-गोविन्द एस उपाध्याय ।
नारीलाई शक्तिका रूपमा पूज्ने एकमात्र धर्म सनातन नै हो । सनातन शब्दभित्र जैन, बौद्ध स्वतः समावेश हुन्छन् । अहिले नवरात्र चलिरहेको छ । मूलतः आधुनिक दृष्टिकोणले समालोचना गर्ने हो भने नारीको महान् चाड तीजृपछि ९ दिनसम्म चल्ने नारीशक्तिको आराधना गरिने नवरात्र अद्भूत छ । नवरात्रभरी नारीहरूका नौ स्वरूप (avatar)हरूको पूजा, आराधना तथा चर्चा हुन्छ ।
नारीशक्तिको आराधना गर्दा आधुनिक समाजवादी नारीवादीहरूलाई कष्ट हुन्छ । “नारीलाई पूजा होइन समानता र सम्मान चाहियो । तीजमा नारीवादीहरूलाई कष्ट हुन्छ “यो लोग्नेको दासता गर्ने पर्व हो, वहिस्कार गर्नुपर्छ । आमाका रूपमा, छोरीका रूपमा, दिदीबहिनीजा रूपमा र कुमारीका रूपमा नारीको सम्मान गर्दा “नारीवादीहरू“को मन दुख्छ ।
विश्वमा गुरूका रूपमा नारीशक्तिलाई मान्यता दिने धर्म र संस्कृति पनि “सनातन“ नै हो । जिसस र मोहम्मदले प्रष्टरूपमा नारीलाई “उपदेश गर्ने, सभासम्मेलनमा बोल्ने तथा धार्मिक उपदेशक बन्ने“ काममा पूर्ण रोक लगाएका छन् । इसाईहरूले जिससको विभेदकारी अलिअलि गरेर अबज्ञा गर्दैछन् । मुसलमानहरूले मोहम्मदको आज्ञालाई अझैं बलियोसँग कार्यान्वयन गर्दैछन् ।
नारीवादीहरूले “मुस्लिम महिलाहरूको पीडालाई “सांस्कृतिक अधिकार“का आवरणमा छोप्छन् र जायज तुल्याउने गर्छन् । मुस्लिम र इसाई समुदायमा नारीको पूजाआराधना गर्ने कुरा सपनामा पनि सोच्न सक्दैनन् । उनीहरूका लागि महिला शक्तिका आराधना गर्नु होस् वा महिलालाई गुरुको रूपमा स्वीकार्नु नै किन नहोस् “शैतानी“ र धर्मग्रन्थ“का विरुद्धको कार्य हो । उनीहरू नर्क जान चहान्नन् ।
वैदिक संस्कृतिमा जतिसुकै खोट देखे र खोजे पनि “महिलाहरूलाई जोत्ने खेत“ तथा “पापको मतियार“ मानिन्न । देवीभागवतजस्ता महापुराणहरू नारिशक्तिमा सपर्पित छन् । विवाहपछि पुरुषले मात्रै धार्मिक, सामाजिक तथा सांस्कृतिक कर्म गरेर सफल हुँदैन । अनिवार्य रूपमा आफ्नी पत्नीसंग सहकार्य गर्नेपर्छ । पूजाआजा, सामाजिक कार्य,यज्ञमा दाहिनेहाततिर पत्नीको सहभागिता अनिवार्य हुन्छ ।
सही हो कि केही ठाउँमा नारीहरूको कठोर आलोचना र प्रतिबन्धका कुराहरू पनि शास्त्रमा छन् । यस्तो प्रतिबन्ध केवल नारीहरूका लागि होइनन् । पुरुषहरूका लागि पनि अनेकौं प्रतिबन्धहरू छन् । उदाहरणका लागि कुनै पनि विवाहित पुरुषले आफ्नी विवाहिता पत्नीको मर्जी विना आफ्नो सम्पत्ति बेचविखन गर्न, दान दिन वा अन्य सामाजिक कार्यमा खर्च गर्न पाउन्नन् । घरभित्र पत्नीको आदेश नै प्रमुख हुन्छ । कुनै पनि नारीलाई “नराम्रो भावले हेर्ने वित्तिकै असिपत्र नामक नर्कमा जानुपर्छ । नारीलाई अपमान गर्ने पुरुषलाई राजाले अधिकतम दण्ड दिन सक्छ ।
फेरि सबै पुरुषहरू र सबै नारीहरू “सत्यवादी, उच्चनैतिकता भएका; सदाचारी“ नै हुन्छन् भन्ने हुँदैन । दुराचारी नारीले “नारी“ भएको भरमा छूट पाइनुपर्छ भन्ने हुँदैन । सबै नारी “देवी“ नै हुन्छन् भन्ने हुँदैन । सबै पुरुषहरू देवता नै हुन्छन् भन्नु पनि गलत हो । दोष र गुण कर्मका आधारमा निर्धारित हुन्छन् । यदि शास्त्रले कुनै नारीको अवस्था वा व्यबस्थालाई आलोचना गरेको छ भने त्यो त्यस अवस्था वा व्यबहारका लागि हो, सम्पूर्ण नारीका लागि होइन ।
