अधोगतिमा ब्रेक नलगाउने हो भने मुलुक त्योभन्दा उँधो जान सक्छः केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिलेकै तरिकाले अधोगतिमा जाने हो भने श्रीलङ्का भन्दा पनि खराब स्थितिमा पुग्न सक्ने चेतावनी दिएका छन् ।

सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले बजेटमा सेटिङ, हतियार खरिद लगायतका प्रक्रिया जस्ता पछिल्ला घटनाक्रमको उदाहरण दिंदै यस्तै अवस्था रहे मुलुक श्रीलंकाको अवस्थामा पुग्ने चेतावनी दिएका हुन् । उनले अधोगतिमा ब्रेक नलगाउने हो भने नेपाल श्रीलंका भन्दा उधो खस्ने चेतावनी दिए ।

त्यसका लागि सतर्क हुन जरुरी रहेको उनले बताए । उनले भने,‘बजेट निर्माण वा अरू प्रकरणमा पृष्ठ भागबाट गरिएको समर्थन र दिइएको टेको त्यति सहज छैन । त्यसको प्रभाव भनेको हामी कम्तीमा पनि श्रीलङ्का सम्म पुग्ने नै लक्षण हो । त्योभन्दा अघि पनि जान सक्छौँ । यस अधोगतिमा ब्रेक नलगाउने हो भने त्योभन्दा उँधो पनि जान सक्छ । अहिले नै सतर्क हुनुपर्ने छ ।’

अध्यक्ष ओलीले बजेट निर्माणमा व्यापारी तथा अनधिकृत व्यक्तिलाई घुसपैठ गराइएको घटना निकै गम्भीर भएको बताए । उनले यो अर्थमन्त्रीको तहबाट मात्रै सम्भव नभएको भन्दै प्रधानमन्त्रीसम्मको सेटिङ हुन सक्ने बताए ।