पितृहरू को हुन् ?
प्राडा देवमणि भट्टराई ।
महालय विशेषः भाग १
आश्विन महिनाको कृष्णपक्षलाई पितृपक्ष वा महालय पक्ष भन्दछन् । यस पक्षमा पितृहरू आफ्नो जीवित सन्तान वा श्राद्धकर्ताको ढोकामै आइपुग्छन्। पितृपक्षमा श्राद्ध गर्ने कर्तामा आश्रित भएर उसका पितृहरू घरको ढोकामा आएर बसिरहेका हुन्छन् । त्यसमा पनि समस्त पितृहरूले कर्ताको पितालाई मुख्य व्यक्ति बनाएर यसले (कर्ताले) श्राद्ध कहिले गर्ला भनेर बाटो हेरिरहेका हुन्छन्। पितृहरूको नेतृत्व कर्ताका पिताले गर्दछन् । कर्ताका पिताले समस्त पितृहरूसँग ’मेरो तिथि द्वितीया हो, पञ्चमी हो, सप्तमी हो वा औंसी हो, यसै दिन उसले हामीलाई बोलाउँछ, हामी त्यस दिन ब्राह्मणमार्फत जानुपर्दछ’ भनी ढोकामा बसेर वार्तालाप गरिरहेका हुन्छन् । यसर्थ पिताको मृततिथिमा नै महालय श्राद्ध गर्नुपर्छ। महालय पक्ष लाग्ने पूर्णिमा र चतुर्दशी तिथि भएकाहरूको भने अष्टमी, द्वादशी, औसी, भरणी नक्षत्र र व्यतीपात योगमा पनि महालय श्राद्ध गर्न सकिन्छ भनिएको छ। तर महालय श्राद्ध तिथिप्रधान भएकाले अष्टमी, चतुर्दशी, औंसी र आशौचादिले रोकिएको महालय श्राद्ध पनि अष्टमी, द्वादशी औंसीमध्ये एक तिथिमा गर्नुपर्छ ।
पितृहरू को हुन् ?
मरणोपरान्त दशाह कृत्य पूरा गरी एकादशाह, सपिण्डी श्राद्ध गरी तेह्र दिनमा उत्तरपाथेय श्राद्ध सम्पन्न भएपछि वर्षदिनसम्मका मासिकादि गरेर वर्षदिनमा वार्षिक श्राद्ध पूरा भएपछि पूर्णरूपमा प्रेतत्वबाट मुक्त भई पितृलोकको यात्रा मृतकले तय गर्दछ र उसले पूर्वपितृहरूसँग गएर बस्न पाउँछ । यता छोराहरूले पनि कर्तव्य पूरा गरेर वार्षिक तिथिमा श्राद्ध र महालय पक्षमा पिताको तिथिलाई निमित्त मानेर आफू कर्तामा आश्रित भएका समस्त पितृहरूलाई यस पक्षमा श्राद्ध गर्दछ । यसबाट दुवैको कल्याण हुनुका साथै पितृहरूले आफूले गरेका सत्कर्म अनुसार वैकुण्ठ लोक, ब्रह्मलोक, सत्यलोक आदिको यात्रा तय गर्दछन् भने पुत्रहरूले तिथिका दिन दिएको पिण्ड तर्पण प्राप्त गरी पूर्वयात्रामा नै फर्किन्छन् । तर श्राद्ध नभएको अवस्थामा भने उनीहरू २ महिना अर्थात् आशिन कृष्णपक्षको आफ्नो तिथिदेखि वृश्चिक संक्रान्ति नलाग्दासम्म कर्ताको निवासको ढोकामा आएर कहिले श्राद्ध गर्ला भनी पर्खन्छन्। त्यो प्रतीक्षा पनि पितृहरूको कर्तव्य अन्तर्गत पर्दछ ।
यस वर्षदिनसम्मको विधिको उल्लंघन गर्दा प्रेतबाट छुटेर पितृपद नै प्राप्त नगर्ने हुँदा, पितृहरूमा भोक्तृत्व क्षमता नै नआउने हुँदा दशाहदेखि वार्षिक कृत्यसम्मको काजकिरिया शुद्ध हुनु नै पितृपद प्राप्तिको प्रथम सोपान हो । प्रेतत्वको निवृत्ति नभई पितृपदको प्राप्ति सम्भव छैन, अकल्पनीय छ । अतः पितृ ती हुन्, जसको वार्षिक पिण्डसम्मको कृत्य पूर्ण भएको छ। पुत्रादि किरियाकर्म कर्ताको र मृत पित्रादि व्यक्तिको सम्बन्ध अन्योन्याश्रित छ।
मृतकको कर्म पूरा नभएमा पुत्रादिलाई पूरा गर्नका लागि समीपमा आएर पौराणिक पात्र धुन्धुकारीसरह प्रेरणा दिइरहेका हुन्छन्। दुःख दिएको नभई सचेत गराएको हुनाले उनीहरूले आफूलाई उद्धार गरिदिन अनुरोध मात्र गरेको हो । वस्तुतः प्रेतको स्वरूप र उसले गर्ने क्रियाकलाप हामीलाई भयावह लागेको मात्र हो। अतः पुत्रको कर्तव्य मृतकलाई पितृ बनाउनु हो, प्रेतत्वबाट उन्मुक्ति दिनु हो । बाँकी उसको कर्मअनुसारको फल एक वर्षपछि उसले स्वर्ग, नरकादि आफै भोग्ने हो। पितृपद प्राप्त गरेकाहरूले मात्र एकोद्दिष्ट तथा महालयादि श्राद्धको पिण्ड–जल आदि भोग गर्न पाउँछन् ।
महालयमा यी पितृहरू कर्ताको घर–आँगनमा आउँछन् र निमन्त्रणा गरेको ब्राह्मणको शरीरमार्फत श्राद्धभूमिमा पुगी तर्पणादि जल दिएको पिण्ड प्राप्त गर्छन् । पितृ, पितामह, प्रपितामह, माता, पितामही, प्रपितामही, मातामह, प्रमातामह, वृद्ध–प्रमातामह, मातामही प्रमातामही, वृद्ध– प्रमातामही यसैगरी काकाहरू, काकीहरू, फुपूहरू, फुपाजु र उनीहरूका छोराछोरीहरू, भाइहरू बुहारीहरू, बहिनीहरू, ज्वाइँहरू, सानिमा, ठूल्यामाहरू, उनीहरूका पति र सन्तानहरू, आफन्तजनहरू, गायत्री गुरु, दीक्षागुरु, मन्त्रगुरु अनन्तगुरु, पत्नीका पितामाता, साला– जेठानहरू, राजा र भीष्मपितामह सम्मका लागि जल, तर्पण र पिण्ड दिने व्यवस्था धर्मशास्त्रमा श्राद्धको विषयमा उल्लेख गरेको पाइन्छ। उनीहरूलाई श्राद्धमार्फत कृतज्ञता सम्पन्न गर्दै यी सबैबाट ऐच्छिक एवं पारलौकिक सुखको आशीर्वाद पितृहरूले दिएर जान्छन्। जस्तै याज्ञवल्क्यस्मृतिमा लेखिएको छ– आयु प्रजां धनं विद्यां स्वर्ग मोक्ष सुखानि च । प्रयच्छन्ति तथा राज्यं प्रीता नृणां पितामहाः । आचार २७० ।।
भट्टराई, नेपाल संस्कृत विश्वविद्यालयको धर्मशास्त्र विभाग प्रमुख हुनुुहुन्छ ।