महिनावारी नै सुदूरपश्चिमका महिलाका लागि अभिशाप बनिरहेको छ



डा. अरुणा उप्रेती ।

अझै पनि सुदूरपश्चिमकै केही भागमा गौरा अझै उदास भएर रोइरहेकै छिन् । उनको आँसु पुछ्ने हातहरू सुदूरपश्चिममा छन् होला नि ?
उनको आँसु रावल, चन्द, देउवाले देख्दैनन्, ? किनभने यी नेताका आमा, बहिनी र छोरीहरू छाउपडीमा बस्दैनन् ।
अछामका प्रमुख जिल्ला अधिकारी नै जिल्लालाई छाउपडीबाट मुक्ति दिलाउने काममा लागेपछि आशा लागेको छ, अब केही त कम हुन्छ होला छाउपडीको कुप्रथा ।

“तिमारु काठमाडौंबाटआन्या ? केके कुरा अर्न्या ? छौपडीको विषयमा कुरा अर्न्या त तिमीहरू गै जाऊ ? तमलाई के चासो हाम्रा क्वारी कता रहन्छन् छुई हुँदा । हाम्रा आँखा निका छैनन् । हामलाई धम्कीको रोग छ । यस्ता बात क्यै नअर्न्या, केवल छाउपडी, छाउपडी भन्या ।’ केही वर्षअघि अछामको लइटी गाविसका सत्तरी वर्षजतिका बूढा मान्छे यसरी मसँग निकै रिसाएका थिए, उनका बुहारीहरूसँग छाउपडीका बारेमा कुरा गर्न खोज्दा । छाउपडी कति हटेछ भनेर एउटा संस्थाको कामको मूल्यांकन गर्न म गएकी थिएँ ।

ती बूढाको घरनजिकै सानो छाउघर रहेछ । त्यो देख्नेबित्तिकै सोचें— म पाँच फिटकी सानी मान्छेको पनि झन्डै काँधसम्म मात्र आउने छाउघरमा महिलाहरू पाँच–सात दिनसम्म कसरी बस्छन् होला ! त्यो छाउघरमा छिर्न खोज्दा ढोका धेरै सानो भएकाले म सफल भएकी थिइनँ ।

बाहिरबाटै फोटो खिचाएकी थिएँ ।
‘हामीले कति गाविसमा कार्यक्रम पनि चलायौं । केही गाविसका केही वडाहरू त छाउपडी गोठबाट मुक्त पनि भए, कति भएन ।’ त्यति बेला महिला विकास कार्यक्रमकी कर्मचारीले उदास भएर भनेकी थिइन् । ‘यस्तो प्रथा हटाउन गाह्रै हुन्छ ।’ अर्की सरकारी कर्मचारीले भनेकी थिइन् ।

सुदूरपश्चिममा, हेर्दा पुतलीको घरजस्तै ‘सुन्दर’ लाग्ने छाउगोठहरूमा धेरै महिला अझै पनि महिनामा केही दिन बाध्य भएर बस्नुपर्छ । यसरी त्यहाँका महिलालाई कुन अपराधको दण्ड दिइएको हो ? कसैले भन्न सक्दैन । छाउगोठमा त्यही एउटा ढोका हुन्छ, खापा हुँदैनन् । ‘त्यसैले जाडोको बेला सिरेटो चल्दा रातभरि आगो बालेर बस्नुपर्छ र अनि धूवाँमा निसासिनुपर्छ ।’ केही महिलाले दुखेसो पोखेका थिए । तर कतिपय महिलाले ‘पहिलेपहिले छाउगोठ घरबाट धेरै टाढा हुन्थ्यो, अहिले त प्रगति भएको छ, छाउगोठ कम से कम घरनजिकै ल्याएका छन्’ भनेको सुन्दा मेरो मनै कुँडियो ।

टाढाको त्यो गोठ घरनजिक ल्याएर राख्दा ‘प्रगति’ मान्ने सुदूरपश्चिम ! छाउपडीमा बस्दा सर्पले टोकेर तड्पीतड्पी मृत्युको मुखमा पर्ने कतिपय देवीको दुःखलाई सुन्दर सुदूरपश्चिमले कम गर्न सकेको छैन । नयाँ जीवन निर्माणको एउटा कारक महिनावारी नै सुदूरपश्चिमका महिलाका लागि अभिशाप बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको

पुरुषभन्दा महिलाको आयु बढी भएको देख्दा अर्को अचम्म लाग्ने विषय खुलेको छ

डा. दीपेन्द्र रोकाया । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको

लोग्नेस्वास्नीका चारवटा शत्रु !

डा. गोविन्दशरण उपाध्याय । १. यो वर्ष नेपालमा सम्बन्ध विच्छेद गर्ने लोग्नेस्वास्नीको सङ्ख्या