दोहोरो अंकले बढ्यो नेप्से


काठमाडौं । लगातार दुई दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार बुधबार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ४१ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ६२ दशमलव ७१ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा व्यापार, जलविद्युत्, विकास बैंक, उत्पादन बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय २८ वटा कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ४३ करोड १४ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँच करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । आज आँधीखोला र सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले तथा वरुण हाइड्रोको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै दुई प्रतिशतले घटेको छ ।