-डा. गोविन्द एस उपाध्याय ।
गुजरातका अम्बालाल मुलजीभाई पटेललाई संसारले दादा भगवान भनेर चिन्छ। गृहस्थ जीवनमै आत्मज्ञान पाउन सकिन्छ भन्ने सन्देश दिनुहुने उहाँ कुनै संन्यासी होइन, एक सामान्य ठेकेदार र पारिवारिक जीवन जिउने व्यक्ति हुनुहुन्थ्यो। तर १९५८ सालमा सूरत रेल्वे स्टेशनमा उहाँले अनुभव गर्नुभएको आत्मबोधले उहाँलाई एक आध्यात्मिक गुरु बनायो। यहीबाट सुरु भयो अक्रम विज्ञान—कठोर तपस्या वा संयम बिना आत्मज्ञानमा पुग्ने बाटो।
दादा भगवानको शिक्षामा सबैभन्दा जीवित पक्ष भनेको उहाँको श्रीकृष्णप्रतिको गहिरो प्रेम हो। उहाँका लागि कृष्ण केवल द्वारिकाका राजा होइनन्, बरु पूर्णावतार—प्रेम, आनन्द र करुणाको मूर्त रूप। उहाँले बारम्बार भन्नुहुन्थ्यो, ‘कृष्णलाई सम्झनु भनेको अहंकार पगाल्नु हो।’ जसरी गोपिनीहरूले सबै कुरा छोडेर कृष्णलाई समर्पण गरे, त्यस्तै अहंकार त्याग्दा मात्र मुक्ति सम्भव हुन्छ भन्ने उहाँको धारणा थियो।
उहाँले गीतामार्फत अर्जुनलाई दिएका कृष्णका शिक्षालाई आफ्नै विचारसँग जोड्नुभयो। निष्काम कर्म, भक्ति र आत्मज्ञान—यी तीन आधारलाई उहाँले जीवनका मुख्य स्तम्भ ठान्नुभयो। उहाँका अनुसार, कृष्णले अर्जुनलाई युद्धभूमिमै तुरुन्तै विश्वरूप दर्शन गराएझैँ, आत्मज्ञान पनि क्षणभरमै सम्भव हुन्छ, यदि ग्नानी पुरुषको कृपा भेटियो भने।
कृष्णलाई दादाजीले प्रेमको अवतार, सर्वोच्च गुरु र आनन्दका प्रतीकका रूपमा चित्रण गर्नुभयो। उहाँका अनुयायीहरू अझै पनि कृष्णभजन गाउने, जन्माष्टमी मनाउने, ध्यानमा कृष्णका गुण सम्झने, र दैनिकीमा क्षमा, करुणा र आनन्दलाई अभ्यास गर्ने गर्छन्। उहाँले भनेझैँ, ‘कृष्णलाई पूज्नु मात्र होइन, उहाँका गुणहरू जीवनमा उतार्नुपर्छ।’
दादा भगवानको दृष्टिमा कृष्णप्रेम कुनै संकुचित धार्मिक भावुकता थिएन। उहाँले भन्नुहुन्थ्यो, ‘कृष्ण, क्राइस्ट वा अल्लाह—सत्य त एउटै हो।’ यसले उहाँको प्रेमलाई सार्वभौमिक बनायो। कृष्णलाई उहाँले सबै धर्मभन्दा माथि रहेको दिव्य चेतनाको प्रतीकका रूपमा देख्नुभयो।
यद्यपि कतिपयले उहाँको शिक्षालाई सजिलो मार्ग भन्दै आलोचना गरे। परम्परागत साधनामा तपस्या र संयमलाई अनिवार्य ठानिन्छ। तर दादाजीले गीता उदृत गर्दै जवाफ दिनुभयो—’जो श्रद्धाले एक पात वा एक फूल पनि अर्पण गर्छ, म स्वीकार्छु।’ त्यसैले उहाँका लागि आत्मज्ञान प्रेम र श्रद्धाबाट प्राप्त हुने कुरा थियो, कठिन अभ्यास मात्र होइन।
आज दादा भगवानका अनुयायीहरूका लागि कृष्ण कुनै टाढाको कथा वा मूर्ति होइनन्। उनीहरूका लागि कृष्ण सधैं मुस्कुराउँदै, बाँसुरी बजाउँदै, प्रेम र करुणासहित जीवनलाई मार्गदर्शन गर्ने जीवित शक्ति हुन्। यसरी दादा भगवानको कृष्णप्रेम केवल व्यक्तिगत भक्ति मात्र नभई, लाखौँ भक्तका लागि आत्मज्ञान र मुक्ति तर्फको प्रेरणा बनेर आजसम्म जीवित छ।

प्रतिक्रिया