काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।
सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् । उनले भ्रमणमा देशलाई उचित हुने भन्दाबाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने बताए ।
अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए । उनले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे ।
उनले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल गर्दा परराष्ट्रमन्त्री समितिको बैंठकमा आउनुपर्ने हो । किन आउनुभएन । उहाँले वर्तमान सरकारको परराष्ट्र नीति, कार्यान्वयनका सन्र्दभमा धारणा सुन्नुपर्ने थियो । समितिका धेरै कुराहरु उठेका छन् । त्यसले आंशकित बनाएको छ । विदेशी सेना नेपालमा छन् । मैले भर्खरै पहिलो चोटी सुनेँ । त्यो हो भने गम्भीर कुरा हो । कहाँ छन् । कुन कुन देशका छन् । कुन क्याम्पमा राखिएको छ । त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ । सरकारको ध्यानाकर्षण गराउनुपर्छ ।’ अध्यक्ष नेपालले सरकारले लिने वैदेशिक ऋणका प्रावधानहरुमा धेरै त्रुटीहरु रहेको भन्दै परिर्वतन गर्नुपर्ने बताए ।

प्रतिक्रिया