‘ओलीजीको पालामा चिठी लेखिएको रहेछ, अहिले एसपीपी आयो र गयो भन्ने होइन’


काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको बताएका छन् ।

नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै एसपीपी ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हन् ।

उनले कूटनीतिक मर्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि जनाए । उनले एसपीपी राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने बताए ।

महामन्त्री थापाले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए । महामन्त्री शर्माले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए ।