पर्म, पैँचो र विचार
डा. गोविन्दशरण उपाध्याय ।
गाउँघरतिर यी शब्दहरूसंग जोडिएका व्यबहारहरू हराउँदै गएका छन् । बोर्डिङ स्कूलको पुस्ता त झन् झन् यी शब्दहरूको अर्थ समेत बुझ्दैन । मैले यी शब्दहरूको उतार कसैलाई दोष दिनका लागि गरेको होइन बरू आत्ममन्थनका लागि गरेको हुँ । केही दिन अगाडि एकजना मित्रले मेरो चिन्तनले धेरै चित्त दुखाए छ । बल्ल मैले बुझेंः एकै विषयमा मेरो सोच र अर्काको सोच नितान्त भिन्न हुनसक्छ । पर्म शब्दको व्याबहारिक प्रयोग खेतीपाती लगाउँदा सामुहिकरुपमा रूपमा दिन मिलाएर काम गर्नु हो । उदारहणको लागि मेरो रोपाइँ परेका दिन वा मकै गोड्ने दिन गाउँका पर्मालुहरू मेरोमा आउँछन् र एवं रीतले म पनि आउनेहरूको घरमा रोपाईं हुँदा म पनि जान्छु । यहाँ पैसाको लेनदेन हुँदैन तर श्रमको साटासाट हुन्छ । यो एउटा सामूहिक भावनासंग जोडिएको सहयोग आदानप्रदान गर्ने अभ्यास हो, जुन नेपाली समाजमा परम्परागत रूपमा चलिआएको छ ।
नेपाली समाजले विदेशी मूलका राजनैतिक चिन्तनहरूलाई राज्य संचालनको आधार बनाए पछि मान्छेहरू पैसालाई महत्व दिन थाले पर्म (Commune based farming) हरू स्वतः निष्प्रभावि बने । साम्यवादको नारा लिएर आउने राजनैतिक दलहरूले समेत परम्परागत सामुहिकतामा आधारित काम गर्ने व्यवस्थालाई ध्वस्त बनाए ।
दोस्रो कुरा पैंचो को हो । पैंचोको सम्वन्ध विना पैसा समान. खाद्यान, तेलआदि साटासाट गर्ने संग छ । उदाहरणका लागि मेरो घरमा भैसी व्याएको छ र प्रसस्त घीऊ हुन्छ तर फलानोको घरमा भैसी व्याएको छैन तर ब्याउनेवाल छ । फलानाले मसँग चारमाना घीऊ आफ्नो भैंसी व्यायेपछि फर्काउने शर्तमा लैजानु हुन्छ र आफ्नो भैसी व्यायेपछि पैचो लगेकै मात्रामा फर्काउनु हुन्छ ।
यो व्यवस्थाले छिमेकीहरू विच प्रेमसम्वन्ध गाढा हुन्थ्यो भने विना पैसो पनि समुहका मान्छेहरूले आफ्नो आवश्यकता पूरा गर्थे । आधुनिकताको नाममा सरकारले नै यस्तो सामुदायिक भावनामा आधारित व्यबहारलाई निरुत्साहित गरेर ध्वस्त बनाउन मदत गरिरहेको छ । यो व्यवस्थाका विषयमा कार्लमार्क्सलाई थाहा हुँदो हो त आफ्नो कम्युनिष्ट मेनिफेस्टोमा पैचो र पर्मको कुरा अवश्य उठान गर्थे ।
तेश्रो कुरा ‘विचार’को हो । विचारको अर्थ कुनै व्यक्ति विशेषले गर्ने चिन्तन वा विचार होइन । कुनै आफन्तको मृत्यु भएको अवस्थामा क्रिया गर्नेहरूलाई भेट्न जाँदा लैजाने ‘घीऊ, चिनी, केरा, फलफुल’आदि भेटी नै विचार हो । पर्वत र स्याङ्जातिर ‘भेटी’ भन्ने चलन छ भने काठमाडौं र पूर्वी नेपालतिर विचार भन्ने चलन रहेछ । ‘विचार’ यस्तो चलन थियो जसले आफन्तको मृत्यु शोकमा आकुलव्याकुलहरूलाई आफन्तहरूले ‘विचार’ लगेर सान्त्वना दिन्थे । आधुनिकताको अहङ्कारले ‘विचार’जस्तो महत्वपूर्ण चालचलनलाई पनि क्रमशः निल्दै छ ।
विदेशीहरूबाट असल कुरा सिक्नु राम्रो कुरा हो तर नराम्रोका लागि आफ्ना असल र मौलिक चलनहरूलाई क्रमशः अन्धविश्वास भनेर छोड्दै जानु सांस्कृतिक आत्महत्या हो । ‘विचार’ लिएर जानेले मृत्युशोकमा डुवेकाहरूलाई जीवनदर्शनका विषयमा प्रोत्साहन दिन्छन् । सायद यसैलाई आजको विकासे भाषामा ‘मनोवैज्ञानिक परामर्श’ भनिन्छ । विचारको विशेषता के हो भने यस्तो परामर्शका लागि कुनै शुल्क तिर्नु पर्दैन ।
आज पनि नेपाली समाजमा पर्म, पैंचो र विचार न्यूनाधिक रूपमा प्रचलित नै छन् । नक्कललाई नै आधुनिकता र प्रगति ठान्ने राजनैतिक पद्धति र शैक्षिक चिन्तनले असल व्यबहार र परम्पराहरूलाई निल्दै छन् । पैसाले श्रमिक पाइन्छन् तर विना पैसा पनि एउटाले अर्कालाई सहयोग गर्ने ’सहृदयी मन’ पाइन्न । पैसाले विचार किन्न सकिएला तर ‘विचार’संग भेट्न आएका आफन्तहरूको भावनात्मक प्रेम पाइन्न । पैसोमा प्राण हुँदैन, सम्बेदना हुँदैन तर पर्म, पैंचो र विचारमा मान्छेको मनुस्यत्व जीवन्त हुन्छ ।
के यी असल परम्परा नष्ट भएपछि नेपाली समाज अमेरिका, बेलायत र जर्मनीहरूजस्तै पूर्ण विकसित र साधन सम्पन्न हुनसक्ने छन् त ? सायद मेरो बुद्धिमा बारम्बार आउने प्रश्नको उत्तर मसंग पनि छैन र नक्कल गर्न ‘खप्पिस’हरूले त दिनेनै छैनन् । असलमा, गुठी, पैँचो, पर्म, धर्म भकारी तथा ढुकुटीजस्ता सहकारी परम्पराहरू नष्ट हुँदै छन्, हाम्रो राजनैतिक संस्कार निरपेक्ष भएर विदेशी परम्पराको नक्कलमा स्वाद मान्दै छ ।