एउटा नेपालीलाई पनि चाडबाड़ सधैँ आइरहोस् भन्ने कहिले लाग्दो हो !
नारायण गाउँले ।
नेपाली ४५ रुपियाँमा नजोखीकनै रोजेर काउली किन्न पाइने, त्यो पनि लण्डनजस्तो औद्योगिक शहरमा !
३० रुपियाँ किलोमा धोएर प्याक गरेको आलु, ४५ रुपियाँमा धोएर प्याक गरेको गाजर र साठी रुपियाँ लिटरमा ग्यालेन सहितको ताजा दूध !
मुख्य चाडबाड़मा तरकारी र खाद्यसामग्रीको मूल्य आधाभन्दा सस्तो होस् भन्ने चाहना कसको नहोला ?
बेलायतमा क्रिश्मशको एक महिना यस्तै हुन्छ । कपड़ा या इलेक्ट्रोनिक्स पसलमा ‘सेल’को रातो साइन र ७०% सम्म छुट त यो अवधिभर सामान्य नै हो, तर दैनिक उपभोग्य खाद्य सामग्री पनि यतिबेला साह्रै सस्तो हुन्छ ।
हरेक वर्ग र आयको व्यक्तिले पनि चाड़पर्व शानसँग मनाउन सकोस् भन्ने उद्देश्यले ठूला कृषि फार्महरू सित सरकार र ठूला सुपरस्टोरले यो बेला सस्तोमा उत्पादन बजारसम्म ल्याउन सहकार्य गर्दा रहेछन् । पसलले पनि फलफूल र तरकारीमा ज्यादै न्यून मार्जिन राखेर बेच्ने गर्छन् । यो सिजनमा सस्तोमा बेच्नका लागि महिनौं पहिले नै ‘स्टक’देखि सप्लाइसम्मको व्यवस्था गरिएको हुन्छ ।
विश्वको जुन कुनै देशमा पनि चाडबाड़ भन्नेबित्तिकै नयाँ लुगा किन्ने, नयाँ सामान जोड्ने र मिठो खाना खाने भन्ने कुरो आइहाल्दो रहेछ । बेलायतमा पनि त्यही हुन्छ । धेरै मान्छेहरू किनमेल गर्न चाडबाड़ पर्खिन्छन् । अरू बेला किन्न नसकिने सामान यतिबेला सस्तो भएकाले किन्नेहरू थुप्रै हुन्छन् ।
यो सिजनमा धेरै बिक्री हुने हुनाले थोरै मार्जिन राखेर सस्तोमा दिए पनि व्यापारीलाई नाफा नै हुन्छ र उपभोक्तालाई पनि बचत हुन्छ । सोच्नुस् त, चाडबाड़ आउने बित्तिकै घ्यू, चिनी या तरकारीको मूल्य आधा घट्नुको साटो उल्टै दोब्बर बढ्यो र सरकार मूकदर्शक बनेर बस्यो भने के होला ? लाखौं उपभोक्ता निचोरिएर केही दर्जन व्यापारीमात्रै मोटाउने व्यवस्था पक्का पनि जनवादी या समाजवादी हुँदैन ।
दशैंतिहारमा खाद्यसामग्रीको मूल्य आधा सस्तो हुने हो भने त्यसैबाट बच्ने रकमले दानदक्षिणा पुग्थ्यो होला । चाडबाड़ले जीवनमा उमङ्ग र सहजता थप्थ्यो होला । अनि त योगेश्वरजीले यस्तो गीत किन गाउनुपर्थ्यो र ?
“दशैँ नै हो कि यो मेरो दशा, फर्कि आएको !”
जसरी एउटा बेलायतीलाई क्रिश्मश सधैँ आइरहोस् जस्तै लाग्छ, एउटा नेपालीलाई पनि चाडबाड़ सधैँ आइरहोस् भन्ने कहिले लाग्दो हो !
अन्त हुन सक्छ भने हाम्रोमा नहुने भनेको नगरेरै त हो नि !