एउटा अन्तर्राष्ट्रिय गोष्ठीको चर्चा
डा. गोविन्द उपाध्याय, दर्शनशास्त्र विभाग त्रिविवि
सिद्धान्त निर्माणको प्रक्रिया ज्यादै जटिल र कठिन विषयवस्तु मानिन्छ । नेपालमा मौलिक सिद्धान्त निर्माण गर्ने नेपालीहरू निकै थोरै छन् । विश्वभरीनै सिद्धान्त निर्माण गरेको जस जीवितै रहँदा पाउनेहरू झन् कम छन् । त्यसमा पनि नेपालीले निर्माण गरेको सिद्धान्तमा चिन्तन गर्न अन्तर्राष्ट्रिय गोष्ठी हुँदैछ भन्दा धेरैले नपत्याउन सक्छन् । तर गोष्ठी हुँदै छ, यो सत्य हो । नेपाली विश्वविद्यालयमा कार्यरत युवा विद्वानहरू मध्ये तुलनात्मक नयाँ तर जल्दोबल्दो पत्रकारिता तथा आमसंचारको विधाकालागि “संचारको साधारणीकरण प्रारूप ( SMC )” नामक नितान्त नयाँ सिद्धान्त निरुपण गरेर काठमाडौं विश्वविद्यालयका निर्मलमणि अधिकारीले विश्वभरिबाट जस प्राप्त गरेका छन् ।
आगामी जेठ १३ गते तदनुसार जुन २६ का दिन काठमाडौं विविको पत्रकारिता तथा आमसंचार विभागले एक दिने अन्तःराष्ट्रिय गोष्ठीको आयोजना गर्दैछ । सो गोष्ठीमा विश्वभरीबाट संचार र दर्शनशास्त्रमा अभिरुचि भएका विरिष्ट विद्वानहरू, शोधार्थीहरू र तथा जिज्ञासुहरू जुट्दै छन् । उपरोक्त सम्मेलन विक्रम सम्वत् २०६० ताका स्नातकोत्तरको लागि शोध बुझाउने क्रममा अधिकारीले बुझाएको शोध प्रवन्धमा आधारित छ । प्राचीन भारतवर्षीय मौलिक दार्शनिक विधा भाट्ट–मीमांसामा आधारित रहेर प्रस्तुत गरिएको उपर्युक्त शोध “संचारको साधारणीकरण प्रारूप ( SMC )” भारतवर्षीय क्षेत्रबाट प्रस्तुत भएको सम्भवतया मौलिक सिद्धात हो भने नेपालीबाट प्रस्तुत भएको पहिलो संचार–सिद्धान्त हो । नेपाल र भारतसहित अनेकौं विश्वविद्यालयहरूले संचारको नवीनतम सिद्धान्तका रूपमा उपर्युक्त मोडेललाई आफ्नो पाठ्यक्रममा समावेश गरिसकेका छन् र यसको प्रभाव बढ्दो छ ।
सिद्धान्त निर्माण एउटा जटील प्रक्रिया हो । भारतवर्षमा मौलिकतामा आधारित रहेर सिद्धान्तहरू निर्माण गर्ने प्रक्रियाहरू सम्भवतः संस्कृत भाषालाई अंग्रेजीले विस्थापित गरेपछि रोकिएको थियो । अंग्रेजी भाषामा सिद्धान्त निर्माण गर्ने प्रक्रियाले हस्तक्षेप गरेपछि भारतवर्षमा मौलिक सिद्धान्त निर्माण गर्ने प्रक्रियामा अवरोध उत्पन्न भएको थियो । त्यसमा पनि पत्रकारिता र आमसंचार नवीनतम विषय भएकोले यसभित्र भारतवर्षका मौलिक सिद्धान्तहरू खोज्नु झन् जटिल ठान्छु । डा. अधिकारीले मीमांसा, भरतनाट्यम्जस्ता मौलिक विधाहरूलाई आधार बनाएर आफुले प्रतिपादन गरेको सिद्धान्तलाई परिस्कृत गर्दै वैश्विक बनाए ।
संचारका क्षेत्रमा आफ्नो मात्र सैद्धान्तिक र व्याबहारिक एकाधिकार ठान्ने अंग्रेजी विश्वका लागि SMC नितान्त नयाँ अवधारणा भएकोले केहीले यसमा चासो दिए, केहीले मुख विगारे र केहीले आफ्नो प्रतिद्वंदी ठानेर आलोचना गरे । तर आमसंचार तथा पत्रकारिता क्षेत्रले भने दिलखोलेर क्ःऋ लाई स्वागत गर्यो । सम्भवतः यसै चर्चा र नवीनताको कारणले गर्दा उपरोक्त सिद्धान्तले सिद्धान्तकारकै उपस्थितिमा बौद्धिक समालोचनाको अवसर प्राप्त गरेको छ । वैश्विकस्तरमा यस्तो गौरव केही व्यक्तिके मात्र प्राप्त गरेको इतिहास छ ।
