मलको समस्या समाधानका लािग आयल निगमजस्तै छुट्टै निकाय स्थापना आवश्यकः मन्त्री यादव


काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासायनिक मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थापना गरेर मात्रै मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने बताएका हुन् । त्यसैगरी उनले मल कारखानाको स्वदेशमै स्थापना गर्नुपर्ने, मलको खरिद जिटूजी प्रक्रियामा अघि बढाउन सकेमात्रै नेपालमा मलको समस्या समाधान गर्न सकिने स्पष्ट पारे ।

मन्त्री यादवले असार १५ गते भित्र किसानहरुका लागि मल उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए । भारत सरकारले ५ लाख मेट्रिक टन मल चालू आर्थिक वर्ष भित्रै उपलब्ध गराउने आश्वासन दिएकाले सो समस्या समाधान हुने उनको भनाई थियो । उनले भने, ‘मल उपलब्ध गराउने सवालमा असारको १५ गतेसम्म साल्ट ट्रेडिङबाट आउने मल आउँछ । टेन्डर भएका मल पनि आउँछ । १५ गतेसम्म यो मलहरु उपलब्ध हुन्छ डिएपी र युरिया । मोटामोटी अहिलेसम्म हामीसँग भएको भनेको ५२ हजार मेट्रिक टन ल्याउने प्रक्रियामा छ।’

मन्त्री यादवले मल कारखाना स्थापनाका लागि लगानी बोर्डमा सम्भाव्यता अध्ययन भइरहेको उल्लेख गर्दै छिट्टै त्यो प्रक्रिया अघि बढने आश्वासन समेत दिए । उनले कृषि मन्त्रालयले त्यसका लागि उद्योग मन्त्रालय र लगानी बोर्डलाई दवाव दिइरहेको बताए ।

उनले भने, ‘मलको सवाल र मल कारखानाको सवाल महत्वपूर्ण विषय हो । मल कारखाना आम किसानहरुको र माननीयजीहरुको पनि जिज्ञासाको विषय भएको हुनाले मल कारखानाको लागि बजेट छुट्टयाइएको छ । र, यो उद्योग मन्त्रालयसँग सम्बन्धित विषय पनि हो । कृषि मन्त्रालयले मलको निम्ति कारखाना स्थापना हुनुपर्ने प्रयास जारी छ । उद्योग मन्त्रालयबाट यसको समग्र प्रक्रिया अघि बढेको छ । लगानी बोर्डबाट मल कारखाना स्थापनाको काम अगाडि बढछ । चाँडै टुंगो लगाउने प्रतिवद्धता लगानी बोर्डले दिएको छ ।’