म संविधान निर्माता पनि भएकाले संविधान विपरित भइरहेका गतिविधि सहन सक्दिनः वामदेव गौतम


काठमाडौं । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैरजिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको पदपूर्ति हुन नसकेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताए ।

पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने भन्दै उनले महिला रिक्त पदकै कारण प्रतिनिधिसभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताए । गौतमले संविधानको धारा ९२ मा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे ।

उनले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभएपनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताए । गौतमले आफू संविधानको निर्माता भएकोले संविधान विपरित भइरहेका गतिविधि सहन नसक्ने चेतावनी दिए ।

गौतमले करिव ४ महिना यता राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराए ।