युरोपेली अदालतको हस्तक्षेपपछि आश्रय खोज्नेहरूलाई रुवान्डा पठाउने उडान रद्द


ब्रिटेनबाट मङ्गलबार शरणार्थीहरूलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयको कानुनी लडाइँपछि रद्द गरिएको छ । उक्त उडानमार्फत् सात जनालाई ब्रिटेनबाट पूर्वी अफ्रिकी देशमा फिर्ता पठाइने अपेक्षा थियो । तर युरोपेली मानव अधिकार अदालतको हस्तक्षेपपछि उक्त उडान रोकिएको थियो ।

ब्रिटेनकी गृहमन्त्री प्रीति पटेलले उक्त निर्णयका कारण आफू निराश भएपनि विचलित नहुने भन्दै अब अर्को उडानको तयारी सुरु हुने बताइन् । उक्त रद्द गरिएको उडान ब्रिटेनको एउटा अदालतले त्यसलाई अघि बढाउन सकिन्छ भनेपछि र ब्रिटेनमा भएका श्रृङ्खलाबद्ध कानुनी लडाइँ असफल भएपछि तय भएको थियो । तर ब्रिटेनका अदालत र युरोपेली मानव अधिकार अदालतमा उक्त जहाजमा फर्कनुपर्ने व्यक्तिहरूले अपील गरेपछि पछिल्लो घटना भएको हो ।

उक्त विमानले ब्रिटिश समयअनुसार रातको साढे १० बजे विल्टशर सैन्य विमानस्थलबाट उडान गर्नुपर्ने थियो । तर स्ट्रासबर्गस्थित युरोपेली मानव अधिकार अदालत र लन्डनका अदालतहरूबाट त्यससँग सम्बन्धित कतिपय निर्णयहरू आएपछि सबै यात्रुलाई जहाजबाट ओरालिएको थियो ।