एसपीपी चाहिँदैन भनेर अमेरिकालाई किन पत्र लेख्न सक्दैन सरकार ?


काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् ।

बिहीबार  प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा रावलले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन आवश्यक रहेको बताए ।

उनले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्नको लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताए ।

उनले सत्ता पक्षकै सांसदले पत्र नपठाएको कुरा संसदमा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जवाफ दिन आवश्यक रहेको बताए । उनले भने, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपी यो हिन्द प्रशान्त रणनीतिको अंग भएको हुनाले यसको सदस्य नेपाल हुन सक्दैन । यो कार्यक्रमलाई अघि बढाउन सकिँदैन भनेर स्वयं मन्त्रीहरु, पार्टीका नेताहरुले भनिरहेका छन् । तर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको यतिको दिन भइसक्यो, प्रधानमन्त्रीको तर्फबाट सदनमा गृहमन्त्रीले अघि नबढाउने भनेको यति दिन भइसक्यो, तर प्रधानमन्त्री शेरबहादुर देउवाजीले यत्तिका दिनसम्म के कारणले नेपाल अमेरिकी राज्य साझेदारी कार्यक्रमको सदस्य बन्दैन भन्ने पत्र किन नपठाउनु भएको ? यो विषय अत्यन्त गम्भीर छ ।’