डा. अधिकारी एउटा दुस्साहसी लेखक, अनुसन्धाता र अभियन्ताका रूपमा काम गर्न अभिरुचि राख्ने व्यक्तिका रूपमा परिचित छन् । वैदिक संस्कृति र सम्पदाप्रति उनको गहिरो अभिरुचि छ । विज्ञानबाट आफ्नो शैक्षिकयात्रा आरम्भ गरेर उनी आमसंचारका क्षेत्रमा स्थिर भएका छन् तर SMC ले उनको बौद्धिक व्यक्तित्वमा “नेपाली तथा भारतीयहरूले सिद्धान्त निर्माणतिर केन्द्रित भए र सिद्धान्त निर्माण गरेमात्र विश्वले पत्याउने अवस्था प्राप्त गर्छन्” भन्ने आग्रह बढीनै झाँगिएको बुझ्न सकिन्छ । त्यसैले होला, उनी एउटा प्राज्ञिक व्यक्ति, सामाजिक तथा सांस्कृतिक अभियन्ता तथा वैदिक संस्कृतिका विनम्र अनुयायीका रूपमा नेपाली तथा भारतीय विद्यार्थीहरूलाई “सिद्धान्त निर्माण”को तयारी गर्न प्रेरित गर्छन् ।
Sadharanikaran model of communication (SMC) का रूपमा परिचित डा, अधिकारीको संचार सिद्धान्त नेपालबाट विश्वभरी संचारको नवीनतम सिद्धान्त हो भनेर समालोचनात्मक रूपले स्वीकार गरिएको भारतवर्षको पहिलो विधा हुन सक्छ । यो विधाले प्राचीन संस्कृत परम्परामा पनि संचारका मौलिक विधाहरू उपस्थित छन् र तिनको अनुसन्धान हुन सके संचारक्षेत्रको यशोवर्धन हुन्छ भन्ने संदेश गएको छ । आलोचकले जे–जस्तो आलोचना गरे पनि मीमांसा दर्शनको किलोमा उभिएको SMC आधुनिक संचार जगतका लागि नयाँ बाटो खोलेको छ भने भारतवर्षको दार्शनिक परम्पराभित्र तापत्रयबाट मान्छेलाई मुक्त गरेर मोक्षप्राप्तको अधिकार प्राप्त गर्ने आध्यात्मिक पाटोसमेत जोडेको छ । अंग्रेजी संचार विश्वले संचार साधना पनि हुन सक्छ जसले मोक्षको बाटो खोल्छ भन्ने कल्पना समेत नगरेको अवस्थामा डा, अधिकारीले संचारलाई योग अर्थात् ईश्वरसंग जोड्ने साधनका रूपमा प्रस्तावित गरेका छन् ।
डा. अधिकारीले तयार गरेको संचार सिद्धान्त पूर्णतया वैदिक बौद्धिक सम्पदामा आधारित भएर पनि निरपेक्ष छ । संचारजगतको यो नयाँ सैद्धान्तिक प्रारूपका कारण वैदिक शब्दावलीहरू वैश्विक संचारको मूलधारमा प्रवेश प्रवेश पाएका छन्, अंग्रेजीको प्रभूत्व प्रभावित भएको छ । उदाहरणका लागि साधारणीकरण, सहृदयता, संचार, मीमांसा, भट्ट, मुद्रा, रस, भाव, तापत्रयजस्ता अनेकौं संस्कृतका मौलिक शब्दहरूका साथै नेपाल र भारतवर्ष पनि संचार संकथनमा नवीन स्थान प्राप्त गर्न सफल भएका छन् । एउटा दर्शनशास्त्रको विद्यार्थीका रूपमा संकथन महत्व मैले बुझेको छु ।
डा. अधिकारीको तपाईं आलोचक वा समालोचक वा तटस्थभाव राख्ने व्यक्ति हुन सक्नु हुन्छ तर एउटा अनुसन्धाताका रूपमा उनले प्रस्तुत गरेको सिद्धान्तमा आधारित रहेर, उनकै जीवनकालमा, सक्रियकालमा विविजस्तो आधिकारिक निकायले सैद्धान्तिक तथा व्यबाहरिक छलफलका लागि अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गर्छ र उनले खडा गरेको संचारको सिद्धान्तमा बहस हुन्छ भने नेपालीले गौरव गर्नुपर्छ । संचारका सिद्धान्तमा सबैको अभिरुचि हुन जरुरी छैन र हुँदैन पनि तर एउटा नेपाली विद्वानले निर्माण गरेको सिद्धान्तले पाएको गौरवमा खुसी हुनुपर्छ र अधिकारीप्रवृत्तिलाई सहयोग, प्रसंसा र उत्प्रेरणा दिनुपर्छ । इति