भारतमा सैन्य भर्तीसम्बन्धी नयाँ योजनाविरुद्ध भएको प्रदर्शनले हिंसात्मक रूप लिएको छ । हिंसात्मक प्रदर्शनमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
दक्षिणी भारतको तेलङ्गाना राज्यको सिकन्दराबाद सहरमा शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ती व्यक्तिको मृत्यु भएको हो । प्रहरीले भिडमा गोली चलाएको बताइए पनि गोली लागेर ती व्यक्तिको मृत्यु भएको हो या होइन भन्ने पुष्टि भइसकेको छैन । सेनालाई निश्चित चार वर्षका निम्ति भर्ती गर्ने योजनाविरुद्ध थुप्रै राज्यमा ठूला प्रदर्शनहरू भएका छन् ।
आन्दोलनकारीहरूका अनुसार अस्थायी सैनिक भर्ती गर्ने सरकारको योजनाले सेनामा स्थायी जागिर पाउने सम्भावना घट्छ। त्यस्तै निश्चित तलब र सेवानिवृत्त भएपछि प्राप्त गर्ने पेन्सन पाउने सम्भावना पनि कम हुने उनीहरूको आशङ्का छ । भारतमा सेनाको जागिर प्रतिष्ठा र नियमित कमाइसँग जोडिने र गरिबीबाट बाहिर निस्किने उपाय समेत हुने भएकोले त्यहाँका साना सहर र गाउँका युवाहरूले सैनिक बन्नका निम्ति वर्षौँसम्म तयारी गर्छन् ।
बिहार, तेलङ्गाना, उत्तर प्रदेश र पश्चिम बङ्गालसहित धेरै राज्यमा उक्त योजनाको विरोध गर्दै धेरै मानिस आन्दोलित भएका छन्। बिहार र तेलङ्गानामा प्रदर्शनकारीहरूले सवारीसाधन र रेलका डिब्बाहरू जलाएका छन् ।
यद्यपि कतिपय ठाउँमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप पनि छ । नयाँ ’अग्निपथ’ योजना साढे १७ देखि २१ वर्षबीचका व्यक्तिहरू लक्षित छ। त्यसअन्तर्गत छानिएका युवकहरू चार वर्षका लागि सेनामा भर्ती हुनेछन् र त्यसपछि २५ प्रतिशतले मात्र सेवा जारी राख्न पाउनेछन्।

प्रतिक्रिया