दाम्पत्य र अधिकारवाद
डा. गोविन्दशरण उपाध्याय ।
पतिपत्नीको सम्बन्धको व्याख्या अधिकारवादमा खोज्दा धेरैजसोको दाम्पत्य जीवन जोखिममा पर्छ | पतिपत्नीको सम्बन्धको गहिराईमा कुनै पनि वादको पहुँच हुँदैन | पतिपत्नीको आपसी विश्वास र सम्मानले दाम्पत्य जीवन्त र सुखद बन्छ | केवल अधिकारवादका आँखाले पतिपत्नीको आपसी सम्बन्ध परिभाषित गर्न खोज्नेहरूले दाम्पत्य जीवन गुमाउने सम्भावना हुन्छ |
पतिले पत्नीको र पत्नीले पतिको सम्मान र विश्वास गरेर अधिकारहरूको सुरक्षा गर्न सकिन्छ | मैले केही एस्ता अधिकारवादी पुरुष/महिला पतिपत्नी भेटेको छु जसले आफ्नो सुखद दाम्पत्य जीवन अधिकारवादको युटोपियामा वलिदान गरेर नाम, धन र पद प्राप्त गरेका छन् तर परिवार गुमाएका छन् | अरूका बीचमा देखिने रवाफ र बौद्धिकता एकल जीवनमा परिवर्तित भएर आँशु बनेको छ |
मान्छे सामाजिक, पारिवारिक तथा भावनात्मक रूपमा प्रेम, सम्मान, कहिलेकाहीं उपहास र जिस्क्याईमा रमाउने प्राणी हो | सामाजिक र सांस्कृतिक मान्यताले बनेको दाम्पत्य जीवनका क्रियाकलापलाई केवल अधिकारवादको ऐनामा हेर्दा दुर्घटना हुन सक्छ |