यदि आधुनिकतावादी नारीहरूले आरोप लगाएझैं “सबै नारीहरू दलित, शोषित र प्रतिबन्धित“ हुन्थे भने देवीकारूपमा, गुरुका रूपमा, उपदेशकाका रूपमा, माताका रूपमा मातृशक्तिको उपस्थिति हुने कुनै सम्भावना नै थिएन । आज पनि जीवित देवीका रूपमा बालिकाको पूजा हुन्छ । हरेक कन्या–केटीलाई देवी ठानेर खुट्टा ढोग्ने गरिन्छ । हरेक महिलाको नामसंग “देवी“ जोडेर सम्मान गरिन्छ । समाजवादको “जाँड“मा अन्धा भएकाहरूले यो सबै देख्दैनन् ।
सत्य हो कि व्याबहारिक रूपमा नारीहरूले समानताको अवसर प्राप्त गर्न पाएका छैनन् । लेखपढमा, जागिरमा, सम्पत्तिमा, स्वास्थ्यआदिमा नारीले समानता प्राप्त गर्नुपर्छ तर प्रकृतिले नै फरक क्षमतामा परिभाषित गरेका कुराहरूमा “समानता“ खोज्नु बहुलट्ठीपन हो । खासगरी “सेक्स“ सवालमा नारी र पुरुष दूवैले आ–आफ्नो चलनअनुसारको नैतिक बन्धन स्वीकार गरेको राम्रो हुन्छ । दोश्रो कुरा, अनियन्त्रित “सेक्स“ले सबैभन्दा बढी सुरक्षा जोखिम महिलालाई हुन्छ । तेसैले असुरक्षित यौनक्रियालाई “मेरो स्वतन्त्रता“ भन्नुको कुनै तुक छैन । महिला होस् वा पुरुष “सेक्स–फ्रीडम“ बाहियात नारीवाद हो ।
वैदिक सनातन संस्कृतिमा नारीमा आधारित अनेकौं मूर्त र अमूर्त सम्पदाहरू छन् । जतिधेरै नारीहरूप्रति सनातन धर्म उदार छ, त्यतिधेरै साम्यवाद पनि छैन । पूँजीवादले नारीको शरीरलाई “व्यापारिक बस्तु“ बनाएको छ भने साम्यवादीहरूले नारीलाई “यन्त्रनारी“ । वैदिक संस्कृतिले नारीलाई उसको कर्म र गुणअनुसार कही देवी, कहीं मनुष्य र कहीं दानवीका रूपमा प्रस्तुत गरेको छ । व्याबहारिक रूपमा पनि केही नारी देवी हुन्छन् केही नारीहरू सामान्य मानवी हुन्छन् र केही नारीहरू दानवी (दुष्ट) स्वभावका हुन्छन् । देवीहरू पूजित हुन्छन् । मानवीहरू सामान्य आदरका पात्र हुन्छन् भने दानवीहरू प्रताडित हुन्छन् । वैदिक संस्कृतिले सद्गुण (सामाजिक, सांस्कृतिक तथा धार्मिक संस्कारहरू नमान्ने) नारीहरूलाई पूजनीय र आदरणीय ठान्दैन ।
यहींबाट आधुनिकतावादी नारीहरूको चित्त दुख्छ । मोटरको विज्ञापनमा अर्धनग्न नारी शरीरको प्रदर्शन होस् वा महङ्गा रक्सीको बोतलसंग नारीशरीरको प्रदर्शन वा कण्डमको विज्ञापनमा नारीको उपस्थितिले आधुनिकतावादीहरूलाई समस्या छैन तर जीवित कुमारीका रूपमा नारीशक्तिको आराधना हुँदा वैदिक, बौद्ध संस्कृति नारीको शत्रु ठहरिन्छ । नवरात्रजस्तो पवित्र शक्तिउपासनाको पर्वमा यस्तो चर्चा नगर्ने पाएको भए राम्रो हुन्थ्यो । वैदिक, बौद्ध संस्कृतिका जतिसुकै असल कुरा गरे पनि “विदेशीले ब्रेनवास“ गरेकाहरूले बस्तुगत यथार्थ स्वीकार्ने छैनन् । वैदिक संस्कृतिका साच्चिकै असल पक्ष सुनाए पनि केही फरक पर्दैन किनभने भैंसीले बाँसुरी बजाएर केही प्रभाव पर्दैन ।
यो आलेखको उद्देश्य “ब्रेनवास गरिएकाहरूलाई“ सूचना दिनु होइन । असलमा, यसको प्रयोजन वैदिक संस्कृतिमा नारीको सम्मान र आदरको उच्चतम आदर्श छ भन्ने तत्थ्य पाठक समक्ष पुर्याउन खोजेको हो । चण्डीमा दुर्गालाई शान्ति, क्षमा, धृति, लक्ष्मी, करूणा, शक्ति, ऊर्जाआदि र मूलतत्व भनेर सम्बोधन गरिएको छ । नारीको यो विश्वेश्वर स्वरूपको सम्मान नगर्ने सक्ने र यसमा पनि “पुरुषवाद“ सोच्नेहरूले मुस्लिम र इसाईको दोजख वा हेलको निवास प्राप्त गरूँन् । अथवा मोहम्मद वा जिससले स्वर्गका लागि सिफारिस गरिदिउन्, केही आपत्ति छैन ।
हामी वैदिकहरू नारीशक्तिलाई देवी दुर्गा, पार्वती, शिवा, लक्ष्मी, सरस्वती, गुरू,देवीका रूपमा उपासना गर्नेनै छौं ।
जय महाकाली, महासरस्वती, महालक्ष्मी

प्रतिक्रिया