन् । नेपाली समाजमा यदाकदा निम्बार्कीहरूको आलोचना पनि हुन्छ किनभने शाक्त तथा स्मार्त परम्परामा प्रचलित पशुबलिसंग असहमति राख्छन् र आलोचना पनि गर्छन् । साथै केही विद्वानहरूले प्रणामीहरूलाई पनि निम्बार्ककै शाखा मान्नु पर्ने बताए पनि यसमा प्रणामीहरू असहमत छन् ।

प्रतिक्रिया